काठमाडौं । ७ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० शुरु भएको छ । महिला उद्यमी महासंघको आयोजनामा उक्त व्यापार मेला आयोजना गरिएको हो ।
मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले प्रचण्डले विगतको तुलनामा महिलाहरूको अवस्था क्रमशः सुधार हुँदै गएको बताए । उनले भने, ‘विगतको तुलनामा महिलाहरूको अवस्था सुधार हुँदै गएको छ । तर, महिला सशक्तीकरणको लागि अझै धेरै काम गर्न बाँकी छ । यसका सरकारले मात्रै गरेर हुँदैन । यसमा सबैले हातेमालो गर्नु पर्छ ।’
महासंघकी अध्यक्ष शोभा ज्ञवालीका अनुसार यही चैत्र १६ गतेदेखि २० गतेसम्म हेरिटेज गार्डेन सानेपामा मेला हुनेछ । उक्त मेलामा ५० हजार अवलोनकर्ताहरु आउने र पाँच करोडको कारोबार हुने अनुमान गरिएको छ ।
मेलामा विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने सफल महिला उद्यमीलाई उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउने उद्देश्य यस मेलाको रहेको आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेलाले उद्यमी महिलाहरूको सिपलाई अगाडी ल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाउन सघाउ पुर्याउने अध्यक्ष ज्ञवालीले बताइन् । उनले भनिन्, ‘स्थानीय तहदेखिका केन्द्रसम्मका महिला उद्यमीहरूको व्यवसाय प्रवर्द्धन गर्नका लागि यो मेला आयोजना गरिएको हो । यो मेलाले महिलाको आर्थिक सबलीकरणमा टेवा दिनेछ । नेपालभरका साना, ठुला सबै प्रकारका उद्यमीहरू मेलामा सहभागी हुनेछन् ।’
महासंघकी प्रथम उपाध्यक्ष दर्शना श्रेष्ठका अनुसार मेलामा जम्मा ११२ वटा स्टलहरू रहेका छन् । मेलामा स्वदेशका महिला उद्यमी लगायत भारत, पाकिस्तान, बङ्गलादेश लगायतको मुलुकका महिला उद्यमीहरूका उत्कृष्ट उत्पादनहरू पनि किन्ने र अवलोकन गर्ने अवसर प्राप्त हुनेछ । यस अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला अन्तर्राष्ट्रिय मुलुकका महिला उद्यमीहरूको सहभागिता रहेको छ ।