वासिङ्टन डिसी । अमेरिकामा एक नेपाली चिकित्सकलाई २९ करोड रुपैयाँ बराबरको अनुसन्धानवृत्ति प्राप्त भएको छ । न्यूरो साइन्समा अभ्यास गरिरहेकी डा. प्रेरणा श्रेष्ठले ‘पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’ अर्थात् गम्भीर दुर्घटनापछिको मनोवैज्ञानिक सन्त्रासबारे अनुसन्धान गर्न २२ लाख अमेरिकी डलर बराबरको अनुसन्धानवृत्ति पाएकी हुन् ।
अमेरिकाको न्यूयोर्क राज्यको स्टोनी वु्रक युनिभर्सिटीमा न्यूरोवायोलोजी एण्ड बिहेभियर विभागमा अध्यापन गर्दै आएकी श्रेष्ठलाई यस्तै विषयमा अध्ययनका लागि अमेरिकी सरकारी निकाय नेशनल इन्ष्टिच्युट अफ मेन्टल हेल्थले २२ लाख डलर अर्थात् आजको विनिमय दरमा २९ करोड २५ लाख बराबर रकम उपलब्ध गराउने भएको हो ।
अनुसन्धानको लागि उपलब्ध हुने २२ लाख डलरको अनुदान पश्चात श्रेष्ठले भनिन्, ‘यो मेरो कामको लागि पुरस्कार जत्तिकै महत्वपूर्ण हो ।’ श्रेष्ठका अनुसार मानिससँग मिल्दोजुल्दो आनीबानी भएका मुसामा अध्ययन गरिने विधिअनुसार (जसलाई मस्कुलर विधि पनि भनिन्छ) उनको टोलीले किन मस्तिष्कमा लामो समयसम्म यस्तो विषय रहिरहन्छ भन्नका लागि औजार जडान गरि अध्ययन गर्नेछ ।
आगामी सन् २०२७ को अक्टोवर सम्ममा अध्ययन सकिने गरी हुन लागेको यो अध्ययनले भविष्यमा यस्ता समस्यामा रहेका मानिसको उपचार विधि र पद्धति तर्जुमा हुनसक्ने श्रेष्ठ बताउँछिन् ।