शीर्षकहरू

‘पर्यटनमा नेपाल सुतिरहेकी सुन्दरी हो, ब्यूँझाउने प्रयास गरौं’

‘पर्यटनमा नेपाल सुतिरहेकी सुन्दरी हो, ब्यूँझाउने प्रयास गरौं’

नेपालमा अहिले पर्यटन क्षेत्र निकै राम्रो भयो, बढ्दै आयो भनेका छौं । तर हामीले कोरोना महामारीले थलिएको सन् २०१९ को तथ्यांकसँग तुलना गरिरहेका छौं । त्यसभन्दा अघि एकै वर्ष नेपालमा १० लाख पर्यटक आएका थिए । 

हामीले हाम्रो सम्भावना कति हो र यतिखेर कहाँ छौं भनी हेर्ने गरेका छैनौं । अहिले ग्याप टु गोलमा छौं । हाम्रो वार्षिक लक्ष्य त ५० लाख पर्यटक भित्र्याउने हो । अहिले हामीले जम्माजम्मी १० लाख पर्यटक भित्र्याउन सकेका छौं । तर सम्भावनाका हिसाबले नेपालमा वार्षिक ५० लाख पर्यटक आउनु पनि केही होइन । त्यसकारण हाम्रो नेपाल स्लिपिङ ब्युटी (सुतिरहेकी सुन्दरी)जस्तो भयो ।

नेपालमा पर्यटन बढाउन हामीले मार्केटिङ (बजारीकरण) नै गर्न सकेका छैनौं । निजी क्षेत्रले सीमित स्रोत साधनका भरमा गरिराखेका छौं । विदेशमा लाग्ने मेला र प्रदर्शनीहरूसम्म पुगेका छौं । तर राज्यले आवश्यक पहलकदमी लिइरहेको छैन । पर्यटन भनेको नेपालको मौलिकता हो । जलस्रोत, कृषि र पर्यटनमै हामी केन्द्रित हुनुपर्ने हो । यो क्षेत्रमा शतप्रतिशत मूल्य अभिवृद्धि हुन्छ ।

यसमध्ये पनि पर्यटनमा त यति सम्भावना छ किन सगरमाथाको फोटो हेरेरै हामीकहाँ वार्षिक कम्तिमा ३ लाख मानिस आउने गरेका छन् । ३० लाख पर्यटक नै आए पनि सगरमाथा त रहिरहन्छ । यो त आफूकहाँ भएको बस्तु देखाएर पैसा लिने हो । पर्याप्त बजारीकरण भयो भने हामीले त्यो गन्तव्यमा पुग्न धेरै मेहनत गर्नुपर्दैन । 

संसारलाई थाहा छ कि नेपालमा ह्वाइटवाटर र्‍याफ्टिङ, जंगल सफारीदेखि धार्मिक पर्यटकमा पशुपतिदेखि मुक्तिनाथ हुँदै लुम्बिनीसम्म आकर्षक गन्तव्य छन् । काठमाडौं उपत्यकाका तीनवटा दरबार क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाहरू अभूतपूर्व छन् । त्यसैले नेपालमा अद्वितीय सम्पदाहरू छन् । यी सम्पदाको व्यवस्थापनमा थोरै मात्रै काम गर्ने हो भने पनि हामी चाँडै नै वार्षिक ५० लाख पर्यटक भित्र्याउन सक्छौं ।

ध्वजावाहक निगमलाई सुधार गरौं

यति सम्भावना हुँदाहुँदै पनि हामीलाई पर्यटक भित्र्याउन विभिन्न समस्याहरू छन् । हाम्रो राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम निकै कमजोर भयो । अहिले हाम्रो नेपाल एअरलाइन्ससँग ४ वटा विमान छ भनिन्छ । तर त्यो भन्नेमात्रै भएको छ । किनकी खासमा एउटा त जहिले पनि थन्किएको सुनिरहेका हुन्छौं । राष्ट्रिय ध्वजावाहक विमान ३ वटामात्रै हुनु लाजमर्दो स्थिति हो ।

हामीसँग कम्तिमा ४० वटा विमान हुनुपर्छ । राष्ट्रिय ध्वजावाहकले संसारको जुनसुकै स्थानबाट यात्रु ल्याउन सक्छ । ट्रान्जिटको झण्झट हुँदैन । अहिले हामी जति पनि पर्यटक ल्याउँछौं : ती दुबई, कतार, टर्कीबाट यहाँ आइपुग्छन् । किनकी हामीले पर्यटकको देशसम्म नै सीधा उडान भर्न सकिरहेका छैनौं । त्यसकारण राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई हामीले जुनसुकै हालतमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता छ ।

कुनै पनि पर्यटक नेपाल भित्रिसकेपछि यहाँको सडक पूर्वाधारले पनि महत्वपूर्ण अर्थ राख्छ । काठमाडौं आएको पर्यटक पोखरा, लुम्बिनी या अन्य गन्तव्यमा जान चाहन्छ । अहिले काठमाडौंबाट पोखरा करिब २०० किलोमिटर यात्रा गर्न ८ घण्टा लाग्ने गरेको छ । यो बिडम्बना हो । पर्यटकले यस्तो झण्झट स्वीकार्नै सक्दैन । २०० किलोमिटरको यात्रा त विश्वभर नै करिब ३ घण्टामा पूरा गर्न सकिन्छ । त्यसकारण डोमेस्टिक कनेक्टिभिटीमा पनि ठूलो समस्या छ । यो समस्या हटाउन सक्दा पनि यहाँ पर्यटक ओइरिन्छन् ।

पर्यटकहरू नेपाल भित्रिइसकेपछि उनीहरूले निकै राम्रो महसुस गर्नुपर्छ । तर अहिले नेपालमा आएर विमान चढेर काठमाडौंबाट पोखरा जाँदा एउटा पर्यटकले आफू ठगिएको महसुस गर्छ । नेपालीले तीन हजार तिर्दा कुनै यूरोपेली पर्यटकले ८/९ हजार रुपैयाँ तिर्नुपर्छ । यो त विभेद हो, राम्रो सन्देश जाँदैन ।

नेपाल पर्यटन बोर्डसँग हामीले जति अपेक्षा राखेका छौं या सो निकायले जति काम गर्नुपर्ने हो : पर्यटन प्रचारप्रसारमा समेत ५ प्रतिशत पनि गरेका पाइँदैन । हामीले समन्वय गर्न खोज्दा कहिले कर्मचारी र हाकिम त कहिले बोर्ड र मन्त्रालयबीच तालमेल छैन भन्ने जवाफ आउँछ । कहिले मन्त्रीले नै तालमेल मिलाएन त कहिले यो र त्यो पार्टीको भन्ने जवाफ पाइन्छ । यस्तो लाग्छ कि हामी अनावश्यक भूमरीमा फसिराखेका छौं । काम भइरहेको छैन ।

पर्यटन पूर्वाधार भरपर्दो बनाऔं

हामीले अहिले पर्यटन पूर्वाधारमा अर्बौं रुपैयाँ लगानी गरिरहेका छौं । लगानीको भविष्य अन्धकार भन्दा पनि नयाँ सम्भावना उजागर नै गर्न सकिएन । अहिले त हामी १० लाख पर्यटकको कुरा गरिरहेका छौं, तर भोलि २०, ३०, ४० लाख मानिस आउँदा उनीहरूलाई पनि सन्तुष्ट पार्नुपर्ने सवाल महत्वपूर्ण हो ।

नेपालमा लगानी गर्न मानिसहरू तयार छन् । अरू व्यापार/व्यवसाय गरेको मानिस पनि यता मोडिएलान् । विदेशी लगानी पनि आउला । त्यसैले नेपालको पर्यटन पूर्वाधारमा अझै धेरै लगानी आवश्यक छ । पर्यटक क्रमिक रूपमा बढ्दै जाने हो भने लगानीको कुनै पनि समस्या देखिँदैन ।

पर्यटन पूर्वाधार भनेको होटलमात्रै होइन भन्ने पनि हामीले बुझ्नुपर्छ । पर्यटन पूर्वाधार सुधार्ने हो भने सबैभन्दा पहिले विमानस्थलमै रहेको ठूलो बाधा हटाउनुपर्छ । आन्तरिक उडान एक/डेढ घण्टा ढिलो हुनुलाई हामी ढिलो नै मान्दैनौं । अन्तरराष्ट्रिय उडान पनि विभिन्न कारणले त्यति समय स्वाभाविक रुपमै डिले भएको हुन्छ । त्यसैले पर्यटन पूर्वाधार भनेको कुनै पनि पर्यटक विमानस्थलदेखि आफू बस्ने होटलसम्म कति समयमा पुग्छ ? पर्यटकीय गन्तव्यसम्मको दूरी कति छ र कति समयमा पुग्छ भन्ने मुख्य मामिला हो । त्यो पूर्वाधारको गुणस्तर कस्तो छ ? यी सबै पक्ष हेरिन्छ । 

त्यसकारण यी पूर्वाधारहरू सुधार गर्न अत्यन्तै आवश्यक छ । काठमाडौंमा अहिले जुन ढंगले शहरीकरण बढ्यो, सवारीसाधनको संख्या बढेको छ : यसले काठमाडौंको सडकमा औषत सवारी गति प्रतिघण्टा १० किलोमिटर पनि छैन । १० किलोमिटर सडक छिचोल्न एकघण्टासम्म लाग्छ । अहिले जुन ढंगले शहरीकरण र काठमाडौंका सडकमा ट्राफिक (सवारीसाधन) बढ्दैछ : आउने समयमा अझै जटिल हुँदै जाने देखिन्छ ।

मैले सुनेअनुसार थाइल्याण्डमा सन् १९८० को दशकमा ट्राफिकको ठूलो समस्या निम्तियो । शहरबाट होटल जाँदा ३/४ घण्टासम्म जाममा बस्नुपर्ने अवस्था आयो । समयमै विमानस्थल पुग्न नसक्दा पर्यटकको विमान नै छुट्नेजस्ता समस्याले आजित बनायो । यो समस्याको मुख्य कारण ट्राफिक जाम नै थियो । ट्राफिक जामकै कारण मानिस थाइल्याण्ड जान छाडे । पछि त्यहाँका राजाले नै विशेष चासो दिएर एअरपोर्टदेखि शहरसम्म एक्सप्रेस–वे बनाउन लगाए । त्यो पूर्वाधार बनेपछि पर्यटक तोकिएको समयमै गन्तव्यमा पुग्न सक्ने भए । त्यसपछि मात्र थाइल्याण्डमा पर्यटन जोगियो । त्यसैले सडक नै पर्यटन पूर्वाधारको मूल मेरुदण्ड हो, यसमा सुधार गर्नैपर्छ । यस्तो पूर्वाधारबारे राज्यले तुरुन्तै कुनै न कुनै वैकल्पिक उपाय सोच्नैपर्छ । 

होटलले मार्केटिङमा पनि लगानी गरुन्

काठमाडौंमा पछिल्लो समय चार र पाँचतारे गरी करिब ८ वटा होटल बनिरहेका छन् । दुई वर्षभित्र यी होटल तयार भइसक्छन् । नेपालजस्तो पर्यटन सम्भावना भएको मुलुकमा ५/७ वटा तारे होटल थपिनु कुनै ठूलो उपलब्धि होइन । त्यसैले होटल संख्या थपिँदा लगानी या पर्यटनमा कुनै समस्या आउँदैन । डोमेस्टिक रुट कनेक्टीभिटी राम्रो र हाम्रो ध्वजावाहक विमानसेवा बलियो भयो भने यी होटल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन कुनै चुनौति छैन ।

सामान्यतयाः नेपालको चारे होटलहरू अन्तरराष्ट्रिय मापदण्डको हिसाबले राम्रै छन् । अन्तरराष्ट्रियस्तरकै सुविधा दिइरहेका छौं । तर, नेपाल पर्यटन बोर्डले यसमा निकै चासो राख्नुपर्छ । किनकी, कसैले २ या ३ तारे होटललाई पाँचतारेको रेटिङ गरायो भने समस्या हुन्छ । पर्यटकले पाँचतारे होटल भनी बुक गर्दा सुविधा चाहिँ दुई या तीनतारे स्तरको मात्रै पाउन सक्यो भने नेपालको पर्यटन क्षेत्रकै बदनामी हुन्छ । यसले सिंगो देश नै बदनाम हुन्छ । यसमा सरकार सचेत हुनुपर्छ । 

पछिल्लो समय नयाँ होटलमा पर्यटक बढेको, तर पुराना होटलहरूमा निकै कम अकुपेन्सी रहेको सुनिन्छ । यहाँनेर पुराना होटलहरूमै समस्या छ । ती होटललाई जुन ढंगले अपडेट गर्नुपर्ने हो : त्यो समयमै गर्न सकिएन । अहिले धेरै व्यवसायीहरूले स्तरोन्नती गर्दै हुनुहुन्छ । नयाँ होटल आएपछि उसले आफ्नो व्यवसाय बढाउन थप मेहनत र मार्केटिङ गर्छ । हामीले नयाँ होटल खोल्यौं, ब्याजको ठूलो दायित्व छ । पर्यटक भित्र्याउन हामीले धेरै मेहनत गरेका छौं । अर्को चाहिँ नयाँ होटलमा नयाँ प्रविधि र अद्यावधिक सुविधा हुन्छ । पर्यटकहरू पनि प्रविधि र सुविधा भएकै होटलमा आकर्षित हुन्छन् ।

नेपाल सस्तो होइन, उत्कृष्ट गन्तव्य !

नेपाल अहिले पनि तुलनात्मक रूपमा सस्तो गन्तव्य हो । हामीले हरेक स्तरका पर्यटकलाई सेवा दिनुपर्छ । तर नेपाललाई सस्तो गन्तव्यको जुन ट्याग लागेको छ : त्यो हटाउनुपर्छ । मेरियट होटल एउटा उदाहरण हो । हामीले नेपाल सस्तो गन्तव्य होइन भन्ने एउटा बेञ्चमार्क नै सेट गरेका छौं । यो सस्तो होइन कि राम्रो गन्तव्य हो भन्ने सन्देश दिन सफल भएका छौं । 

पर्यटकलाई नै हामीले नेपाल सस्तो नभई राम्रो गन्तव्य हो भन्न सक्नुपर्छ । हामी उत्कृष्ट गन्तव्य हौं भन्ने सन्देश प्रचारप्रसारबाटै दिनुपर्छ । अहिले भारत र चीनमा पनि अर्बपति र खर्बपतिको कमी छैन । उनीहरू पनि यूरोपेली या अमेरिकीहरू जत्तिकै रकम खर्च गर्न सक्ने भएका छन् । उनीकहाँ यति धेरै जनसंख्या छ कि त्यहाँका एक प्रतिशतमात्रै सम्भ्रान्त मानिसहरू यहाँ आए भने हामीकहाँ अहिले राख्ने ठाउँ हुँदैन । नेपालको पर्यटकीय गन्तव्यमा सबैको चासो छ ।

पर्यटक आउनुपर्ने धेरै कारण छन्

नेपालमा पर्यटक आउन थुप्रै आधार छन् । सबैभन्दा पहिले त पर्यटकलाई चाहिने वातावरण (मौसम) छ । सुरक्षाका दृष्ट्रिले पनि नेपाल निकै शान्त मुलुक छ । नेपाली नागरिकले पर्यटकलाई हँसिलो अनुहारले स्वागत गर्न सक्छन् । त्यसैले पर्यटकहरू सबैभन्दा बढी त यहाँका हसिँला मानिसहरूकै कारण निकै खुशी भएर जान्छन् ।

पर्यटकलाई जे इच्छा छ, सोहीअनुसारको पर्यटन हामी गराउन सक्छौं । कसैलाई साहसिक पर्यटनमा रुचि छ भने त्यसका लागि नेपाल तयार छ । ट्रेकिङ गर्नेका लागि रुटहरू छन् । माउन्टेनियरिङदेखि र्‍याफ्टिङसम्मका सुविधा छन् । 

बैठक, सम्मेलन र प्रदर्शनीकेन्द्रित माइस टुरिजममा हामीले खासै काम गर्न सकेका छैनौं । यसमा पहिलो त मार्केटिङकै अभाव हो । यस्तो पर्यटन विकास गर्न ठूला ठूला प्रदर्शनी कक्ष र हलहरू आवश्यक पर्छ । त्यस्ता पूर्वाधार हामीकहाँ अझैसम्म व्यवस्था हुन सकेको छैन । राज्यले गोदावरीमा एउटा हल बनाएको भन्ने सुनिन्छ, तर त्यसको स्तर निकै दयनीय रहेको सुनिन्छ । त्यसकारण त्यस्ता ठूला ठूला सम्मेलनहरू बनाउनुपर्छ ।