शीर्षकहरू

उदाहरणीय यी सहकारी: जो सामाजिक सुरक्षा भत्ता समेत दिन्छन्

उदाहरणीय यी सहकारी: जो सामाजिक सुरक्षा भत्ता समेत दिन्छन्

काठमाडौं । ‘मकै पोलेर बचत गरेको पैसा सहकारीले खाइदियो’, ‘गिटी कुट्नेलाई रुवायो सहकारीले’, ‘विदेशमा पसिना बगाएको पैसा लिएर सहकारी सञ्चालक फरार’, ‘सहकारीले वृद्ध भत्ता समेत खाइदियो’ । 

उल्लेखित समाचार शीर्षकहरू पछिल्ला दिनमा आम बनेका छन् । सहकारीको पैसा हिनामिना गरेको आरोप लागेका व्यक्ति सरकारमा छन् । राज्यले बचतकर्ताको अर्बौँ हिनामिना गर्नेहरूलाई संरक्षण गरिरहेको छ । त्यसैले सहकारी बदनाम छन् । सरकार खराब सहकारीहरूको मतियार झैँ बनेको छ ।

तर, काठमाडौंको पूर्वउत्तरमा रहेको दोलखा जिल्लामा भने केही त्यस्ता सहकारी छन् । जसले सहकारीको मर्मलाई मात्र जोगाएका छैनन, आम बचतकर्ता तथा शेयर सदस्यहरूमा सहकारीप्रतिको विश्वास थप दर्बिलो बनाइरहेका छन् । 

सहरी क्षेत्रका साहकारीले सदस्य तथा बचतकर्तालाई दुख दिए पनि पहाडी जिल्लामा सञ्चालित धेरै सहकारीहरूले भने हालसम्म सहकारीको साख गिर्न दिएका छैनन् । दोलखा जिल्लामा सञ्चालित त्यस्तै सहकारीहरूले त स्थानीय समुदायको जीवनस्तर उकास्न उल्लेखनीय भूमिका नै खेलेको पाइन्छ ।

मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जनसचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था र हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था केही प्रतिनिधि सहकारीहरू हुन् जसले सहकारीको मर्मलाई वास्तवमा नै न्याय गरेका छन् ।

घरजग्गा कारोबार, अनावश्यक ठाउँमा लगानी र सञ्चालकको मनोमानी सहकारीका लागि घातक हुन् भन्ने बुझेका यी सहकारीहरूले सामाजिक सेवा गर्न भ्याएका छन् । वृद्ध सदस्यहरूलाई सामाजिक सुरक्षा भत्तादेखि बलियो टेक्ने लौरो समेत उपलब्ध गराएका छन् ।  

तीर्थ यात्रा, अध्ययन भ्रमण, खेलकुद, छात्रवृत्तिदेखि पर्यावरणीय सरसफाइका लागि फोहोर दानी समेत वितरण गर्दै आएका यी सहकारीहरू सहकारी शब्दमा लाग्दै गएको कालो दाग मेटाउने उदाहरणीय दिपज्योती बनिरहेका छन् ।  नेपाली सहकारीको आकाशमा फैलिएको कालो बादल चिर्न यिनीहरू चम्किला ताराकारुपमा स्थापित छन् ।  

यसरी चर्चा गर्न योग्य यी सहकारीहरू हुन्: 

मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड

चरिकोटमा रहेको मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड दोलखा जिल्लाकै उत्कृष्ट सहकारीकारुपमा कहलिएको छ । २०५० साल मङ्सिर २ गते जिल्ला सहकारी कार्यालय धुलिखेलमा दर्ता भएको यस सहकारीले दोलखा कार्यक्षेत्र बनाएर काम गरिरहेको छ । यस संस्थाको हाल काठमाडौं, सिन्धुपाल्चोक जिल्लामा समेत गरी ११ वटा सेवा केन्द्रहरु सञ्चालनमा छन् ।

गत आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्मको तथ्यांक अनुसार यो सहकारीमा २५ हजार ६५ जना शेयर सदस्य रहेको देखिन्छ । बाल बचतकर्ता ९ हजार २६९ जना पुगेका छन् । शेयर सदस्य र बाल बचतकर्ताको खुद सङ्ख्या ३४ हजार ३३४ जना छ ।

गत आवसम्म संस्थाको शेयर पुँजी ७ करोड ९२ लाख ५२ हजार ६ सय रुपैयाँ रहेको छ । यस सहकारीले व्यवसाय कर्जादेखि घर निर्माण, खरिद कर्जा, स्वास्थ्य उपचार कर्जा, शैक्षिक, कृषि, वैदेशिक रोजगारी, घर खर्च, लघु र बचत जमानी कर्जा दिँदै आएको छ । संस्थाको जगेडा कोषमा ८ करोड ९६ लाख ५८ हजार ८७६ र अन्य कोषमा ३ करोड ६४ लाख ९६ हजार ५४१ रुपैयाँ रहेको छ ।

संस्थाले राहत कोष समेत खडा गरेको छ । जसबाट शेयर सदस्यको परिवारका सदस्यको मृत्यु भएमा राहत दिने व्यवस्था गरिएको छ । यससँगै संस्थाले सदस्य सम्मान तथा पुरस्कार, अध्ययन अवलोकन भ्रमण समेत गराउँदै आएको छ ।

डिजिटल सेवा अन्तर्गत यस संस्थाले एटिएम, मोबाइल बैंकिङसम्मको सेवा उपलब्ध गराएको छ । अनलाइनबाटै बचत गर्न र किस्ता तिर्न सक्ने व्यवस्था गरिएको छ । यसका साथै संस्थाले मोबाइल रिचार्ज, इन्टरनेट शुल्क, बिजुलीको बिलदेखि रेमिट्यान्स, बीमाको रकम समेत तिर्न सकिने सुविधा उपलब्ध गराएको छ । 

मिलीजुली सहकारीका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेका अनुसार जेष्ठ शेयर सदस्य भत्ता समेत यस सहकारीले दिँदै आएको छ । सदस्य बनेको १० वर्ष पुरा भएका र उमेर ७० वर्ष पुरा भएका सदस्यहरूलाई यस सहकारीले वार्षिकरुपमा २४ हजार रुपैयाँ भत्ता दिँदै आएको छ । सुत्केरी सदस्यहरूलाई एक हजार रुपैयाँ सुत्केरी भत्ता समेत दिने गरेको संस्थाले जनाएको छ ।

चरिकोट बजारमा संस्थाले आफ्नै भवन निर्माण समेत गरेको छ । उक्त भवनमा पुस्तकालयको छुट्टै व्यवस्था गरिएको छ । यसका साथै सदस्यहरूले उत्पादन गरेका वस्तुहरू प्रदर्शनीका लागि समेत व्यवस्था गरिएको छ । 

जनसचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड

२०५० साल मंसिर १ गतेदेखि सुरु भएको संस्था हो, जनसचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड । जसको मुख्य कार्यालय दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ५, काब्रेमा रहेको छ । हनुमन्ते मावीका तत्कालीन प्रधानाध्यापक यज्ञराज ढुंगेलको अगुवाइमा शिक्षक, कर्मचारी, कृषक, व्यापारी लगायत ३४ जना मिलेर यो संस्था स्थापना गरेका हुन्।

संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईका अनुसार स्थानीय जनताहरूको आर्थिक तथा सामाजिक स्तरको अभिवृद्धि गर्न स्थापना गरिएको यो संस्थाले हाल १६ वटा सेवा केन्द्रबाट सेवा दिइरहेको छ । यो सहकारीले प्रविधिमा आधारित सेवालाई प्राथमिकतामा राख्दै आएको छ । आधुनिक बैंकिङ सफ्टवेयर, मोबाइल बैंकिङ, एएमएल रिपोर्टिङ सफ्टवेयरलेदेखि ऋण लगानी सफ्टवेयरको समेत व्यवस्था गरेको छ ।  

यस सहकारीले तरलता व्यवस्थापन गर्ने काममा बढी जोड दिएको संस्थाका अध्यक्ष चौलागाई बताउँछन् । उनी भन्छन्, ‘तरलता व्यवस्थापनसँगै हामीले दीर्घकालीन बचतमा जोड गरेका छौँ । हाम्रो सहकारी डुब्छ की भन्ने चिन्ता छैन । तर, बजारमा चलेका हल्लाका कारण हामी केही संयमित भने भएका छौँ । पर्याप्त तरलता व्यवस्थापन गरेका छौँ । गलत ठाउँमा लगानी गरेका छैनौँ । सदस्यहरूको बचत सुरक्षित राखेका छौँ ।’  

उनका अनुसार यस संस्थाले सदस्यहरूबाट नियमितरुपमा कम्तीमा दुई सय रुपैयाँ बचत संकलन गर्ने गरेको छ । २०८० असार मसान्तसम्म संस्थाको कुल सदस्य सङ्ख्या ३७ हजार ९४३ जना पुगेका छन् । जसमध्ये शेयर सदस्य २७ हजार ६०८ जना,  बाल बचतकर्ता १० हजार ३३५ र ६४ संस्थागत सदस्य रहेका छन् ।  

यस सहकारीले २० प्रकारको बचत योजना सञ्चालन गरिरहेको छ भने १४ शीर्षकमा ऋण लगानी गर्ने गरेको छ । यस सहकारीले मोबाइल बैंकिङ, सदस्य सुरक्षा कोष सेवा, मनी ट्रान्सफर, सदस्यहरूलाई शिक्षा तथा तालिम, विद्यार्थीलाई छात्रवृत्ति, सामाजिक संस्कार खर्च, सम्मान तथा पुरस्कार, सदस्य भ्रमण, उपचारमा आर्थिक सहयोग गर्ने गरेको छ । यस सहकारीले खेलकुदका सामग्रीदेखि फोहोर व्यवस्थापनका लागि डस्टिवन वितरण, वृक्षारोपण समेत गर्ने गरेको छ ।

संस्थाको चुक्ता शेयर पुँजी २०७९ आषाढ मसान्तसम्ममा १६ करोड २९ लाख १४ हजार ८ सय रुपैयाँ रहेकोमा २०८० आषाढ मसान्तसम्ममा १६ करोड ६७ लाख २४ हजार ९ सय रुपैयाँ पुगेको छ । शेयर पुँजीमा गत वर्षको तुलनामा २.३४ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, संस्थागत पुँजीमा गणना गर्न मिल्ने कोषहरूको कुल रकम १७ करोड ८१ लाख ११ हजार ५७६ रुपैयाँ रहेको छ । सदस्यहरूले जम्मा गरेको कुल बचत निक्षेप २०८० आषाढ मसान्तसम्ममा १ अर्ब ६३ करोड ०९ लाख ५३ हजार ५४१ रुपैयाँ रहेको छ । संस्थाले विभिन्न २० प्रकारका बचत योजनाहरू निर्माण गरी सदस्यहरूको चाहना, क्षमता र आवश्यकता अनुसार बचत गर्ने व्यवस्था मिलाएको छ ।

नमुना सहकारीकारुपमा विकास भइरहेको यो सहकारी विभिन्न क्षेत्रबाट पुरस्कृत समेत भएको छ । एसियाली ऋण महासङ्घबाट एक्सेस ब्रान्डको प्रमाणीकरण पाएको यो सहकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबद्धबाट २ लाख नगद सहित सम्मानित भएको थियो ।

त्यस्तै, यो सहकारी बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बाट उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रूपमा पुरस्कृत समेत भइसकेको छ । यसका साथै २०६४ सालमा राष्ट्रिय सहकारी संघबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, २०६३ सालमा डिभिजन सहकारी कार्यालय दोलखाबाट पुरस्कृत र आन्तरिक राजश्व कार्यालय, भक्तपुरबाट २०७१ सालमा उच्च कर सहभागिता बापत यो सहकारी सम्मानित भएको थियो । 

सो सहकारीले वृद्धहरूका लागि सामाजिक सुरक्षाका कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ । वृद्ध अवस्थामा सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले ७५ वर्षभन्दा माथिका वृद्ध सदस्यहरूलाई जनचेतना आजीवन सहारा कार्यक्रम ल्याएको छ । जसमा मासिक ५ सय रुपैयाँका दरले त्रैमासिकरुपमा भत्ता उपलब्ध गराउँदै आएको छ । त्यसबाहेक, यस सहकारीले ज्येष्ठ सदस्यहरूलाई तीर्थ अवलोकन भ्रमणमा समेत लैजाने गरेको छ । ज्येष्ठ सदस्यहरूलाई हिँड्ने सहाराका रूपमा स्टिलको लौरो समेत वितरण गर्ने गरेको छ ।

यो सहकारीले सदस्य सर्वेक्षणको पनि काम गरिरहेको छ । अध्यक्ष चौलागाईले भने, ‘हामीले अहिले हाम्रा सदस्यहरूले सहकारी कसरी बुझिरहेका छन् भन्ने सर्वेक्षण पनि गरिरहेका छौँ । यसबाट आएको नतिजा अनुसार नै हामी सुधार गर्दै अगाडी बढ्ने योजनामा छौँ ।’ 

एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था

दोलखाको जिरी नगरपालिका वडा नं. ५ मा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था २०४८ सालमा स्थापना भएको हो । यस सहकारीले दोलखा, रामेछाप, सिन्धुपाल्चोक र काठमाडौं जिल्लालाई कार्यक्षेत्र बनाइ सेवा दिइरहेको छ । सहकारीहरूबिच एकीकरण अभियानमा अग्रणी भूमिका समेत यो सहकारीले खेल्दै आएको छ । यस सहकारीले हालसम्म १६ वटा सहकारीसँग एकीकरण गरिसकेको छ । 

एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भूमिराज खड्काका अनुसार यस सहकारीले १६ प्रकारको बचतका सेवाहरू दिँदै आएको छ भने १८ शीर्षकमा ऋण लगानी गरेको छ ।

संस्थाले आफ्ना सदस्यहरूलाई रेमिट्यान्स सेवा, मोबाइल बैंकिङ, क्युआर सेवा समेत उपलब्ध गराएको छ । यसबाहेक सदस्य राहत कोष समेत खडा गरेको छ । यो सहकारीले ७० वर्ष पुगेका वृद्ध सदस्यहरूलाई वार्षिक ६ सय रुपैयाँ वृद्ध भत्ता समेत दिने गरेको छ । सुत्केरी भएका सदस्यलाई दुई हजार रुपैयाँ, बच्चाको निःशुल्क खाता सञ्चालन गर्ने र उत्कृष्ट अंक ल्याउने बाल बचतकर्तालाई सम्मान समेत गर्ने गरेको छ ।

यस सहकारीले बीमा कार्यक्रम समेत सञ्चालन गर्ने गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स र सूर्य ज्योति लाइफ इन्स्योरेन्सको सहकार्यमा म्यादी जीवन बीमा, असक्त बीमा र सदस्यहरूले लिने ऋणको समेत बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । यसले सहकारीका ६४ वर्ष मुनिका सदस्यलाई बीमा कार्यक्रममा सहभागी गराउँदै आएको छ । यसबाहेक सदस्य प्रोत्साहन कार्यक्रम समेत यस सहकारीले सञ्चालन गरिरहेको छ ।

यस सहकारीका सदस्यहरू बिरामी परेमा एक महिनासम्मको लागि बिना ब्याज तत्काल २५ हजार रुपैयाँ नगद दिने गरेको छ । यसले असल ऋणीहरूलाई सम्मान समेत गर्ने गरेको छ । यस संस्थाले बिरामीलाई फलफूल वितरणदेखि फोहोर व्यवस्थापनको लागि डस्टविन समेत वितरण गर्ने गरेको छ ।

२०७९/८० को असार मसान्तसम्मको तथ्यांक हेर्ने हो भने यो सहकारीको शेयर पुँजी  १० करोड ६७ लाख ५७ हजार ६ सय रहेको छ । यसका साथै संस्थाको कुल सम्पत्ति १ अर्ब ३३ करोड ३६ लाख ९२ हजार रुपैयाँ रहेको छ भने बचत निक्षेप १ अर्ब ९ करोड ७२ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था

दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको यात्रा साढे दुई दशक नाघिसक्यो । विगत एक दशकदेखि भने हाम्रो जनकल्याण सहकारीले अन्य संस्थासँग एकीकरण गरेर संस्था ठूलो र मजबुत बनाउनु पर्छ भनेर अभियान थालेको थियो । सोही अनुसार हालसम्म यस सहकारीले हिमालयन, अग्रगामी, नागरिक र सैलुङ सहकारीसँग एकीकरण गरिसकेको छ ।

एकीकृत पुँजीबाट नै शेयर सदस्यहरूको आर्थिक तथा सामाजिक विकास सम्भव हुने सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेत बताउँछन् । जनकल्याणले नाम अनुसारकै काम गरिरहेको बताउँदै उनले उत्पादनमा जोडिन खोज्ने धेरै गृहिणीहरूलाई साथ दिएको जानकारी दिए । यस सहकारीले उद्यम, कृषि र व्यापार क्षेत्रमा सबैभन्दा बढी लगानी गर्ने गरेको उनले बताए ।  

‘हामीले शेयर सदस्यहरूको समृद्धिमा टेवा पुग्ने बचत तथा ऋणको उत्पादनलाई प्रवर्द्धन गरिरहेका छौँ । बचत तथा ऋणको कारोबारमा मात्र हामी सीमित छैनौँ । सदस्यहरूको सीप विकास, व्यवसाय प्रवर्द्धन तथा बजारीकरणमा समेत हामीले काम गरिरहेका छौँ’, उनले भने ।

प्रमुख कार्यकारी अधिकृत बस्नेतका अनुसार गत आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्म यस सहकारीमा ९ हजार १६७ जना शेयर सदस्य पुगेका छन् । यस संस्थामा ३ हजार ५०४ वटा बाल खाता सञ्चालनमा रहेका छन् । यस अवधिसम्म संस्थामा ६१ करोड ७९ लाख ३७ हजार रुपैयाँ बचत संकलन भएको छ । ६३ करोड १० लाख ४१ हजार रुपैयाँ लगानी रहेको छ । संस्थाको सम्पत्ति तथा दायित्व ८३ करोड ७९ लख ४० हजार रुपैयाँ रहेको छ । 

यस सहकारीको शेयर पुँजी ५ करोड ९७ लाख ८८ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ५ करोड ४९ लाख १६ हजार रहेको छ भने अन्य कोषमा १ करोड ९७ लाख ३५ हजार रहेको छ । यसका साथै जनकल्याणको ऋण सुरक्षणमा ३ करोड ५ लाख ३२ हजार रहेको छ । संस्थाको कुल सम्पत्ति ८३ करोड ७९ लाख ४० हजार रुपैयाँ रहेको छ ।

अर्थतन्त्रले पारेको असरका कारण ऋणी मार्कामा परेका छन् भने त्यस्ता ऋणीहरूलाई यस सहकारीले शत प्रतिशत हर्जना छुट समेत दिने गरेको छ । यसबाहेक संस्थाले शेयर सदस्यहरूको स्वास्थ्य उपचारका लागि दुई महिनाका लागि २० हजार रुपैयाँ बिना ब्याज ऋण दिने गरेका छ । सुत्केरी भत्तादेखि सदस्यको मृत्यु भएमा उसको परिवारलाई राहतस्वरुप केही रकम दिने गरिएको छ । असहाय सन्तति छात्रवृत्ति योजना समेत यस सहकारीले सञ्चालन गर्दै आएको छ। दैनिक कार्यालय उपस्थित हुने शेयर सदस्यहरूमध्ये लक्की ड्र मार्फत केही सदस्यहरूलाई पुरस्कार समेत दिने गरिएको छ ।

८० वर्षमाथिका शेयर सदस्यहरूलाई प्रोत्साहन खर्च यस सहकारीले दिने गरेको छ । घातक रोग वा प्राकृतिक प्रकोपका कारण मृत्यु भएका सदस्यहरूको परिवारलाई पाँच हजार रुपैयाँ राहत रकम दिने गरेको छ ।