माघे सङ्क्रान्तिको दिन बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले एक विशेष काम गरे । त्यो हो, मेलम्ची खानेपानी पथान्तरण तथा पुनर्वितरणको शुभारम्भ । यो किन विशेष रह्यो भने मेलम्ची खानेपानीको यस प्रकारको उद्घाटन वा शुभारम्भ भएको यो पाँचौँ पटक हो ।
मेलम्ची खोनपानी आयोजना नेपालको सन्दर्भमा त्यस्तो आयोजना हो, जुन पूर्वाधार विकासमा भएको ढिलासुस्तीको अनुपम उदाहरणकारुपमा रहने प्रकार हो । नेपालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनासंगै राजधानी सहर काठमाडौंबासीलाई बाँडिएको एक सपना हो, मेलम्ची खानेपानी ।
त्यो निर्माणको टिठलाग्दो इतिहासबाट ‘कुरिकुरी’ मान्नुपर्नेमा सगौरव आठौँ पटक शुभारम्भ गर्ने प्रधानमन्त्रीमा ‘लोकलाज’ नदेखिनु अर्को उस्तै परिघटना मानिनेछ । यहाँ लाज मान्नुपर्ने विषयकारुपमा मेलम्चीको पछिल्लो उद्घाटनलाई किन पनि प्रस्तुत गरिएको हो भने सो नदिमा आएको बाढीले क्षति पुर्याएको २१३ दिन पछि बल्ल फेरि पानी वितरण शुरु भयो ।
भनिरहनु पर्दैन की पानी जीवनको आधार हो । र, यदि काठमाडौंबासीसंग अन्य विकल्प नहुँदो हो त यी गएका २१३ दिन के पिएर बस्थे ? यस प्रकारका दैनिक उपभोग्य वस्तुहरूको पूर्वाधारमा आउने क्षति र, त्यसको निर्माणमा देखाउनु पर्ने तिव्रत्तर चासोमा आँखा चिम्लेका नै प्रधानमन्त्रीले सिंहदरबारमा धारा खोलेर पानी पुनर्वितरणको शुभारम्भ गरेको विषयलाई समाचार बनाउनु पर्ने अर्को बिडम्बना र नियति हामी नेपालीबिच छदैछ ।
यो विषय समाचार बनेको कुरालाई यहाँ उल्लेख गर्नुको अन्तर्य के हो भने माघ १ गतेदेखि मेलम्चीको पानी फेरि वितरण शुरु गरिने भन्ने शीर्षकहरू झण्डै दुई हप्ता यता विभिन्न छापा र अनलाइनहरूमा हेडलाइन बनिरहे । जुन स्वाभाविक थियो, हुनुपथ्र्यौ । बाढीले क्षति पुर्याएको आयोजना पुनर्निर्माण हुनु र स्वभाविकरुमा पानी पुनर्वितरण हुनु आफैमा कुनै नौलो कुरा होइन र थिएन ।
तरपनि त्यसले खुबै महत्त्व पाउनु अस्वाभाविक नै देखिन्छ । जब शासकहरू केही गर्न सक्दैनन् र नयाँ आशा, भरोशा बाँड्ने समेत उनीहरूको हुत्ति हुँदैन तब यस्ता तिललाई पहाड बनाउने काम गर्छन् र आम जनालाई के के नै गर्दैछु भन्ने भ्रममा राखिरहन्छन् । त्यसो त माघे सङ्क्रान्तिकै दिन धारा खोलेर उनले तिललाई पहाड बनाएको विषयलाई अनौठो मान्नु हुँदैन । किनकि नेपाली सांस्कृतिक परम्परामा माघे सङ्क्रान्तिमा तिलकै पहाड बन्ने हो । यो संयोग हो वा के हो त्यो त प्रधानमन्त्री प्रचण्ड नै जानुन् । तथापि तिथि, मिति वा कर्मले भने प्रमाणित नै गरिदियो उनले गरेको केही होइनन् । तिलको पहाड बनाएका हुन् र चाकुको गुलियोमा जनता अलमल्याउने अर्को प्रपोगाण्ड मात्रै हो, पानी पुनर्वितरणको शुभारम्भ ।