शीर्षकहरू

परिसंघ, सरकार र छ उद्योगबीच त्रिपक्षीय सम्झौता, १६६५ जनाले प्रशिक्षण र रोजगारी पाउने

परिसंघ, सरकार र छ उद्योगबीच त्रिपक्षीय सम्झौता, १६६५ जनाले प्रशिक्षण र रोजगारी पाउने

काठमाडौं । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससीप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ उद्योगहरुबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी अधिकृत दीपक घिमिरे, परिसंघका तर्फबाट महानिर्देशक दीपकराज जोशी र सम्बन्धित उद्योगका प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन् । 

एप्रेन्टिससीप कार्यक्रममा सम्झौता गर्ने ६ उद्योगहरुमा लिटमस् इन्डष्ट्रिज प्रालि, अरिहन्त मल्टिफाइबर्स लिमिटेड, किरण शुज म्यानुफ्याक्चर्स प्रालि, बाबा जुट मिल प्रालि, मोर्डन स्लिपर इन्डष्ट्रिज प्रालि, र रन शुज् इन्डष्ट्रिजप्रालि रहेका छन्। सम्झौताअनुसार यी उद्योगहरूले कुल १६६५ जना प्रशिक्षार्थी कामदार छनोट गरी उनीहरूलाई प्रशिक्षण दिएर सोपश्चात् कम्तीमा १८ महिनाको रोजगारी प्रदान गर्नेछन्। प्रशिक्षार्थी कामदारहरूको अधिकतम तीन महिनाको पारिश्रमिक भने नेपाल सरकारका तर्फबाट केन्द्रले व्यहोर्नेछ। 

सम्झौता कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, उद्योग सचिव मुकुन्द प्रसाद निरौला, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, र विभिन्न उद्योगी र नेपाल सरकारका उच्च अधिकृतहरूको उपस्थिति रहेको थियो। यस्तै, कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका महाशाखा तथा विभागीय प्रमुखहरू, उद्योग मन्त्रालयकी पूर्व सचिव यामकुमारी खतिवडा,महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवाली,नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता तथा परिसंघको रोजगारदाता परिषद्का सभापति ध्रुव रिजाल, नेपाल उद्योग वाणिज्य महसंघ निर्यात प्रवर्द्धन समितिका सहसभापति तथा नेपाल तयारी पोसाक महासंघका अध्यक्ष पशुपतिदेव पाण्डे, विभिन्न उद्योगका प्रतिनिधिहरू समेतको उपस्थिति थियो।

मन्त्री रिजालले यस कार्यक्रमको सञ्चालनबाट उद्योगको उत्पादकत्व वृद्धिमा योगदान गर्ने र स्वदेशमै रोजगारीका थप अवसरहरू सिर्जना हुने अपेक्षा व्यक्त गरे । साथै, कार्यक्रममा साझेदारी गर्ने सम्बद्ध सबै पक्षलाई धन्यवाद दिँदै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न क्रियाशील रहनुपर्नेमा जोड दिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले भने, ‘चालु आर्थिक वर्षका लागि ९ ओटा उद्योगहरूले २१०० प्रशिक्षार्थीका लागि परिसंघमार्फत आवेदन दिएका थिए। तथापि,पाठ्यक्रम तथा अन्य चुनौतीका कारणले ६ ओटा उद्योगहरूसँग मात्र यस कार्यक्रमका त्रिपक्षीय सम्झौता हुन सक्यो। अन्य उद्योगहरू इच्छुक हुँदाहुँदै पनि यसमा सहभागी हुन नसक्दा १६६५ हाराहारी मात्रै रोजगारीको अवसर सिर्जना गर्न सकिएकाले आगामी दिनमा यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक छ। यसलाई सफल बनाउनका लागि परिसंघको भूमिका सदैव सकारात्मक रहने छ।‘ 

यस्तै, परिसंघका उपाध्यक्ष गुप्ताले आगामी वर्ष यस कार्यक्रमको लक्षित सङ्ख्यामा वृद्धि गरी सबै उद्योगहरूलाई समेट्नुपर्ने बताए । नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका कार्यकारी अधिकृत घिमिरेले दक्ष जनशक्ति विकास गरी स्वदेशमा नै रोजगारी सिर्जना गर्ने उद्देश्य रहेको यस कार्यक्रममा यस किसिमले सरोकार पक्षहरुबीच त्रिपक्षीय सम्झौता हुनु ठूलो उपलब्धि भएकाले यसलाई थप सफल बनाउन सबै सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए ।