काठमाडौं । अर्थतन्त्रको तेस्रो खम्बा मानिएको क्षेत्र हो, सहकारी । पछिल्लो केही समययता यो क्षेत्र निक्कै चर्चामा छ । सहकारी संस्थाहरूले बचतकर्ताको रकम दुरुपयोग गरेकोदेखि सञ्चालक फरार, ऋणीले ऋण नतिर्ने भन्दै गरिएका आन्दोलनका कारण यो क्षेत्र चर्चामा आएको हो ।
हुनपनि ओरियन्टलदेखि शिवशिखर, कान्तिपुर, लालीगुराँस लगायत सहकारीहरूले सदस्यहरूको बचतको रकम खर्लप्पै पारिदिए । काठमाडौं बाहेक विराटनगरको तुलसी,धरानको बराह, बागलुङको इमेज, ललितपुरको देउराली सहकारी संस्थाले पनि बचतकर्ताको रकम हिनामिना गरेको पाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेदेखि जिबी राईसम्म सहकारी ठगीमा मुछिएका छन् ।
सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा सिभिल बैंकका संचालक एवं स्थापित घरजग्गा व्यवसायी इच्छाराज तामाङ अहिले जेलमा छन् । हालै मात्र एक बैंकका उच्च पदस्थ कर्मचारीहरूलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनीहरूले गडबडी गरेको कुरा पनि एक सहकारीको अध्ययनको क्रममा नै फेला परेको हो ।
यसरी सहकारीले बचतकर्ताको बचतको रकम खाइदिएपछि बचतकर्ताले आन्दोलनदेखि धर्ना दिने गरेका छन् । एकातिर ठगिएका बचतकर्ताहरू बचतको रकम फिर्ता माग्दै आन्दोलनमा छन् भने अर्कोतिर लिएको ऋण नतिर्ने भन्दै आन्दोलन गर्नेहरू पनि छन् । बैंक तथा वित्तीय संस्था र सहकारीविरुद्ध ऋण नतिर्ने भन्दै चलेका आन्दोलनका कारण कतिपय संस्थाहरू समस्यामा पर्दैछन् ।
चलेका केही ठूला सहकारीहरूले बदमासी गरेका कारण अन्य सहकारीहरू प्रति पनि आम मानिसको हेर्ने दृष्टिकोण फेरिएको छ । ‘सहकारीहरूले बचतकर्ताको रकम खाइदिन्छन्’ भन्ने भाष्य नै स्थापित भएको देखिन्छ । जसका कारण बचतकर्ताहरू आफ्नो रकम फिर्ता माग्दै सहकारीहरूमा लाइन लाग्ने समेत गरेका छन् ।
तर, पहाडी जिल्लामा चलेका सहकारीहरूमा भने यस्तो कुनै समस्या नपरेको देखिएको छ । त्यहाँका सहकारीहरूमा न बचतको रकम फिर्ता माग्नेहरूको लाइन छ, न ऋण तिर्दिन भन्दै आन्दोलन गर्नेहरूको जुलुस नै छ ।
गाउँमा सञ्चालन भएका धेरैजसो सहकारी संस्थाहरूमा सहरमा जस्तो समस्या नदेखिएको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भूमिराज खड्का बताउँछन् । उनी भन्छन्, ‘केही सहकारीहरूले गल्ती पनि गरेका छन् । उनीहरूले जानेर गरे या अन्जानमा गरे उनीहरू नै जानुन् । त्यसको असर सहरका राम्रो सहकारीहरूमा समेत परेको छ । गाउँमा भने त्यस्तो देखिएको छैन ।’
त्यसो त सहकारीविरुद्ध विभिन्न उजुरीहरू पनि पर्ने गरेका छन् । उजुरी परेकामध्ये धेरै सहकारीहरूमा बचत रकम फिर्ता नपाएको, सञ्चालक नै भागेको भन्ने गुनासो र पीडा रहेको पाइन्छ । त्यसबाहेक केही सहकारीविरुद्ध प्रतिसोधका कारण पनि उजुरी पर्ने गरेको उनको तर्क छ ।
थोरै सहकारीले नराम्रो गर्दा त्यसको असर राम्रा सहकारीहरूमा परिरहेको उनको भनाई छ । जिरी नगरपालिका वडा न. ५ दोलखामा लामो समयदेखि सहकारी सञ्चालन गर्दै आएका अध्यक्ष खड्का भन्छन्, ‘नेपालभर सञ्चालनमा रहेका सहकारीमध्ये १० प्रतिशत सहकारीमा समस्या देखिएको हो । त्यसबाहेक ९० प्रतिशत सहकारीहरूमा समस्या छैन । उनीहरूले कति राम्रा काम गरेका छन् । राम्रा सहकारीको चर्चा छोडेर त्यही १० प्रतिशत नराम्रा सहकारीको चर्चा बढी भयो ।’
नराम्रा सहकारीको बढी चर्चा भएका कारण राम्रा सहकारी ओझेलमा परेको उनले गुनासो गरे । छिटपुट घटना आउँदैमा सबै सहकारी नराम्रा हुन् भन्न नमिल्ने उनको तर्क छ ।
त्यस्तै, ऋण नतिर्ने आन्दोलनको असर हालसम्म देखा नपरेको दोलखाको अर्को जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हेमन्त कुमार चौलागाई बताउँछन् । बैतेश्वर गाउँपालिका, वडा न. ५ काब्रेमा सञ्चालित यस सहकारीमा भाखा नाघेका ऋणीहरूको सङ्ख्या धेरै नरहेको चौलागाईले बताए ।
उनले भने, ‘हाम्रो सहकारीमा ऋण तिर्दिन भन्ने ऋणीहरू छैनन् । केही भाखा नाघेका ऋणीहरू हुनुहुन्छ । तर, लामो समयदेखि नै ऋण नतिरेका र तिर्दिन भन्ने कोही छैनन् । आन्तरिक समस्याका कारण केही किस्ता तिर्न समस्या भएमा सम्पर्कमा आउने गरेका छन् । त्यसरी तिर्दिन नै भनेर भाग्ने खालका छैनन् ।’
यो सहकारीले तरलता व्यवस्थापन गर्ने काममा बढी जोड दिएको देखिन्छ । यो सहकारीमा बचत पनि वृद्धि भइरहेको छ । चालू आर्थिक वर्षको असार मसान्तसम्ममा १७८ करोड बचत संकलन गर्ने लक्ष्य लिएको यस सहकारीले माघ मसान्तसम्ममा नै १८३ करोड संकलन गरिसकेको छ । यसरी हेर्दा सहकारी प्रति अविश्वास होइन कि विश्वास बढेको देखिन्छ ।
बजारमा चलेका हल्लाको पछाडि नलाग्न आग्रह आग्रह गर्दै उनले भने, ‘हामीले दीर्घकालीन बचतमा जोड गरेका छौँ । हाम्रो सहकारी डुब्छ की भन्ने चिन्ता छैन । तर, बजारमा चलेका हल्लाका कारण हामी केही संयमित भने भएका छौँ । पर्याप्त तरलता व्यवस्थापन गरेका छौँ । गलत ठाउँमा लगानी गरेका छैनौँ । सदस्यहरूको बचत सुरक्षित राखेका छौँ ।’
यस सहकारीले सदस्य सर्वेक्षणको पनि काम गरिरहेको छ । अध्यक्ष चौलागाईले भने, ‘हामीले अहिले हाम्रा सदस्यहरूले सहकारी कसरी बुझिरहेका छन् भने सर्वेक्षण पनि गरिरहेका छौँ । यसबाट आएको नतिजा अनुसार नै हामी सुधार गर्दै अगाडी बढ्ने योजनामा छौँ ।’
कानुनभन्दा बाहिर रहेर सञ्चालन गरिएका सहकारीहरूले राम्रो काम गरिरहेका सहकारीहरूलाई बाटो बिराउन उक्साउने गरेको पाइएको सहकारीकर्मीहरु नै बताउँछन् । तर, नीति र विधिमा नचलेका सहकारीहरू समस्यामा पर्नेमा उनीहरू स्पष्ट छन्।
मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपाने आफूहरूलाई कतिपयले गलत बाटोतिर हिँड्न उक्साउने गरेको बताउँछन् । उनी भन्छन्, ‘सहकारी सञ्चालन गरिरहँदा गलत बाटेतिर उक्साउने साथीभाइहरू यदाकदा भेटिने गरेका छन् । यसमा हामी सचेत भएर अगाडी बढिरहेका छौँ । खुट्टा तान्ने प्रवृत्ति पनि सहकारी क्षेत्रमा हाबी छ । यसबाट हामी जोगिनु पर्नेछ ।’
सहरमा देखिएको सहकारीमा जस्तो समस्या गाउँका सहकारीहरूमा नआउनेमा रोमछापको मन्थली नगरपालिका वडा न. १ स्थित नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनि ढुक्क छ । सो संस्थाका सचिव सोमेश थापा भन्छन्, ‘सहरमा देखिएको सहकारीमा जस्तो समस्या हामीलाई आउँछ जस्तो लागेकाे छैन । सहरी क्षेत्रमा चलेका सहकारी ठूलो हुने नाममा ब्यालेन्स सिट बढाउने गरिएको पाइएको छ । ऐनभन्दा फरक तरिकाले चलेका छन् । त्यसले गर्दा समस्यामा आएको हो । त्यस्तो समस्या गाउँका सहकारीमा छैन ।’
राम्रा काम गरेका सहकारीको चर्चा हुनुपर्ने जोड दिँदै उनी भन्छन्, ‘निश्चित मानिसहरूले लाभांश खानेगरि खोलिएका सहकारीहरू समस्यामा परेका हुन् । गाउँमा चलेका सहकारीहरू नीति, विधिमा चलेका छन् । नराम्राको होइन, राम्रा सहकारीको चर्चा गर्नुपर्छ ।’