काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना शाखा अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ । काठमाडौंको उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत (रा.प. तृतीय श्रेणी/करार) याम कुमार कार्कीविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार वाग्मती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय, बौद्ध तथा अतिरिक्त जिम्मेवारीको रुपमा कागेश्वरी मनोहरा, गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौं नयाँ सहरी विकास आयोजना, माकलवारीमा उनी खटिएका थिए । सो समयमा कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको पाइएको अख्तियारको भनाई छ ।
कार्की २०५८ साल साउन ६ गते सार्वजनिक सेवा प्रवेश गरेका थिए । सो समयदेखि २०७९ साल चैत्र ३० गतेसम्मको समयलाई जाँच अवधि कायम गरी आयव्ययको विश्लेषण गर्दा आयतर्फ कुल आम्दानी ३ करोड ७७ लाख १३ हजार ६४६ रुपैयाँ रहेको पाइएको छ । व्ययतर्फ घर तथा जग्गा खरिदमा भएको खर्च, सन्तति अध्ययन खर्च, बैंक ऋण लगायत हेर्दा ६ करोड ९८ लाख ४६ हजार ६०३ रुपैयाँ रहेको देखिएको छ । आय व्यय हेर्दा तीन करोड एक्काइस लाख बत्तीस हजार नौ सय छपन्न रूपैयाँ पचहत्तर पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत नखुलेको अख्तियारको दाबी छ ।
उनीसँग सोही रकम बराबरको बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । साथै उनले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट छोरी गृष्मा कार्कीको नाममा जग्गा खरिद गरेको देखिएको छ । सो जग्गा र उनकी पत्नी देवका अधिकारीको नाममा समेत राखेको सम्पत्ति जफत गर्नु पर्ने आरोप पत्रमा अख्तियारले उल्लेख गरेको छ ।