शीर्षकहरू

महिला समूहदेखि नवजागरण सहकारीसम्मको कथा, १० रुपैयाँबाट पौने ५ करोडको यात्रा

महिला समूहदेखि नवजागरण सहकारीसम्मको कथा, १० रुपैयाँबाट पौने ५ करोडको यात्रा

साढे दुई दशकअघि एउटा महिला समूह गठन भयो, ताम्राकौशिका प्राविको प्राङ्गणमा । जसले हरेक सदस्यबाट प्रति महिना दश रुपैयाँ बचत गर्न थाल्यो । यो हो, हाल एक उदाहरणीय सहकारीका रुपमा रामेछाप जिल्लामा नै कहलिएको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बीजारोपण हुँदा बखतको कुरा ।

हाल बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्लाको मन्थली नगरपालिका १ मा रहेको यस सहकारी संस्थाको यात्रा २५ वर्ष पुगिसकेको छ । जसको बीज २५ वर्ष अघि महिला समुहको रुपमा टुसाएको थियो ।

यो सहकारीको व्यावसायिक यात्राबारे सुनाउँदै सहकारीका सचिव सोमेश थापा भन्छन्, ‘२०५३ सालतिर महिला समूहबाट सुरु भएको संस्था हो, यो । त्यस बेला दश रुपैयाँ बचत संकलन गर्ने गरिएको थियो । नवजागरणले छोटो समयमै लामो फड्को मारेको छ ।’    

उनका अनुसार साबिक मन्थली गाविसको टेकनपुर गाउँको ताम्राकौशिका प्राविको प्राङ्गणबाट यस सहकारीको यात्रा सुरु भएको हो । स्थानीय २५ जना महिलाहरूको सक्रियतामा समूह गठन गरियो । जुन समूहको अध्यक्षता तारा कार्कीले गरेकी थिइन् । त्यसबेला मन्थली गाविसको वडा नं. ७ र ८ लाई यसको कार्यक्षेत्र बनाइएको थियो । जहाँबाट मासिक १० रुपैयाँ बचत संकलन गर्ने गरिन्थ्यो । 

अनि दर्ता भयो सहकारी

समूहमा बचतका रुपमा रकम संकलन गर्दै गर्दा त्यस समूहलाई सहकारी संस्थाको रूप दिने तयारी थालियो । सोही अनुसार नै वि.सं. २०५५ साउन १२ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भयो, नवजागरण बचत तथा ऋण सहकारी संस्था ।

सहकारी संस्थाको रूप पाएपछि पनि उक्त सहकारीले दुई वर्षसम्म महिलाहरूलाई मात्रै समेट्यो । तर, २०५७ सालपछि भने यसमा पुरुषलाई पनि सहभागी गराउन थालियो । ‘सहकारीका रुपमा दर्ता भएपछि पनि यस सहकारीले समूहको रुपमा नै काम गरिरहेको थियो । २०६२ सालतिर भने विशेष साधारण सभा गरेर संस्थाले सहकारीका रुपमा काम थालेको हो त्यसपछि मन्थली बजारमा कार्यालय स्थापना गरी यस सहकारी संस्थाले आर्थिक कारोबार गरिरहेको छ’, सचिव थापाले भने । 

उनका अनुसार २०५७ देखि २०६२ सालसम्म सुषुप्त रहेको संस्था झम्कबहादुर कार्कीको अध्यक्षतामा विशेष साधारण सभा सम्पन्न भएपछि भने जुर्मुरायो । २०६२ साल चैत्र ५ गतेको साधारण सभाबाट साबिक मन्थली गा.वि.स. सहित ५ अन्य गा.वि.स. लाई कार्यक्षेत्र बनाई श्याम थापाको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन भयो । जति बेला संस्थामा ४१ जना सदस्य रहेका थिए । 

हाल यस संस्थाले चार पालिकालाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छ । रामेछापको स्थानीय तहहरू मध्येमा मन्थली र रामेछाप नगरपालिका, खाँडादेवी र लिखु तामाकोसी गाउँपालिकाका ३९ वडाहरू यो संस्थाको कार्यक्षेत्र हो ।   

१० हजारबाट पौने पाँच करोडको यात्रा

संस्था सुरु गर्दा (२०६२) मा सहकारीको शेयर पुँजी १० हजार रुपैयाँ रहेको थियो । तर, उक्त पुँजी गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा ४ करोड ७६ लाख ८३ हजार रुपैयाँ पुगेको छ । 

यस अवधिमा संस्थाले ४० करोड ५२ लाख ४ हजार रुपैयाँ खुद ऋण लगानी गरेको छ । संस्थाले लघु उद्यमदेखि कृषि, पशुपालन, आवास, घरजग्गा, आकस्मिक, शैक्षिक ऋणहरू प्रदान गर्दै आएको छ ।

गत आवसम्ममा ५० करोड ५१ लख ६६ हजार रुपैयाँ संस्थाले बचत संकलन गरेको छ । यस सहकारीले बालकदेखि वृद्धसम्मलाई लक्षित गरेर बचत योजना सञ्चालन गरिरहेको छ । दैनिक बचत, मासिक बचत, अनिवार्य, बाल, आवधिक लगायत ११ प्रकारको बचतका कार्यक्रमहरू रहेका छन् ।   

संस्थाले गरेको ऋण लगानीबाट ऋणीले आर्थिकरुपमा फड्को मारेको संस्थाका प्रबन्धक रमेश कुमार उदासले दाबी गरे । उनले भने, ‘हाम्रो संस्थाले दिएको ऋणबाट ऋणीहरूले धेरै नै राम्रो प्रगति गर्नु भएको छ । उत्पादनशील, आयमूलक, सिपमूलक क्षेत्रमा हामीले धेरै नै योगदान गरेका छौँ ।’

गत आर्थिक वर्षसम्ममा संस्थाको जगेडा कोषमा ६ करोड ३६ लाख ३५ हजार, ऋण सुरक्षण कोषमा २ करोड ६४ लाख २८ हजार र अन्य कोषमा १ करोड ३७ लाख ११ हजार रुपैयाँ रहेको छ । आव २०७९/८०मा संस्थाले १ करोड २६ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको थियो । जसबाट संस्थाले लाभांश समेत वितरण गर्ने गरेको छ ।

मोबाइल बैंकिङदेखि बीमासम्मको सुविधा

नवजागरण सहकारी ऋण दिने र लिनेमा मात्र सीमित छैन । यस संस्थाले आफ्ना सदस्यका लागि लाभान्वित कार्यक्रमहरू समेत सञ्चालन गर्ने गरेको छ । आर्थिक अवस्था कमजोर रहेका शेयर सदस्यका छोरा/छोरीहरूलाई शैक्षिक सामग्री वितरण, हाजिरी जवाफ प्रतियोगिता, ज्येष्ठ शेयर सदस्य सम्मान कार्यक्रमदेखि उत्कृष्ट सहकारी अवलोकन कार्यक्रम समेत  सञ्चालन गर्दै आएको छ ।

त्यस्तै, सदस्यहरूलाई अस्पतालमा छुटको सुविधा, सुरक्षित मातृत्व कार्यक्रम, सहकारी शिक्षा कार्यक्रम, उत्कृष्ट कारोबार गर्ने सदस्य, उत्कृष्ट कर्मचारी, जिल्लाकै उत्कृष्ट नागरिक सम्मान कार्यक्रम जस्ता कार्यक्रमहरूमा यसको सक्रियता छ ।

सदस्यहरूको सेवालाई ध्यानमा राख्दै कारोबारको मोबाइलमा म्यासेजबाट जानकारी समेत यस संस्थाले गरेको छ । यसको आफ्नै एप्स समेत रहेको छ । सोही माध्यमबाट घरमै बसी बसी निःशुल्क ब्यालेन्सको जानकारी, मोबाइल तथा डिश होमको रिचार्ज, मिनी स्टेटमेन्ट, रकम ट्रान्सफर, इन्टरनेट, बिजुलीको बिल भुक्तानी गर्ने सेवाहरू समेत दिने गरिएको छ । प्रविधिमैत्री बन्दै गएको यो सहकारीले क्यूआर कोड, मोबाइल बैकिङ, एटिएम सुविधा पनि प्रदान गरिरहेको छ ।

सदस्य लाभान्वित कार्यक्रमसँगै संस्थाले सदस्य राहत कार्यक्रम, सदस्यका आमाबुबाको मृत्यु भएमा नगद २० हजार र छोराछोरीको मृत्यु भएमा नगद ३ हजार प्रदान गर्दै आएको छ । संस्थाले सदस्यलाई ऋण लिँदा ऋणीको ऋण रकम बराबरको बीमा सुविधा पनि ल्याएको छ ।  

सम्मानित संस्थाकारूपमा परिचित

नवजागरण सहकारी संस्था उत्कृष्ट व्यवस्थापकका रुपमा सम्मानित पनि भएको छ । रामेछाप जिल्ला सहकारी संघबाट यस संस्थाले उत्कृष्ट व्यवस्थापकको सम्मान पाएको हो । यसका साथै यस सहकारी उत्कृष्ट सहकारीका रुपमा समेत सम्मानित भएको छ ।

यस सहकारीलाई छैटौँ राष्ट्रिय कर दिवस २०७४ को अवसरमा आन्तरिक राजश्व विभाग, आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट ०७२/०७३ सालको सबैभन्दा बढी कर दाखिला गरे बापत उत्कृष्ट करदाताको रुपमा सम्मानित गरेको थियो । यसका साथै राष्ट्रिय कर दिवस २०८० को अवसरमा ०७८/०७९ को सबैभन्दा बढी कर दाखिला गरे बापत उत्कृष्ट करदाताको रुपमा पनि यस संस्थाले सम्मान पाएको थियो ।

त्यस्तै, २०६५ मा डिभिजन सहकारी कार्यालय दोलखाले आफ्नो प्रादेशिक क्षेत्र अर्न्तगतका सहकारी संघ संस्थाहरू मध्ये उत्कृष्ट संस्थाका रुपमा नवजागरणलाई सम्मान गरेको थियो । २०७० सालमा राष्ट्रिय सहकारी दिवसको अवसरमा यस संस्थाका सचिवलाई उत्कृष्ट संचालक, २०७६ मा फिल्ड कार्यालय चरिकोट दोलखाबाट उत्कृष्ट बचत कारोबार गरे बापत सम्मान, नेपाल बचत तथा  ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) बाट २०७६ मा  प्रदेशको उत्कृष्ट संस्थाका रुपमा नवजागरण साकोस सम्मानित भएको थियो । नेफ्स्कुनद्वारा विकाश गरिएको नेपाल स्तरको गुणस्तर मापदण्ड प्रोबेशन ‘ब्रान्ड’ लगातार २ वर्ष यस सहकारीले पाएको थियो । 

आन्दोलनको छैन असर

पछिल्लो समय सहरी क्षेत्रमा बैंक तथा वित्तीय संस्था, सहकारीविरुद्ध विभिन्न गतिविधिहरू चलिरहेका छन् । कोही ऋण तिर्नु पर्दैन भन्दै आन्दोलनमा छन् त कोही बचतको रकम फिर्ता नपाएको भन्दै हारगुहार मागिरहेका छन् ।

तर, रामेछापका विभिन्न वडामा वित्तीय सेवा दिइरहेको यस नवजागरण सहकारीमा भने सहरी क्षेत्रमा भइरहेको गतिविधिको असर भने परेको छैन । वित्तीय संस्थाविरुद्ध चलेका गतिविधिहरूको असर यस सहकारीमा नपरेको प्रबन्धक उदास बताउँछन् । उनी भन्छन्, ‘सहरमा चलेका वित्तीय संस्थाविरुद्धका गतिविधिहरूको असर हाम्रो सहकारीमा परेको छैन । ऋण नै तिर्नु पर्दैन भन्ने हल्ला बजारमा मात्रै हो । हाम्रोमा नियमितरुपमा ऋण तिरिरहेका छन् ।’ 

तर, पछिल्लो समय व्यवसायमा आएको मन्दीमा कारण ऋण लिनेहरू भने घटेको उनले सुनाए । ‘आर्थिक मन्दीमा कारण धेरैको व्यवसायमा असर परेको छ । त्यो देखेर नयाँ व्यवसाय सुरु गर्न कतिपयले हिम्मत गर्नु भएको छैन । त्यसैले नयाँ ऋण लिन आउनेहरू भने घटेका छन् ।’  

कुनै पनि सदस्यले बचतको रकम फिर्ता लिन आएमा संस्था तत्कालै दिन तयार रहेको उनले बताए । उदासले भने, ‘हाम्रो सहकारीमा कुनै पनि समस्या छैन । हामीसँग तरलता पर्याप्त छ । जुनसुकै बेला सदस्यहरूले बचत फिर्ता लिन आउनु भएमा फिर्ता गर्न हामी तयार छौँ ।’  

लिएको ऋण नतिर्नेहरू बढेमा त्यसका लागि कार्यदल गठन गरि ऋण असुल गर्ने योजना समेत संस्थाले बनाएको छ । उदासले भने, ‘संस्थाबाट लिएको ऋण तिर्नु हरेक ऋणीको दायित्व हो । तर, कुनै ऋणीले ऋण नतिरेमा ऋण असुलका कानुनी प्रक्रिया अपनाउँछौँ । त्यसबाहेक त्यस्ता ऋणी बढिहालेमा कार्यदल गठन गरि ऋण असुल गर्ने संस्थाको तयारी छ ।’