शीर्षकहरू

मायादेवी गापामा २ फिटमा कागज गरेर १२ फिट माटो उत्खनन्‌

मायादेवी गापामा २ फिटमा कागज गरेर १२ फिट माटो उत्खनन्‌

भैरहवा । रूपन्देहीको मायादेवी गाउँपालिका-३ हरहरामा अवैध रूपमा माटो उत्खनन् गरिएको छ । गाउँपालिकाबाट २ फुट गहिराइसम्म माटो उत्खनन् गर्ने कागज बनाएर १२ फुट गहिराइसम्म खनेको पाइएको हो ।

पालिकाले चालु आर्थिक वर्षमा ४ लाख ९७ हजार १८१ घनफुट माटो उत्खनन् गर्न अनुमति दिएको छ । जसमध्ये-३ हरहरामा २ लाख १७ हजार २४२ घनफुट माटो निकाल्न अनुमति दिइएको थियो ।

माटो उत्खनन्का लागि दुलारे मल्लाहले ७ हजार २९०, तेरस अहिरले २९ हजार १६०, बहादुर यादवले २२ हजार ५९९, बरखु धोबीले ११ हजार २०९, रघुराई मल्लाहले ७ हजार ७४५, जगरनाथ लोधले ३३ हजार ५३४, हरिष चन्द्र तिवारीले १८ हजार २२५, सुग्रिम पासीले १४ हजार ५८०, शुशिला धोबीले १४ हजार ५८०, जगदीश लोधले १४ हजार ५८०, सदान धोबीले १४ हजार ५८० र चन्द्रभूषण लोधले २९ हजार १६० घनफुट माटो उत्खनन्‌ गर्न स्वीकृति लिएका थिए ।

तर पालिकाबाट स्वीकृति लिएपछि उनीहरूले १२ फुटसम्म गहिरो खनेर माटो निकालेका छन्‌ । १ फुट गहिराइमा १ लाख ८ हजार ६२१ घनफुट हुन्छ । १२ फुट गहिराइमा १३ लाख ३ हजार ४ ५२ घनफुट माटो हुन्छ ।

पालिकाले दिएको अनुमतिभन्दा १० लाख ८६ हजार २१० घनफुट बढी माटो निकासी भएको पाइएको छ । पालिकाले २ लाख १७ हजार २४२ फुटबापत मात्रै राजश्व लिएको छ ।

पालिका भरबाट ४ लाख ९७ हजार १८१ घनफुट माटो उत्खनन् गर्न अनुमति दिइएवापत १५ लाख ४५ हजार २६० रुपैयाँ राजश्व उठाएको छ ।  हरहराबाटै समग्रमा पालिका भरबाट निकाल्ने माटोभन्दा बढी ८ लाख ६ हजार २७१ घनफुट निकालिएको छ ।

पालिकाले राजस्वबापत प्रतिघनफुट ३ रुपैयाँ ३९ पैसा लिएको छ । यसरी हेर्दा हरहराबाट मात्रै ३६ लाख ८२ हजार २५१ रुपैयाँ ९० पैसा राजश्व पालिकाले गुमाएको छ ।

व्यक्तिले बिक्री अनुमति लिएर व्यवसायी रामु यादव र सोमनाथ यादवलाई माटो बिक्री गरेका छन्‌ । जिल्लामै कहलिएका माटो कारोबारी रामु र सोमनाथले चौबीसै घण्टा जेसिबीले खन्ने र दर्जन बढी हाइवाले माटो ओसारपसार गर्नेगरेको स्थानीय बताउँछन् ।

हरहरा क्षेत्रमा पालिकाका साइट इन्चार्ज रामु यादव र दीपक अर्याल थिए । उनीहरूलाई पालिकाले निगरानीका निमित्त खटाएको थियो । उनीहरूले नै प्रतिवेदन तयार पारेर पालिकामा पेश गरेका छन्‌ ।

माटोकै विषयमा मायादेवी गाउँपालिका-३ का अध्यक्ष रफिक खाँ पनि सङ्लग्न रहेको पाइएको छ । वडा अध्यक्षको आडमा वाह्य ठेकेदार खडा गरी माटोको कारोबार चलाएको स्रोतले आर्थिकन्युजलाई जानकारी दियो ।

सतहको माटोको गुणस्तर पोषक तत्वहरूमा कमजोर हुन्छ र पानी धारण गर्ने क्षमता गुमाउँछ । यसले खाद्य उत्पादकत्व घटाउँछ । सबैभन्दा खराब अवस्थामा माटोले बिरुवाको वृद्धिलाई समर्थन गर्न सक्दैन । खराब माटोको स्वास्थ्यको नतिजा खेतीका लागि राम्रो माटोको हानिभन्दा बाहिर जान्छ ।

अवैधानिक माटो उत्खनन्ले मानव कल्याण र वातावरणका विभिन्न पक्षहरूलाई असर गर्ने मायादेवी गाउँपालिकाका कृषि प्राविधिक सहायक राजेश यादव बताउँछन् ।

‘बारम्बार गहिराइको उत्खनन्‌ले वायुमण्डलमा प्रभाव पार्छ, हरितगृह ग्यासहरूको उत्सर्जनमा योगदान पुर्‍याउँछ र माटोको स्वास्थ्य खराब बनाउने गर्छ,’ यादव बताउँछन् ।

हरहरामा केही जग्गाधनीले १२ फुट बढीको खाडल बनाएर माटो बिक्री गर्दा छेउका जग्गा धनीको जग्गामा सिंचाइ गर्न नै समस्या परेको छ । वरपरबाट माटो निकालेर बीचमा टापु बनाएकोले वर्षायाममा जग्गा भत्कने निश्चितजस्तै छ ।

मायादेवी गाउँपालिका रूपन्देहीका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ माटो उत्खनन्बारे अनुगमन गरेर कानुनी दायरामा ल्याउने बताउँछन् ।

हरहरामा केही जग्गाधनीले अवैधानिक रूपमा गहिराइसम्म पुगेर माटो खन्दा अन्य किसान मर्कामा परेका छन् । उनीको खेत टापु जस्तै बनेको छ । छिमेकीले धेरै गहिरो बनाएर खनिदिँदा  वर्षायाममा फत्कने र पानी सिंचाइ गर्न नसकिने भएको छ ।