काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को जग्गा प्रयोगकर्ताले राजनीतिक पहुँचका आडमा विगत ३० वर्षदेखि भाडा तिर्न अटेर गर्दै आएको पाइएको छ ।भृकुटीमण्डप परिसरमा विभिन्न ४२ सङ्घसंस्था र व्यक्तिले प्रयोग गरेको स्टल तथा भवन एवं मेला, प्रदर्शनी आदि गरेबापतको भाडा तिर्न अटेर गरेका छन् । गत असार मसान्तसम्मको तथ्याङ्क अनुसार उनीहरूबाट करिब छ करोड ५३ लाख रुपियाँ उठ्न बाँकी छ ।
परिषद्का प्रशासन प्रमुख दुर्गाप्रसाद भट्टराईले राजनीतिक दलका नेतादेखि पत्रकार तथा कर्मचारीका संस्थासम्मले भाडा तिर्न अटेर गर्दै आएको बताउँदै भन्नुभयो, “राजनीतिक शक्तिको आडमा उठाउन सकेका छैनौँ । बारम्बार ताकेता गर्दा पनि अटेर गर्दै आएका छन् ।”बक्यौता असुल गर्न परिषद्ले गत पुस २१ गते निर्णय गरेको थियो । यही फागुन ११ गते अटेर गर्नेहरूलाई भाडा तिर्न परिपत्र गरिएको छ । उहाँले अब भाडा उठाउन रीतपूर्वक प्रव्रिmयामा लाग्ने बताउनुभयो ।
त्यसका लागि २१ दिनको म्याद दिइएको छ । “त्यस बेलासम्म पनि भाडा नतिरे गोरखापत्रमा ३५ दिनको सूचना प्रकाशित गरेर कानुनबमोजिम असुल उपर गर्ने छौँ,” उहाँले चेतावनी दिनुभयो । प्रायःको गत २०५० देखि २०६२÷६३ साल अघिसम्मको पनि बक्यौता बाँकी छ । भाडा लिएर सम्झौता गर्नेहरूलाई पटक पटक सम्पर्क गर्दा उनीहरूको फोन नै नलाग्ने गरेको परिषद्का अधिकारीहरूले बताए ।
सम्पर्कविहीन भएका नौ व्यक्ति र संस्थालाई हुलाकमार्फत पत्र पठाएर बक्यौता तिर्न सूचित गरिएको छ ।“कहिले पत्र नबुझ्ने, कहिले कार्यालय बन्द गर्ने जस्ता काम गरेर हामीलाई दुःख दिइरहेका छन् । अब त कुनै पनि हालतमा पछाडि नहट्ने नै निर्णय गरेका छौँ,” उहाँले भन्नुभयो । सबैभन्दा बढी रकम तिर्न बाँकी काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको ९१ लाख ९८ हजार १६७ रुपियाँ छ