दुई दशकअघि सर्लाहीको हरिवन नगरपालिका-४ का दुर्गाबहादुर भुजेल विदेशिए । स्वदेशमा रोजगारी नपाएपछि उनी विदेश जान बाध्य भएका थिए । रोजगारीका सिलसिलामा उनी १२ वर्ष भन्दा बढी समय बहराइन बसे ।
बहराइनमा उनी पाउडर कोटिङको काम गर्थे । तर, भुजेलको विदेश बसाइ सुखद् भने रहेन । कमाइ त राम्रो थियो तर विदेश गएको दुई वर्षमै मेसिनमा परेर उनको एउटा हात समेत भाँचियो । तथापि, उनी घर फर्किएनन् । पारिवारिक आर्थिक स्थिति सुधार्नका लागि उनले लामो समय विदेश मै पसिना बगाए ।
त्यसपछि भने उनी स्वदेशमै केही गर्ने अठोटका साथ नेपाल फर्किने निर्णय गरे । व्यवसाय गरेर आफ्नो पहिचान बनाउने उनको योजना परिपक्व नहुन्जेल परम्परागत खेतीपाती नै गरेर बिताए । गुजाराका लागि खेतीपाती गरिरहँदा उनलाई तरकारी खेती गर्ने सोच आयो । चार वर्ष तरकारी खेती गरे ।
तर, त्यसबाट उनी सन्तुष्ट हुन सकेनन् । केही उद्यम नै गर्नुपर्छ भन्ने लागेर उनले झोला उद्योग सञ्चालन गरे । विदेशमा कमाएको केही पैसा उनले झोला उद्योगमा लगानी गरे ।
‘विदेशमा पाएको दुख सम्झिदा कोहिपनि नेपाली विदेश जानु नपरोस् भन्ने लाग्छ ।’ आफ्ना १२ वर्षे दुखका दिन सम्झँदै उनी भन्छन् ।
विगत ६ वर्षदेखि गाउँमै दृष्णा ब्याग उद्योग सञ्चालन गरिरहेका छन्, दुर्गा बहादुर । ‘अहिले म झोला उद्योगसँगै बाँसको फर्निचर बनाउँछु, ब्याग उद्योगको आम्दानी पनि राम्रो छ ।’ उनले भने ।
पछिल्लो केही महिनायता उनी तालिम लिएर बाँसको फर्निचर बनाउन थालेका छन् । इनइलम हेल्भेटासले उनलाई बाँसबाट फर्निचर बनाउनका लागि तालिम दिएको थियो । सो तालिमपछि उनी बाँसका विभिन्न सामाग्रीहरू बनाउने गर्दै आएका छन् ।
आफ्नै गाउँघरमा प्रशस्त बाँस पाइने भएकोले आफू यसतर्फ पनि आकर्षित भएको उनले सुनाए । झोला उद्योग राम्रोसँग चलिरहेको बेला फेरि किन यस काममा लाग्नु भएको भन्ने प्रश्नमा भुजेल भन्छन्, ‘त्यो उद्योग पनि राम्रो नै चलेको छ । त्यहाँ कामदारहरू राखेको छु । आफ्नै गाउँघरमा पाइने बाँसको प्रयोगबाट फर्निचर बनाउन सकिने भएकोले यसतर्फ पनि लागेको हो ।’
झोला उद्योगमा उनले केहीलाई रोजगारी दिएका छन् । यो उद्योगसँगै उनले फर्निचर उद्योगमा पनि थप युवाहरूलाई रोजगारी दिने योजना रहेको सुनाए ।
आफूसँगै अरूलाई पनि सिकाउन सकेमा धेरैले रोजगारी पाउने बताउँदै उनले अगाडी भने, ‘काठको सामान भन्दा बाँसबाट बनेका सामानहरू केही फरक र आफ्नै गाउँ ठाउँका कच्चा पदार्थ प्रयोग गर्न सकिन्छ । यसबाट बनेका सामानहरू कमै मात्रामा पाइन्छन् । यो लोप हुन लागेको छ । यसलाई जोगर्ना गर्न सकियो भने आम्दानीसँगै स्वरोजगार पनि बन्न सकिने रहेछ।’
तालिमको समयमै उनले बनाएका फर्निचरका सामानहरू उत्कृष्ट भनेर धेरैले प्रशंसा गरेका थिए । त्यसपछि उनलाई यहि काम गर्न थप हौसला मिल्यो । ‘मैले यसको एक महिने तालिम लिएको थिएँ । त्यस बेला मैले बनाएका सामानहरू धेरैले मन पराइदिनु भएको थियो । यसबाट मलाई यो काम गर्न थप हौसला मिल्यो’, उनले भने ।
उनका अनुसार सर्लाहीमा प्रशस्त मात्रामा बाँसहरू पाइन्छन् । बाँसबाट टेबल, कुर्सी, मुढा, सोफा, घडी, सजावटका सामग्री, ऐना फ्रेम, फुल, कलम लगायतका सामानहरू उनले उत्पादन गर्छन्। उनले बनाएका यस्ता सामाग्रीहरूमा स्थानीय बाँसको प्रयोग गरिन्छ ।
उनले अहिले बाँसबाट बनेका सामाग्रीहरू स्वावलम्बन बजार व्यवस्थापन तथा रोजगार सिर्जना केन्द्रको स्वावलम्बन बाँस फर्निचर केन्द्रमा बिक्रीका लागि राख्ने गरेका छन् । केही समयपछि भने उनी उद्योग नै खोल्ने तयारीमा थालेका छन् । ‘यसको उद्योग नै खोल्ने तयारीमा छु । उद्योग सञ्चालन गर्ने आँटका साथ अगाडी बढेको छु । हेरौँ, कहाँसम्म यात्रा हुन्छ’, उनले भने ।
स्वावलम्बन बजार व्यवस्थापन तथा रोजगार सिर्जना केन्द्र पनि वैदिशिक रोजगारीबाट फर्किएर आएका युवाहरूले नै सञ्चालन गरेका हुन्। जुन वैदेशिक रोजगारबाट स्वदेशमै उद्यमशील बन्ने उत्साहका साथ फर्किएका युवाहरूद्वारा सञ्चालित संस्था हो । स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको उपयोग गरी सीप र उद्यमशीलता विकास मार्फत रोजगारी सिर्जना गर्ने कार्यमा यसले महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।
विदेशमा काम गर्दा खटिन समय र नेपालमा काम गर्दा खटिने समयको अन्तर धेरै नै रहेको उनले सुनाए । भुजेलले आर्थिक न्युजसँगको कुराकानीका क्रममा भने, ‘हामी नेपालीहरू विदेशमा धेरै खटिएर काम गर्छौ । तर, त्यति नै समय नेपालमा भने खटिँदैनौँ । विदेशमा त्यही काम गर्न १२ घण्टासम्म खट्छौँ भने यहाँ चार पाँच घण्टा पनि गर्दैनौँ ।’
विदेशमा दैनिक काम गर्ने समय नेपालमै खर्च गर्ने हो भने राम्रो हुने उनको अनुभव छ । नेपालमै केही गर्न चाहानेहरुलाई सरकारले वित्तीय सहयोग गर्नुपर्ने उनको माग छ । भुजेल भन्छन्, ‘नेपालमै केही गर्न चाहानेहरुका लागि सरकारले आर्थिक सहयोग गर्नु पर्छ । अनुदान नै चाहिन्छ भन्ने छैन । सुलभ ब्याजदरमा सिप पहिचान गरेर ऋण दिनु पर्छ ।’