राजा महेन्द्र शाहले वि.सं. २०२८ सालमा ‘नयाँ शिक्षा’ लागु गरेपछि देशमा थप विद्यालयहरू खोल्ने काम तीव्र पारियो । विद्यालय त खोलियो, तर विद्यार्थीलाई पढाउने पाठ्यपुस्तक व्यवस्थापन गर्न नसके पञ्चायती राजाले लागू गरेको ‘नयाँ शिक्षा’ असफल हुन सक्थ्यो । त्यसैको निरन्तरतामा महेन्द्रका उत्तराधिकारी राजा वीरेन्द्र शाहले २०३५ असोज ८ गते जनक शिक्षा सामग्री केन्द्र स्थापना गराए ।
त्यसो त वि.सं. २०२८ मा राजा महेन्द्रकै पालामा ल्याइएको शिक्षा ऐन नै हालसम्म कार्यान्वयनमै छ । राजनीतिकमात्र होइन, शैक्षिक र आर्थिक कोणले पनि जनक शिक्षाको स्थापना नेपालको छापाखाना इतिहासमा महत्वपूर्ण कोशेढुंगा थियो । तर, बहुदल स्थापना भएपछि चरम राजनीतिकरण र अनियमितताले जनक शिक्षा सामग्री केन्द्र धराशायी बन्दै गयो । पछिल्लो केही वर्षदेखि भने जनक शिक्षा केही बौरिएको छ । आन्तरिक व्यवस्थापनमा गरिएको सुधारले समग्र संस्थानकै गति बढाइदिएको छ । यसको नेतृत्व प्रबन्ध सञ्चालक अनिलकुमार झाले गरिरहेका छन् । थप केही आकारको व्यवसाय पाए र सरकारले पहलकदमी लिएर राहदानी र पासपोर्टजस्ता सुरक्षण मुद्रणसमेत गर्न जनक शिक्षा तयार रहेको उनी बताउँछन् ।
सरकारी स्वामित्वको छापाखाना जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सञ्चालन अवस्था, आर्थिक पाटो र भावी योजनाबारे प्रबन्ध सञ्चालक झासँग गरिएको कुराकानीको सम्पादित अंशः
जनक शिक्षा सामग्री केन्द्रले पछिल्लो समय के कस्तो काम गरिरहेको छ ? संस्थान कुन अवस्थामा छ ?
प्रबन्धपत्र नियमावलीअनुसार हामीले कक्षा १ देखि १२ सम्मका पाठ्यपुस्तक उत्पादन र बिक्रीवितरण गर्छाैं । सामुदायिक विद्यालयका विद्यार्थीहरूको हातहातमा पाठ्यपुस्तक पुर्याउने जिम्मेवारीमा हामी छौं । निजी विद्यालयका विद्यार्थीहरूका लागि पनि अंग्रेजी, नेपाली र सामाजिक विषयका पाठ्यपुस्तकहरू उपलब्ध गराउँछौं ।
पाठ्यपुस्तकको मूल्य समायोजनका लागि हामीले सम्बन्धित निकायलाई अनुरोध गरिरहेका छौं । तर, पाठ्यपुस्तक छपाइमा घाटा हुँदा पनि तीन वर्षदेखि मुनाफामा छौं । पहिले घाटामा रहेकाले सञ्चित नोक्सानीलाई घटाउने क्रम जारी छ ।
गत वर्ष हामीले पाठ्यपुस्तक उत्पादन बाहेक सेक्युरिटी प्रेसको रूपमा काम गर्ने लक्ष्यसाथ प्रबन्धपत्र संशोधन गरेका छौं । यसका लागि सरकारी प्रकृया पूरा भइसकेको छ । सुरक्षा ऐन आइसकेपनि नियमअनुसार हामीले सेक्युरिटी प्रेसको रूपमा काम गर्न पाऊँ भनी आवेदन दिन्छौं ।
२०६७ सालदेखि जनक शिक्षाले पाठ्यपुस्तक बाहेक कक्षा १०, ११ र १२ का विद्यार्थीहरूका लागि प्रश्नपत्र छपाइ पनि गर्दै आइरहेको छ । सीटीईभीटी र शिक्षक सेवा आयोगका प्रश्नपत्र र उत्तरपुस्तिका छपाईको काम पनि हामीले गर्दै आएका छौं । केही वर्षयता आन्तरिक राजस्व विभागका अन्तःशुल्क स्टीकर पनि छपाई गरिरहेका छौं । यही पुसदेखि हामीले हुलाक सेवा विभागका लागि टिकट छपाईको कार्यादेश पाएका छौं । भर्खरै भूमिसुधार मन्त्रालयसँग लालपूर्जा लगायत कागजात छपाईका लागि पनि सम्झौता गरेका छौं ।
तपाईंले उल्लेख गर्नुभएअनुसार केन्द्रले धेरै काम पाइरहेको देखिन्छ । तर अलिक अघिसम्म जनक शिक्षा घाटामा गयो भन्ने समाचार लेखिरहन्थ्यौं, अहिले आर्थिक अवस्था कस्तो छ ?
समग्रमा विगत तीन वर्षदेखि हामी मुनाफामा छौं । तीन वर्षको मुनाफा जोड्दा झण्डै ५१ करोड रुपैयाँ भएको देखिएको छ ।
पाठ्यपुस्तक छपाइमा हामीले नोक्सानी नै ब्यहोरिरहेका छौं । बाहिरी अन्य छपाइ गर्दा केही नाफा हुन्छ । गत दुई वर्षदेखि जसरी महँगी बढ्यो : त्यसले पाठ्यपुस्तकको प्रतिपृष्ठ छपाइमा १० पैसा नोक्सान परिरहेको छ । सालाखाला ३०० पेजको किताब छाप्दा प्रतिकिताब २५ देखि ३० रुपैयाँसम्म नोक्सान छ ।
त्यसैले पाठ्यपुस्तकको मूल्य समायोजनका लागि हामीले सम्बन्धित निकायलाई अनुरोध गरिरहेका छौं । तर, पाठ्यपुस्तक छपाइमा घाटा हुँदा पनि तीन वर्षदेखि मुनाफामा छौं । पहिले घाटामा रहेकाले सञ्चित नोक्सानीलाई घटाउने क्रम जारी छ ।
अहिलेसम्म सञ्चित नोक्सानी कति घट्यो ?
सञ्चित नोक्सानी करिब १ अर्ब ३० करोड रुपैयाँ हाराहारीमा छ । २०५७/५८ देखि २०७२/७३ सम्म झण्डै १४ वर्षजति पाठ्यपुस्तकको मूल्य नै समायोजना नहुँदा यति धेरै सञ्चित नोक्सानी भएको हो ।
१३/१४ वर्षमा महँगी बढ्यो । कर्मचारीको तलबभत्ता र कच्चापदार्थको मूल्य पनि बढ्यो । तर पुस्तकको मूल्य नै नबढ्दा नोक्सानी धेरै हुन गयो ।
पाठ्यपुस्तक तयार गर्दा कुन-कुन पाटोमा खर्च हुन्छ ?
मुख्यतः कागज नै हो । दुई वर्षअघि हामीले ८६ रुपैयाँ प्रतिकेजीका दरले कागज किनेका थियौं । गत वर्ष १७५ रुपैयाँ प्रतिकिलोका दरले खरिद गर्यौं । यो वर्ष औषतमा १४२ रुपैयाँ छ ।
कागजको मूल्य दुई अघि भन्दा गत वर्ष र यो वर्ष दोब्बर भएको छ । सबैभन्दा बढी खर्च कागजमै हुन्छ । इन्धनको मूल्यवृद्धिले पनि कागजको भाउ महँगो बनाइरहेका छ ।
जनक शिक्षा स्थापना हुँदाताका, पाठ्यपुस्तकको मूल्य समायोजन नहुँदा र पछिल्लो तीन वर्षदेखि नाफामा गएको अवस्थालाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?
२०६० सालभन्दा अघि जनक शिक्षाको अवस्था राम्रो थियो । किनकी त्यतिखेर भृकुटी कागज कारखाना थियो । सरकारकै पेपरमिल हुँदा पाठ्यपुस्तक प्रकाशन गर्न सहज थियो । सस्तो र सुलभ दरमा कच्चापदार्थ यहीँ पाइन्थ्यो । त्यतिखेर पुस्तकको मूल्य पनि ठीकै थियो । त्यतिखेर यो संस्था नाफामै थियो ।
२०६१/६२ पछि भृकुटी कागज कारखाना बन्द हुँदा पाठ्यपुस्तक छपाइकै लागि कागज अभाव भयो । सबै कच्चापदार्थ बाहिरबाट ल्याउनुपर्दा छपाइ महँगो भयो । अहिले पनि हामी यही महँगीसँगै जुधिरहेका छौं ।
गत वर्ष १ करोड ६० लाख थान पुस्तक बिक्री भएको थियो । पाठ्यपुस्तक छपाइ गर्दा हामीलाई वार्षिक १८ देखि २० करोड रुपैयाँसम्म घाटा भइरहेको छ ।
निजी क्षेत्रले प्रकाशन गर्ने पुस्तकहरूको मूल्य जथाभावी राख्ने गरेको पाइन्छ, नियन्त्रण भएको देखिँदैन । जनक शिक्षालाई मात्र बजार अनुकूल नहुनेगरी मूल्य निर्धारण गर्नुको कारण के हुन सक्छ ?
पहिलेका शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, मानवस्रोत विकास केन्द्र लगायतसँग यो मामिला जोडिन्छ । विकास केन्द्रको नेतृत्वमा मूल्य निर्धारण कमिटी छ । त्यो कमिटीमा हामीले मूल्य बढाइदिन भनेका छौं । आउँदो वर्षदेखि मूल्य बढाइदिने आश्वासन पाएका छौं ।
अहिलेकै अवस्थामा प्रतिपृष्ठ १० रुपैयाँ बढाउँदा ब्रेकएभनमा हुन्छौं । हामीले पूरै विश्लेषण गरेर पाठ्यपुस्तक छपाइको लागत विवरण दिएका छौं । हामीले पुस्तकमा तीन किसिमको छपाइ गरिरहेका छौं । त्यो दर पठाएका छौं । पारित गरेपछि पाठ्यपुस्तकको नयाँ मूल्य निर्धारण हुन्छ ।
जनक शिक्षाले काम पाइरहेको देखिन्छ, प्राप्त छपाइका काम गर्ने प्रबन्ध कसरी मिलाइएको छ ?
१३/१४ वर्षदेखि प्रेसको काम गर्दागर्दै हामी अभ्यस्त भइरहेका छौं । प्रिन्टिङ प्रेसबारे जानकार, इन्जिनियरिङ र मेन्टिनेन्सबारे जानकार साथीहरू हुनुहुन्छ । प्राविधिक रूपमा हामी सक्षम छौं । हाम्रा साथीहरूले इमानदारितापूर्वक नै काम गर्नुभएको छ । व्यवसाय बढ्नु र गुणस्तरीय सामान छपाइ गरी बिक्री बढाउन सकिएको छ ।
विदेशबाट विज्ञ बोलाएर हाम्रा कर्मचारी साथीहरूलाई तालिम दिन सकियो भने नेपालमै राहदानी (पासपोर्ट) र बैंक नोट छपाइसम्मका काम जनक शिक्षाबाटै गर्न सकिन्छ ।
हामीले पछिल्लो चार वर्षदेखि आन्तरिक राजस्व कार्यालयको अन्तःशुल्क छपाइको काम गर्यौं । थप सुधार गर्दै छपाइलाई निरन्तरता दिएका छौं । नयाँ मेसिनहरू ल्याउन सक्दा अझ गुणस्तरीय छपाइ गर्न सक्छौं । त्यसो गर्दा लागतप्रभावी पनि हुन्छ । हामीले आन्तरिक राजस्व विभागलाई यसतर्फ अनुरोध गरेका छौं । बढी व्यापार पाइने सुनिश्चितता भयो भने हामी अत्याधुनिक मेसिन खरिद गरेर थप गुणस्तरीय अन्तःशुल्क स्टीकर छाप्न सक्छौं ।
विदेशमा छपाइ गर्दा जसरी हाम्रो रकम बाहिरिन्थ्यो, त्यो अहिले रोकिएको छ । पुस्तक बाहेक बाहिरी छपाइका काम गर्न पाउँदा हामी खुशी छौं । साझेदारहरू पनि विश्वस्त हुनुहुन्छ ।
विदेशबाट विज्ञ बोलाएर हाम्रा कर्मचारी साथीहरूलाई तालिम दिन सकियो भने नेपालमै राहदानी (पासपोर्ट) र बैंक नोट छपाइसम्मका काम जनक शिक्षाबाटै गर्न सकिन्छ ।
राहदानी, बैंक नोट, राजस्व स्टीकरको छपाइ उच्च सुरक्षामा गर्नुपर्छ भनिन्छ, त्यो कसरी मिलाइएको छ ?
हामीले चार वर्षदेखि अन्तःशुल्क स्टीकरको छपाइ गरिरहेका छौं । सो छपाइमा नेपाली सेनाका तर्फबाट सुरक्षा दिइएको छ । मेजरको कमाण्डमा २७ जनाको टोली खटिएको छ ।
उहाँहरूको नियमित निगरानी र सुरक्षा घेरामा नै हामीले काम गरिरहेका छौं । प्रवेश गर्दा, खाना/खाजा खान जाँदा/आउँदा र काम सकेर जाने बेलामा नियमित चेकिङ हुन्छ । मोबाइल, कागज, कापी, कलम केही पनि लैजान पाइँदैन, बाहिर नै छाड्नुपर्छ । सीसीटीभी क्यामेराबाट पनि सेनाले निरन्तर निगरानी गर्छ ।
सेक्युरिटी घेराभित्रै छपाइको काम हुने हुनाले हालसम्म त्यस्तो अप्रिय घटना भएको छैन । हाम्रो पर्फमेन्स निकै राम्रो छ । अब हामी सेनाको सुरक्षा घेराभित्रै काम गर्न अभ्यस्त भइसकेका छौं । हामीले सुरक्षित ढंगले गुणस्तरीय छपाइ गरिरहेका छौं ।
आगामी दिनमा पासपोर्ट र बैंक नोटजस्ता सेक्युरिटी प्रेसका काम गर्न सक्छौं । अहिले काम गरिरहनुभएका साथीहरूलाई थप केही तालिम दिनासाथ सरकारले आवश्यक प्रबन्ध मिलाए हामी पासपोर्ट र पैसा छाप्न सक्छौं । तर, त्यस्ता छपाइका लागि अब गुणस्तरीय मेसिन नै ल्याउँदा राम्रो हुन्छ । डिजिटल र मोर्डन टाइपको मेसिन खरिद गरी केही साथीहरूलाई तालिम दिएपछि हामी काम गर्न सक्छौं ।
व्यवस्थित सुरक्षा संयन्त्र भएको देशमा सुरक्षण छपाइका लागि व्यवस्था मिलाउन गाह्रो छैन । सबैभन्दा सेना, शसस्त्र र नेपाल प्रहरीको तीनवटा घेरा बनाएर त्यसभित्र छपाइ गर्न सक्छौं । तीनवटै सुरक्षा निकायको घेराभित्र हाम्रै देशमा हामीले मुद्रा लगायत छपाइ गर्न सक्छौं । त्यसका लागि जनक शिक्षासँग पर्याप्त पूर्वाधार पनि छ । मेसिन/उपकरण खरिद गर्न सक्यौं भने सुरक्षा घेराभित्र सबैखाले छपाइका काम गर्न सकिन्छ ।
त्यस्तो छपाइका लागि मेसिनरी र प्राविधिक पक्ष पनि महत्वपूर्ण हुन्छ । त्यसको प्रबन्ध कसरी मिलाउन सकिन्छ ?
अन्तःशुल्क र हुलाक टिकट छपाइ कार्य हामीले पाठ्यपुस्तक छाप्ने मेसिनबाटै गरिरहेका छौं । क्यूआर कोड र डाइकटिङका लागि मेसिन किनेका छौं । यसका लागि हामीले साढे दुई करोड रुपैयाँ हाराहारी रकम मेसिनका लागि खर्च भएको छ ।
पाठ्यपुस्तक छाप्ने मेसिनबाटै अन्य छपाइ अस्थायी नै हो । अलिक धेरै व्यवसाय पायौं भने हामी नयाँ मेसिन खरिद गर्छाैं । केही वर्षमा ३/४ अर्ब रुपैयाँ बराबरको स्टीकरको काम पायौं भने बैंकबाट ऋण लिएर भए पनि मेसिन/उपकरण खरिद गर्न सक्छौं । मेसिनमा २५ करोड रुपैयाँजति खर्च गर्न पायौं भने बैंक नोट बाहेक धेरै काम गर्न सक्छौं ।
जनक शिक्षाले आफूले छाप्नुपर्ने पुस्तकको जिम्मा बेलाबखत बाहिरका निजी कम्पनीलाई सुम्पने गरेको छ । फेरि पनि त्यस्तो भयो भने त यहाँ पूर्वाधार गरिएको लगानीको औचित्य रहँदैन नि !
जनक शिक्षालाई कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइ गर्न रोकावट छैन । तर, २०६३/६४ पछि निजी क्षेत्र प्रवेश गराइयो । त्यसयता त्यो क्षेत्रले पनि केही पुस्तक छपाइ गरिरहेको छ । यो वर्ष नै १ देखि ४ कक्षासम्मको पुस्तक छपाइमा निजी क्षेत्रलाई पनि समावेश गराइएको छ ।
विगतमा हामीसँग पाठ्यपुस्तक प्रकाशन गर्न मेसिन पर्याप्त थिएन । अहिले त्यो समस्या हटेको छ । चालू पूँजी केही थप भयो भने हामीले कक्षा १ देखि १२ सम्मकै पाठ्यपुस्तक उत्पादन र बिक्रीवितरण गर्नसक्ने क्षमता राख्छौं । त्यो क्षमतामा हामी पुगिसकेका छौं ।
भिडियो :