काठमाडौंको पुरानो बानेश्वर निवासी संगिता बानियाँ विगत एक वर्षदेखि विद्युतीय चुलोमा खाना पकाउँछिन् । उनी आफ्नो चारजनाको परिवारलाई त्यसअघि ग्याँस चुलोमा खाना तयार गरेर खुवाउँथिन् । खाना पकाउनका लागि प्रयोग गरिने एलपी ग्यास महँगो हुँदै गएकोले पनि गृहिणीहरूको रोजाइमा विद्युतीय चुलो परेको हो ।
उनी किन विद्युतीय चुलोमा आकर्षित भएकी हुन् भन्ने प्रश्नमा उनको जवाफ छ- ‘यो निकै सस्तो पर्दोरहेछ अनि त्यसैले।' विद्युतीय चुलो प्रयोगले ग्याँस किन्ने खर्च बचत भएको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘एक सिलिन्डर ग्यास भर्न दुई हजार रुपैयाँ बोकेर जानु पर्छ । मुस्किलले दुई महिना मात्र पुग्छ ।' त्यसको तुलनामा विद्युतीय चुलो चलाउँदा धेरै आर्थिक बचत भएको उनको ठहर छ ।
विद्युतीय चुलो प्रयोगबाट कति बचत हुँदो रहेछ भन्ने आर्थिकन्युजको प्रश्नमा उनले भनिन्, ‘ठ्याक्कै कति खर्च कम लाग्यो भन्ने त हिसाब गरेर नै निकाल्नुपर्छ । तर, ग्यासको तुलनामा मलाइ सस्तो नै लागेको छ ।’ उनले घरमा अन्य विद्युतीय सामग्री र यन्त्रहरू जस्तै बत्ती, टिभी, फ्रिज, वासिंङ मेसिन आदि चलाउने भएकोले चुलोको मात्रै कति बिल उठ्यो भन्ने आफुले हिसाब नराखेको बताइन् ।
बजारमा थरिथरिका विद्युतीय चुलोहरू पाइन्छन् । जसमध्ये संगीताले सबै प्रकारका भाँडामा पकाउन मिल्ने खालको चुलो प्रयोग गर्दै आएकी छिन् । ‘बजारमा धेरै खालका विद्युतीय चुलो पाइने रहेछ । चुलोसँगै भाडा पनि किन्नु पर्ने खालको पनि पाइने रहेछ । तर, मैले सबै भाडामा लाग्ने खालको चुलो किनेको छु’, उनले सुनाइन् ।
विद्युतीय चुलोमा खाना पकाउने भएपनि उनले आफ्नो भान्साबाट ग्याँस चुलो समेत हटाएकी भने छैनन् । पुर्णरुपमा विद्युतीय चुलोमा भर पर्न नसक्नुको कारण खोल्दै उनी भन्छिन्, ‘बिजुली सधैँ एकनास हुँदैन । कहिलेकाहीँ झ्याप्प लाइन गइदिन्छ । लाइन फेरि कति बेला आउने हो थाहा हुँदैन । त्यही भएर ग्यास चुलो पनि राखिराखेको छु ।’
साँझ र बिहानको समयमा लोडसेडिङ नहुने हो र विद्युतीय चुलोमा खपत हुने विद्युतको महसुलमा केही सहुलियत दिने हो भने धरैले पूर्णरुपमा नै विद्युतीय चुलो प्रयोग गर्ने उनको विश्वास छ ।
छ महिनामै १३ करोडको आयात
पछिल्लो समय विद्युतीय चुलो प्रयोग गर्नेहरू बढेसँगै यसको आयातमा पनि उल्लेखनीय रुपमा वृद्धि भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म (छ महिना)को अवधिमा मात्र नेपालमा १९ करोड बराबरको ८६ हजार थान भन्दा बढी विद्युतीय चुलो आयात भएको छ ।
चालू आवको यस अवधिमा इन्डक्सन चुलो १३ करोड ४३ लाख १८ हजार रुपैयाँ बराबरको ५९ हजार ६२२ थान भित्रिएको छ । यसका साथै छ महिनामा इन्फारेट चुलो ५ करोड ५५ लाख १४ हजार रुपैयाँ बराबरको २५ हजार ६५५ थान र अन्य विद्युतीय चुलो १७ लाख २८ हजार रुपैयाँको ७७२ थान आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।
सबैभन्दा बढी विद्युतीय चुलो चीनबाट आयात भएको भन्सार विभागले जनाएको छ । यस अवधिमा चीनबाट ६६ हजार ८५८ थान इन्डक्सन र इन्फ्रारेड चुलो आयात भएको छ । जसको मूल्य १४ करोड ६५ लाख ४८ हजार रुपैयाँ रहेको छ । यसबाहेक भारत, बेलायत, दुबई, सिंगापुर र इटाली लगायत देशहरूबाट विद्युतीय चुलो नेपाल भित्रिएको भन्सारको तथ्यांकमा उल्लेख छ ।
बढे विद्युतीय चुलो किन्नेहरुः व्यापारी
नाकाबन्दी यतादेखि नै विद्युतीय चुलो खरिदकर्ताहरू बढेको व्यापारी पुष्प भट्टराई बताउँछन् । उनी भन्छन्, ‘नाकाबन्दीदेखि नै विद्युतीय चुलो प्रयोग गर्ने नेपालीहरू बढेका छन् । नाकाबन्दीको समयमा पेट्रोलियम पदार्थमा जसरी रोक लगाइयो त्यहाँदेखि नै विद्युतीय चुलो प्रयोग गर्नेहरू बढेका हुन् ।’
भट्टराई विगत १८ वर्षदेखि काठमाडौंको मैतीदेवीमा पुष्प इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका छन् । ग्यासभन्दा सस्तो पनि पर्ने भएको विद्युतीय चुलोमा धेरैको आकर्षण बढेको उनको भनाई छ ।
ग्याँसमाभन्दा विद्युतीय चुलो प्रयोग गर्न फाइदा रहेको उनले सुनाए । ‘ग्यास र विद्युतीय चुलोको प्रयोगमा धेरै नै अन्तर छ । विद्युतीय चुलो प्रयोग गर्नेहरूले महिनामा तीन सय रुपैयाँ बिजुलीको बिल तिरे हुन्छ भने ग्यासमा करिब दुई हजार खर्च गर्नु पर्छ’, उनले भने ।
उनका अनुसार विशेषगरि नेपालमा दुई प्रकारका विद्युतीय चुलोहरू बजारमा आएका छन्, इन्डक्सन र इन्फारेट । तुलनात्मकरुपमा इन्डक्सनले कम बिजुली खाने र इन्फारेटले केही बढी बिजुली खान्छ । इन्फारेट भन्दा इन्डक्सन नै राम्रो छ । आफ्नो पसलमा पनि धेरैजसो इन्डक्सन चुलो किन्नेहरू नै आउने गरेको उनले जानकारी दिए । अहिले उनले दुई हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्मका विद्युतीय चुलो बिक्री गर्दै आएका छन् ।
ग्यासको विकल्प खोज्नेहरू धेरै छन्: ऊर्जाविद्
खाना पकाउने ग्यासको विकल्प धेरैले खोजेको ऊर्जाविद् रामप्रसाद धिताल बताउँछन् । उनी भन्छन्, ‘धेरै नेपालीले आफ्नो भान्सामा प्रयोग गर्ने ग्यासको विकल्प खोजिरहेका छन् । त्यसले गर्दा पनि पछिल्लो समय विद्युतीय चुलो प्रयोगकर्ताहरू बढ्दो छन् । यसले परम्परागत ऊर्जाको खपत पनि घटाइरहेको छ ।’
उनका अनुसार इन्धनकोरुपमा ग्यास आयात भइरहेको छ । त्यो इन्धनको लागि नेपाली मुद्रा ठूलो मात्रामा बाहिरिइरहेको छ । तर, विद्युतीय चुलो प्रयोग गरेपछि चुलो खरिदमा मुद्रा बाहिरिए पनि खपतको हिसाबले नेपालमै उत्पादित बिजुली हो । त्यसमा मुद्रा बाहिरिने सम्भावना रहेन ।
तर, विद्युतीय चुलोका कारण बिजुली वितरण प्रणालीमा भने दबाब पर्छ । बिहान बेलुकाको खाना पकाउने समयमा यस्ता चुलोको प्रयोग बढी हुन्छ । यो समय सबै विद्युतीय चुलो प्रयोग हुने हो भने नेपालको बिजुली वितरण प्रणालीले धान्न नसक्ने ऊर्जाविद् धितालको भनाई छ ।
हाम्रो प्रसारण र वितरण प्रणाली सुदृढ नगरी सबैले विद्युतीय चुलो प्रयोग गर्नु पर्छ भन्ने दबाब दिन नहुने उनको भनाई छ । ‘बिजुली वितरण प्रणालीमा तार मात्र नभएर, ट्रान्समिटरदेखि घरभित्रको वायरिङसम्मको क्षमताका विकास गर्नु पर्छ । हामीले भारलाई विविधीकरण (लोड डाइभर्सिफाई) गर्नुपर्छ । माग (डिमाण्ड)लाई फराकिलो बनाउनु पर्छ अनि मात्रै सबैलाई विद्युतीय चुलो प्रयोग गर्न दबाब दिनुपर्छ’, उनले भने ।
सिंहदरबारको प्रयास असफल सिद्ध
यसरी आम उपभोक्ता विद्युतीय चुलोमा आकर्षित भइरहँदा सरकारले पनि सिंहदरबार भित्र ग्याँस नबल्ने नीति नै सार्वजनिक गर्यो । तर त्यो सफल हुन सकेन ।
२०७९ जेठ १५ गते आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सिंहदरबारभित्रबाट ग्याँस विस्थापित गर्ने घोषणा गरे । उनले बजेट वक्तव्य पढ्दै भनेका थिए, ‘सिंहदरबार परिसरबाट आगामी साउनभित्र ग्याँस सिलिन्डर विस्थापित गरी विद्युतीय चुल्हो उपयोग गर्ने व्यवस्था मिलाइने छ ।’
सोही अनुसार तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७९ भदौ १ गते सिंहदरबारबाट ग्याँस प्रयोग विस्थापनको उद्घाटन गरेका थिए । ग्यास विस्थापित गरेर विद्युतीय चुलो प्रयोग गरेको विषयले निकै चर्चा पनि पायो। तर, चर्चा अनुसार शर्माको त्यो प्रयास भने लामो समयसम्म टिक्न सकेन । अहिले सिंहदरबारका सबैजसो क्यान्टिनमा ग्यासकै प्रयोग हुने गरेको छ । उनीहरूले विद्युतीय चुलोको प्रयोग गरेका छैनन् । उद्घाटनको समयमा विद्युतीय चुलो किनेका सिंहदरबारका क्यान्टिन सञ्चालकहरूले अहिले त्यो चुलोलाई एउटा कुनामा राखेर ग्याँसमा खाना तथा खाजाहरू पकाउँदै आएका छन् ।
विद्युतीय चुलो प्रयोग किन नगर्नु भएको भन्ने आर्थिकन्युजको प्रश्नमा एक क्यान्टिन सञ्चालकले भने, ‘ठूलो भाडामा खानेकुरा पकाउन गाह्रो हुने रहेछ । विद्युतीय चुलोमा ढिलो पनि पाक्ने रहेछ । अर्डरको समयमा पुर्याउन सकिएन । थोरै पकाउनका लागि ठिकै हो । एकै पटक धेरै पकाउनु पर्ने हामीलाई गाह्रो लाग्यो ।’
ती सञ्चालकका अनुसार सुरुवातमा विद्युतीय चुलो प्रयोग गरिएको थियो । तर, पछिल्लो समय उनीहरूले ग्याँसकै प्रयोग गर्ने गरेको उनले सुनाए । ‘सुरुवातका केही महिना चलाएका थियौँ । पछि फेरि ग्यासमै पकाउन थाल्यौँ’, उनले भने ।