अहिले नेपालमा उत्पादन छैन त्यसैले आयात चर्को छ । भएका उद्योगधन्धाहरु धमाधम बन्द भइरहेका छन् । यो मुलुकमा आफ्नो भविष्य छैन भन्दै दैनिक हजारौँ युवा विदेश पलायन भइरहेका छन् । तर, यो सबै परिवेश भन्दा पर छन्, काभ्रेका गोकुल राउत ।
सँगैका साथीहरू राम्रो काम र दामको खोजीमा विदेश लागे । उनी यतै बसे, बुबाले थालेको सानो व्यापार सम्हाल्ने बहानामा । अहिले उनले त्यही व्यापारको रूप नै फेरे । पसलेबाट उद्योगीको परिचय बनाएका गोकुल नेपाली उत्पादन विदेशमा निर्यात गरेर मुलुकको व्यापार घाटा थोरै भए पनि कम गरिरहेका छन् ।
बाबुले रोपे, छोराले फलाए
गोकुलले ऊनका कपडा उत्पादन गर्न थालेको दुई दशकभन्दा बढी भयो । कुनै पूर्व योजना बनाएर उनी यो व्यवसायमा होमिएका भने होइनन् । बुवालाई सहयोग गर्दागर्दै उनी अहिले ‘उलन उद्योगी’ बनेका हुन् ।
गोकुलका बुवाले गुजाराका लागि सुरु गरेको सामान्य ऊनको पसललाई उनले उद्योग बनाए । ‘बुवाले ठमेलमा उलन पसल चलाउनु हुन्थ्यो । बुवालाई सहयोग गर्दै गर्दा सिप सिकेर यो क्षेत्रमै लागेँ’, राउतले भने ।
गोकुलका बुवा सुतजी राउतले सुरुवातमा सबैजसो उलनका सामान हातले मात्रै बनाएर बेच्थे । बिस्तारै गोकुलले मेसिनबाट समेत उलनका सामग्रीहरू उत्पादन गर्न थाले । त्यहाँ अहिले हात र मेसिन दुबैबाट उत्पादन भइरहेको छ ।
यसरी बुबाले हाते बुनाई र सिलाई मार्फत सानो पसलको रूपमा थालेको व्यवसायले गोकुलले उद्योगमा परिणत गरेका छन् । यो क्रममा अब उनको परिचय पनि पसलेबाट उद्योगी बनेको छ ।
पसलेबाट उद्योगीसम्मको यात्रा
गोकुल घरका एक्ला छोरा हुन् । बुवाको पसलमा सहयोग गर्दागर्दै उनी उद्योगीको परिचय बनाउन सफल भएका हुन् ।
‘पहिले मेरो बुवाले हातले बुनेका सामानहरूको पसल राख्नु भएको थियो । एउटा दुई वटा उत्पादन गर्दै त्यसलाई बिस्तारै उद्योग बनायौँ । एकै पटक लगानी गरेर उद्योग खोलेको होइन’, उनले भने ।
त्यसैले सुरुवाती लगानी यति नै भयो भन्ने यकिन छैन । तर, अहिलेको अवस्थामा भने उनको लगानी दुई करोड रुपैयाँ भन्दा बढी पुगिसकेको छ । यो उद्योगमा गरेको लगानी उनले बाहिरबाट ल्याएका होइनन् । यहीँ कमाएर यसमै लगानी गरेका हुन् ।
सन् २००५ मा उनले ब्रदर्स ह्याण्डीक्राफ्ट प्राली नाममा कम्पनी दर्ता गरे । तर, कम्पनी दर्ता गर्ने बित्तिकै उनले उत्पादन सुरु गर्न भने सकेनन् । तीन वर्ष पछि २००८ देखि भने उनले उत्पादन सुरु गरेका हुन् । हाल उनले क्वाबहाल ठमेलमा दुई वटा भवन भाडामा लिएर उद्योग सञ्चालन गर्दै आएका छन् ।
‘यो उद्योगलाई यहाँसम्म ल्याउनका लागि मेरो बुवादेखि नै सङ्घर्ष गरिएको हो। २८ वर्षअघि यो कामको थालनी मेरो बुवाले गर्नु भएको थियो । बुवाले सुरु गर्नु भएको पसललाई मैले उद्योग बनाएको हुँ’, उनले सुनाए ।
उद्यमी बन्ने अठोट
सँगैका साथीहरू धेरै बिदेसिए तर उनलाई भने विदेश जाने सोच आएन । उनलाई धेरै विदेशीहरूले समेत विदेश लैजाने कोसिस गरे । तर पनि उनमा त्यस तर्फ रुचि पलाएन ।
एक जापानीले त्यहाँ लगेर राम्रो काम लगाइदिन्छु भन्दा समेत उनी लोभिएनन् । उनलाई ती जापानीले विदेश लैजानका लागि दुई महिनासम्म भिसाको म्याद थप्दै फकाए । ‘बरु विदेशीलाई काम दिनेगरि नेपालमै उद्यम गर्छु भन्ने अठोटमा रहेँ।’, उनी सुनाउँछन् ।
ती जापानीले उनले त्यता जान नमान्दा गोकुल बुवा आमासँग समेत आग्रह गरेका थिए । तर, उनलाई कहिले पनि विदेश जाने सोच आएन ।
नेपाली उत्पादन विदेशमा निर्यात
अहिले उनको उद्योगमा टोपी, मोजा, स्विटर, ज्याकेट, पन्जा उत्पादन हुँदै आएका छन् । उनका उत्पादनको बजार नेपाल मात्र नभएर विश्वका विभिन्न देशहरूमा समेत छ । उनको उद्योगमा निर्मित ‘नेपाली उलन ह्याण्डीक्राफ्ट’ विदेशमा समेत चिनिएका छन् ।
उनले उत्पादन गरेका सामानहरू चीन, जापान, जर्मन, फ्रान्स, इटाली, स्पेन, अमेरिका, अस्ट्रेलियासम्म निर्यात गर्छन् । पछिल्लो समय चीनको तिब्बतबाट धेरै माग भएकोले माग धान्नै मुस्किल रहेको उनले बताए ।
नेपालमा पनि उनका विशेषगरि विदेशी ग्राहकहरू धेरै छन् । ‘नेपाली ग्राहकहरू पनि हुनुहुन्छ । नेपालमै हामी अन्य पसलेहरूलाई होलसेल मूल्यमा बिक्री गर्छौ । त्यसबाहेक हाम्रो उत्पादन नेपालमै खरिद गर्नेहरु पनि धेरैजसो विदेशीहरू छन्’, उनले सुनाए ।
पछिल्लो समय नेपाली ग्राहकहरू पनि बढ्दै गएको उनले बताए । उद्योगी राउत भन्छन्, ‘पहिले कतिपय नेपालीहरू नेपाली उत्पादन भन्ने बित्तिकै नाक खुम्च्याउने गर्नु हुन्थ्यो । तर, अहिले धेरैले नेपाली उत्पादन रुचाउनु हुन्छ । हाम्रो आफ्नो उत्पादन हो भनेर खरिद गर्नु हुन्छ ।’
उनका अनुसार उलनका सामाग्रीहरू लगाउँदा न्यानो हुने र अन्य कुराहरूमा पनि फाइदा गर्ने भएकोले ग्राहकहरूले रुचाएका छन् । नेपालीहरूले समेत यसमा रुचि राख्न थालेपछि अहिले असन, इन्द्रचोक, ठमेल, पोखरा, मुक्तिनाथ, दार्चुलाका होलसेल व्यापारीहरूले समेत उनका उत्पादन लगेर बिक्री गर्ने गरेका छन् ।
उद्योगको लगानी कृषि र गीतसङ्गीतमा
उद्योगीसँगै उनलाई कृषक पनि बन्ने सोच आयो । काभ्रेमा उनले तरकारी खेती समेत गरे । तरकारी खेतीका लागि गरिएको लगानी पनि उद्योगबाट नै कमाएका थिए । केही वर्ष उनले आफ्नै जग्गामा तरकारी खेती गरे । उनले धेरैजसो टमाटर उत्पादन गर्थे । दुई वर्षसम्म राम्रो व्यापार भयो । तर, बिस्तारै व्यापार घट्दै गयो ।
व्यापार घट्दै गर्दा उनी सरकारको शरणमा पनि पुगे । पुनः यही पेसामा उठ्नका लागि सरकारी अनुदान पाइन्छ की भनेर सरकारी निकायहरूमा धाए । तर, कतैबाट पनि सकारात्मक साथ पाएनन् ।
खेती नै नगरेकाहरूले अनुदान पाएको तर आफूले फर्म सञ्चालन गरेर तरकारी खेती गर्दा समेत सरकारी अनुदान नपाएको उनको गुनासो छ । ‘वास्तविक उद्यमीहरूलाई सरकारले चिन्दैन । मैले तरकारी खेती गर्दा म कृषक आफैँले कागजात पुर्याएर सरकारी निकायमा जाँदा समेत अनुदान पाइन । तर, खेती नै नगर्नेहरू, नक्कली डकुमेन्ट बनाउनेहरूले सहजै अनुदान पाए’, उनले भने ।
यसरी कृषि उद्यमी बन्न भने उनी सकेनन् । त्यसपछि फेरि उनले उद्योगमै कमाएको पैसा गीत सङ्गीतमा समेत लगानी गरे । ‘उद्योगमा कमाएको पैसा गीत सङ्गीतमा पनि लगानी गरेँ । आफैले केही गीतहरू पनि गाएँ । केही राम्रो चले, केही चलेनन्’, उनले भने ।
फेरि उनी सबै समय उद्योगमै खर्च गर्नेगरि पुरानै काममा फर्किए । उनले उद्योगमा कम समय दिएर गीतसङ्गीत र कृषि पेसामा लाग्दा उनको उद्योगको कमाइ खस्किएको थियो । यसमा पुनः स्थापित हुनका लागि उनले धेरै सङ्घर्ष गरे । आफ्नो उत्पादन कतिपय साथीहरूलाई लगाइदिएर प्रचार गरिदिन समेत आग्रह गरे । बिस्तारै उनको ‘न्यानो’बारे प्रचार भएकाले अहिले करोडौँको व्यापार गर्न आफू सफल भएको उनी सुनाउँछन् ।
गृहिणीलाई रोजगारी
उलन उद्योग सञ्चालन गरेर उनले गृहिणीहरूलाई समेत रोजगारी दिएका छन् । उनले बनेपा, भक्तपुर, ललितपुरका गृहिणीहरूलाई हातले टोपी, मोजा, स्विटरहरू बनाउनका लागि धागो दिन्छन् । उनले भक्तपुरका गृहिणीहरूलाई धागो दिन र उत्पादन गरेका सामान सङ्कलन गर्न त्यहीँ कोठा भाडामा लिएका छन् । त्यहाँबाट उनले धागो दिने र उत्पादित सामान लिने काम गर्छन् ।
‘घरको काम सकाएर फुर्सदको समयमा काम गर्न मिल्नेगरि मैले रोजगारी दिएको छु । उनीहरूले बनाएका सामान मैले परिश्रम अनुसार मूल्य तिरेर ल्याउँछु । उनीहरूले हातले बनाएको सामानहरूलाई अन्तिम रूप दिने काम उद्योगका कामदारहरूले गर्छन्’, उनले भने ।
त्यसरी रोजगारी पाएका गृहिणीहरू करिब पाँच सयको हाराहारीमा छन् । त्यसबाहेक उनले प्रत्यक्षरुपमा ठमेलको उद्योगमा २२ जनालाई रोजगारी दिएका छन् ।
गुणस्तरमा अब्बल, अत्याधिक माग
उनले उत्पादन गरेका उलन कपडा निकै नै गुणस्तरीय रहेको उनको दाबी छ । उनी भन्छन्, ‘उलनका उत्पादन गर्ने अरू पनि धेरै छन् । तर, मैले उत्पादन गरेका सामानहरू धेरै नै गुणस्तरीय छन् ।’ त्यसको प्रमाण पेश गर्दै त्यसै कारण बजारको समस्या नरहेको बताउँदै उनी अगाडी थप्छन्, ‘माग अनुसार मैले आपूर्ति गर्न नै सकेको छैन । एकदमै धेरै माग रहेको छ । मेरा उत्पादनको सामानहरूको बजारका लागि कुनै चिन्ता छैन ।’