शीर्षकहरू

बाढीले ट्राउटसँगै सर्वस्व बगायो, जागिर त्यागेर किसान बनेका दिपकले छाडेनन् व्यवसाय

बाढीले ट्राउटसँगै सर्वस्व बगायो, जागिर त्यागेर किसान बनेका दिपकले छाडेनन् व्यवसाय

जागिर खाने कि कृषि कर्ममा लाग्ने ? यदि यो प्रश्न आजका नेपाली युवालाई कसैले सोध्यो भने लगभग पक्का छ ९९.९ प्रतिशतले जागिर रोज्छन् । अझ काठमाडौं मै कुनै एक आकर्षक कम्पनीको ब्रान्च म्यानेजरको काम छोडेर कोही आफूलाई पूर्णकालीन कृषक घोषणा गर्न तयार बन्ला भन्ने त कल्पना नै नगरे पनि हुन्छ ।

हो, त्यस्तै एक अपवाद हुन्, दिपक कुमार लामिछाने । जसले बीमा कम्पनीको आकर्षक जागिर छोडेर माछा पालन व्यवसायमा आफूलाई होमेका छन् ।  कृषिमा असफलताका कथा नसुनेका होइनन् उनले । तर पनि उनकाे मन गाह्रो काममै बस्यो । चुनौती सामना गर्ने अठोट गरेर २०७८ सालको वैशाखमा जागिर छोडे । जुनबेला उनी एशियन लाइफ इन्स्योरेन्सको चाबहिल शाखाको ब्राञ्च म्यानेजर थिए ।

व्यवसायी बन्ने हुटहुटी

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. ४ का स्थायी बासिन्दा हुन्,  दिपक । उनी विगत बाह्र वर्षदेखि माछा पालन व्यवसायमा जोडिएका छन् । वि.सं २०६८ सालदेखि उनले सोही ठाउँमा रेन्बो ट्राउट माछा पालन गर्दै आएका छन् ।   

उनले २०६१ सालदेखि ०६४ सालसम्म सिन्धुपाल्चोकको जिल्ला विकास समितिमा कर्मचारीको रूपमा काम गरे । तीन वर्ष काम गरेपछि उनले त्यो जागिर छोडेर गाउँमै कपडाको व्यापार गरे । तर, उनी न जागिरमा रमाए न त व्यापारमा नै । उनलाई त व्यवसायी बन्नु थियो । त्यसैको खोजीमा लागिरहे । दिपक भन्छन्, ‘जागिर खाइरहँदा र व्यापार गरिरहँदा पनि आफूले नै केही व्यवसाय गर्नु पर्छ भन्ने हुटहुटि भइरहन्थ्यो ।’ 

गाउँको आर्थिक जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले सहकारी संस्था गठन गर्ने सोच बनाए । गाउँमा केही युवाहरू मिलेर गाउँमा कृषि सहकारी संस्था खोले । ‘सहकारीको माध्यमबाट गाउँमा केही काम गर्नु सकिन्छ भनेर कृषि सहकारी संस्था गठन गर्ने सोच बनाइयो । त्यही अनुसार साथीहरू मिलेर सहकारी संस्था खोल्यौँ’, उनले भने ।

लामिछानेलाई केही त्यस्तो काम गरौँ जसले पुरै गाउँ नै लाभान्वित होस् भन्ने लाग्यो । त्यसैले गाउँ मै सहकारी खोलेर त्यसैको माध्यमबाट गाउँमा ट्राउट माछा पालन शुरु गर्ने योजना बनाए । सहकारी पनि खुल्यो तर, सबै सदस्यहरू माछा पालन सहमत भएनन् । त्यसपछि ६ जना साथीहरू मात्रै मिलेर जनही ६/६ लाखको व्यक्तिगत लगानीमा रेन्बो ट्राउट माछा पालन शुरु गरे । त्यसबेला उनीहरूले हेलम्बु गाउँपालिका वडा नं. ४ ग्याल्थुम भन्ने ठाउँमा माछा पालन शुरु गरेका थिए ।   

‘संस्थाले लगानी गरेर माछा पालन शुरु गर्ने योजना बनाएका थियौँ । सबै जनाको कुरा मिलेन अनि हामी छ जनाले व्यक्तिगत लगानी गरेर माछा पालन शुरु गरेका थियौँ’, उनले भने ।  त्यो छ जनाको समूह पनि अहिले घट्दै दुई जनामा सीमित छ । ‘किन त्यस्तो ?, ’जवाफमा दिपक भन्छन्, ‘कृषिमा रमाउन सक्नुपर्छ । सपना देख्न र त्यो हासिल गर्ने अठोटमा निरन्तर अडिग रहन धेरैलाई गाह्रो पर्छ ।’ 

जागिर छाडेर कृषक 

कृषि पेशा छोडेर जागिरे जीवन रोजेका प्रशस्त उदाहरणहरू  छन् । जुन सबैलाई सामान्य लाग्छ । तर, जागिरे जीवन छोडेर कृषिकर्म रोजेका कमै भेटिन्छन् । माथि नै उल्लेख गरिसकियो, ‘त्यही मध्येका एक हुन्, लामिछाने’।

शुरुमा माछा पालनसँगै जागिरलाई पनि डोहोर्याए उनले । उनी एक बीमा कम्पनीमा काम गर्थे । मेलम्चीको एक बीमा कम्पनीमा तीन वर्ष काम गरेपछि काठमाडौंमा काम गर्न थाले । एक दशकसम्म जागिर र माछा पालनको जिम्मेवारी सँगसँगै निभाए । तर, पूर्णरुपमा यही व्यवसायमा लाग्छु भनेर उनले जागिर छोडे ।  

लामिछाने भन्छन्, ‘म बीमा कम्पनीको राम्रो पदमा काम गरिरहेको थिएँ । कामसँगै व्यवसाय पनि अगाडी बढाइरहेको थिएँ । एक दशकसम्म जागिर र व्यवसायसँगै गरेँ। तर, व्यवसायले तान्यो । यसैमा केही गर्नु पर्छ भन्ने लाग्यो र जागिर छोडेर कृषक हुने दु:ख रोजेँ ।’

शुरु मै लाग्यो ठूलो ठेस

जागिर छाडेर किसान बन्ने उनको उत्साह तीन महिना पनि टिकेन । उनले वि. सं २०७८ सालको वैशाखमा जागिर छोडे । असारमा आएको बाढीले माछा पालेको फार्म नै बगाइदियो । 

दश वर्ष अघि २०६८ सालमा शुरु गरेको माछा पालनबाट राम्रै आम्दानी भइरहेको थियो । त्यो सबै उनले व्यवसाय विस्तारमा नै खर्च गर्दै आएका थिए । २०७८ सालमा आएको बाढीले उनको फार्म पुरै बगाइदियो । मेलम्चीमा आएको भीषण बाढीका कारण उनको फार्ममा डेढ करोडभन्दा बढीको क्षति भयो ।

‘बाढीमा लगानी सबै डुब्यो । चार जना साथीहरू पनि बाहिरिनु भयो । हामी दुई जना मात्रै बाँकी रहेका थियौँ । त्यो बेला हामी शून्यमा झरेका थियौँ’, उनले त्यसबेला आफूमाथि परेको बज्रपात सुनाउँदै भने ।

करोडौँको लगानी बाढीले बगाएपछि उनी फेरि शुरु कै अवस्थामा पुगे । बज्रपात कस्तो पर्‍यो भने भएको जागिर पनि छाडेका थिए । व्यवसाय पुरै शून्यमा झर्‍यो । अरु त अरू उनको बस्ने बास समेत रहेन ।

व्यवसायको लगानी सबै डुब्यो । तर, उनले हिम्मत भने हारेनन् । पुनः यही व्यवसायमा लाग्न कस्सिए । ‘जागिर छोडेँ, लगानी गरेको व्यवसाय बग्यो, बस्ने घरजग्गा सबै सकियो । म कति पनि विचलित भइन । यसमै लाग्छु भनेर फेरी माछा पालन नै शुरु गरेँ’, उनले भने । 

क्षतिको केही दिनमै उनले नयाँ ठाउँमा माछा पालन शुरु गरे । अन्य तीन जनासँग मिलेर उनले वडा नं. ४ को अर्को ठाउँमा माछा पालन शुरु गरेको बताउँछन् । पुनः व्यवसाय शुरु गर्न उनले आफन्तहरुसंग ऋण खोजेका थिए । 

उनले १५ वर्षको लागि जग्गा लिजमा लिएर माछा पालन शुरु  गरेका छन् । अहिले ३५ वटा पोखरीमा माछा पालनका गरिरहेका छन् । उनले यस फार्ममा ९ जनालाई रोजगारी दिएका छन् ।

आफै गर्छन् चारो उत्पादन

दिपकले पालन गरेका माछाको लागि आहारा ‘चारो’ पनि आफै उत्पादन गर्ने गरेका छन् । यो जातको माछाको लागि उच्च प्रोटिन भएको चारो आवश्यक पर्छ । त्यसलाई आवश्यक पर्ने कच्चा पदार्थ खरिद गरेर उनले चारो बनाउने गरेका छन् । हेलम्बुमा मेसिन राखेर उनले आफै उत्पादन गर्ने गरेको उनी बताउँछन् ।

‘यसको मुख्य आहारा झिँगे माछा, भटमास, पिठो लगायत चाहिन्छ । त्यसलाई मिसाएर मेसिनबाट दानाको रूपमा उत्पादन गरिरहेका छौँ’, उनले भने । 

यो माछा पालन गर्न लागत बढी पर्ने भएकोले यसको मूल्य पनि अन्य माछाहरूको तुलनामा महँगो पर्ने उनले बताए । लामिछानेले भने,  ‘यो माछा पाल्न खर्च धेरै लाग्छ । त्यसले गर्दा यसको मूल्य प्रतिकेजी १५ सय रुपैयाँ पर्छ ।’ 

उत्पादनमा सम्भावना, बजारीकरणमा समस्या 

रेन्बो ट्राउट माछा उत्पादन गर्न नेपालमा थुप्रै सम्भावना छन् । यो माछा चिसो पानीमा हुने प्रजातिको माछा हो । यस्ता माछा पालन गर्नेखालका खोलाहरू नेपालमा थुप्रै छन् । 

उत्पादनको प्रशस्त सम्भावना भए पनि बजारीकरणमा समस्या रहेको उनले सुनाए । लामिछाने भन्छन्,  ‘यो माछा पालन गर्नलाई हाम्रोमा सम्भावना राम्रो छ । उत्पादन बढ्दो छ । तर, बजारीकरणको समस्या छ । माछा खाने बानीको विकास गाउँतिर त्यति धेरै नरहेकाले बजार खोज्न काठमाडौं धाउनु पर्ने बाध्यता छ।’

उनले उत्पादन गरेका माछाको बजार पनि काठमाडौं उपत्यका नै हो । उनले उपत्यकाका विभिन्न होटल, रेष्टुरेन्टहरुमा माछा पुर्‍याउँछन्। घरमै लैजान चाहानेहरुका लागि समेत काठमाडौं उपत्यकामा होम डेलिभरिको व्यवस्था गरिएको उनले जानकारी दिए ।   

उत्पादन बढाउँदै लगेका उनले बजार भने गुणात्मक नभएको गुनासो गरे । नेपालमा उत्पादन भएका ट्राउट माछा निर्यात समेत गर्न सकिने उनले सुनाए । सरकारले बजारीकरणमा सहयोग गर्ने हो भने यो क्षेत्रमा लागेका व्यवसायीहरूलाई सहज हुने उनको विश्वास छ । 

नेपाल सरकारले पहल गर्ने हो भने नेपाली माछा विश्व बजारमा पुर्‍याउन सकिने सम्भावना रहेको उनी देख्छन् । ‘नेपालबाट विश्व बजारमा ट्राउट माछा निर्यात गर्न सक्ने हो भने अर्बौँ डलर माछाबाट मात्रै भित्रिन्छ । धेरै युवालाई देशमै राख्न सकिन्छ । यसका लागि सरकारले चासो देखाउनु पर्छ’, उनले भने । 

व्यवसाय विस्तारको योजना   

लामिछानेले ह्याचरी उद्योग पनि खोल्ने तयारी गरिरहेका छन् । उनले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा फार्म निर्माणको काम भइरहेको जानकारी दिए । त्यहाँ उनले ह्याचरीसँगै माछाका भुरा उत्पादन गर्ने तयारी थालेका हुन् ।

लामिछाने भन्छन्,  ‘नुवाकोटमा हामीले फार्म निर्माणको काम गरिरहेका छौँ । हालसम्म ५० लाख लागत लागिसकेको छ । काम अन्तिम चरणमा पुगेको छ । एक महिनाभित्र त्यहाँ नयाँ फार्म सञ्चालन गर्ने तयारीमा छौँ ।’

नुवाकोटमा खोल्न लागिएको फार्मको लगानी उनले हेलम्बुमा माछा पालनबाट गरेको आम्दानी नै हो । ‘जति कमाएका छौँ त्यति नै यो व्यवसाय विस्तारमा खर्च गरिरहेका छौँ’, उनले सुनाए । 

गत वर्ष राष्ट्रपतिबाट उनले उत्कृष्ठ कृषकको पुरस्कार समेत पाएका थिए । त्यसबाहेक गत आर्थिक वर्षमा उनले स्थानीय  तहबाट एक लाख रुपैयाँ नगद पुरस्कार समेत पाएका थिए । गत आर्थिक वर्षमा बागमती सरकारबाट पनि उनले तीन लाख रुपैयाँ प्रोत्साहन स्वरूप प्राप्त गरेका थिए । यस व्यवसायलाई थप विस्तारका लागि बागमती सरकारसँग सहुलियत ऋण माग गर्दै प्रस्ताव समेत पेश गरेकाे उनले बताए ।