काठमाडौं । नेपालमा पहिलो पटक जल तथा मौसम विज्ञान नीति आउने भएको छ । विभिन्न नाम हँुदै करिब एक सय वर्षको यात्रा गरेको जल तथा मौसम विज्ञान विभाग आफ्नै नीतिमा उभिन खोजेको हो । हालसम्म विभागले जलस्रोत, ऊर्जा, सिँचाइलगायत छरिएर रहेका नीतिमा टेकेर काम गरिरहेको जनाइएको छ ।
मौसम परिवर्तनका कारण तापव्रmम वृद्धिसँगै जलवायु परिवर्तनको जल्दोबल्दो विश्वव्यापी मुद्दाको नेतृत्वदायी निकायको अभाव नेपालले खेपिरहेका बेला विभागले सो अभाव पूर्ति गर्ने गरी जल तथा मौसम नीति ल्याउन लागेको हो । नीतिको मस्यौदामाथि सुझाव सङ्कलनका लागि बिहीबार काठमाडौँमा राष्ट्रिय परामर्श गोष्ठीको आयोजना गरियो । सो कार्यव्रmममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मौसमजन्य विविध समस्याले विपत् तथा जलवायु परिवर्तनका समस्या सिर्जना भइरहेका बेला आउन लागेको नीति ती समस्या समाधान गर्न सक्ने क्षमतासहितको बन्नुपर्नेमा जोड दिनुभयो ।
विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले नेपालमा हुने ९० प्रतिशत प्राकृतिक विपत् जल तथा मौसमजन्य प्रकोपले ल्याउने गरेको तथ्यका आधारमा नीतिको आवश्यकता प्रस्ट्याउनुभयो । उहाँले जल तथा मौसम विज्ञानमा हुने एक डलर बराबरको लगानीले नौ डलर बराबरको प्रतिफल दिने आँकडा प्रस्तुत गर्नुभयो । सत्र खण्ड रहेको नीतिको मस्यौदामाथि विज्ञहरूसँग एक चरणको छलफल पहिल्यै गरिएको छ