घोराही उप-महानगरपालिका-१४, दाङकी प्रेम कुमारी पुनको परिचय फेरिएको २१ वर्ष भयो । त्यसअघि उनि शिक्षिका थिइन्, पाल्पाको एक विद्यालयमा ।
अहिले हेम्प र अल्लोबाट हस्तकलाका उत्पादकको परिचयमा उनि रमाइरहेकी छिन् । हेम्प र अल्लोबाट कपडा, जुत्ता, झोला, हाते पर्स, टोपी, कोट, इस्टकोट, ह्याट, कम्मरपेटी, चाबी झुण्डाउने, नाम्लो, दाम्लो इत्यादी बनाउँछिन्, प्रेम कुमारी।
सुराकीको आरोपपछी बदलेको बाटो
प्रेम कुमारी पेशाले शिक्षिका थिईन्, २१ वर्ष अघिसम्म। तर, द्धन्द्धकालमा उनी पाल्पाबाट विस्थापित भएर दाङ झर्नु पर्यो । हाल दाङमा उद्यमीको परिचय बनाएकी उनले भनिन्, ‘म पेशाले शिक्षिका थिए । द्धन्द्धकालको समयमा त्यहाँबाट विस्थापित भएर पेशालाई नै छाडेर दाङ आउन बाध्य भएँ ।’
उनलाई द्धन्द्धकालमा माओवादीहरुकाे सुराकी गरेको आरोप लाग्याे । शिक्षण पेशामा भएकाले उनी सदरमुकाम जानु आउनु पर्थ्यो। त्यसरी आवतजावत गरिरहँदा उनलाई नेपाली सेनाले माओवादीकाे सुराकी भनेर हरेक दिन पक्रने, अपहरण गरेर लैजाने, दुख दिने र छाड्ने गर्न थाले ।
उनलाई त्यहाँ बस्न नै समस्या भयो । त्यसपछि त्यहाँबाट दाङ झर्न बाध्य भईन् । पाल्पामा रहेको सबै सम्पति छोडेर ज्यान जोगाउन परिवार लिएर खाली हात दाङ त झरिन् तर उनलाई अब के गर्ने भन्ने चिन्ता बढ्न थाल्यो । गुजारा चलाउनकै लागि सिलाइकटाइ शुरु गरिन् । तर, त्यसबाट भनेजस्तो आम्दानी भएन । परिवारको हातमुख जोड्न सक्ने अवस्था बनेन ।
त्यसपछि उनले आमाबाट सिकेको सिपलाई व्यवसायमा ढालेर गुजारा चलाउने निर्णय गरिन् । प्रेम कुमारी भन्छिन्, ‘दाङ झरेपछि के गर्ने गर्ने भन्ने भयो । साँझ के खाने, के लगाउने भन्ने चिन्ताले सिलाइकटाइ गरे, त्यसबाट आम्दानी भएन । अनि आमाले सिकाएको सिपबाट हेम्प र अल्लोबाट हस्तकलाका सामान बनाउन थाले ।’
प्रेम निशा तयारी पोशाक उद्योग भनेर व्यवसाय दर्ता गरिन् । व्यवसाय शुरु गर्दा आफ्नो जागिर अवधिको सञ्चय कोष र उपदानमा रहेको पैसा लगानी गरिन् । जुन उद्योग अहिले दाङको घोराही नयाँ बजार तीनकुने चोकमा रहेको छ ।
आमाको दिक्षा बन्यो आपतमा जिउने आधार
रोल्पामा जन्मिएका उनी हस्तकला सामान बनाउने काम सानैदेखि गर्थिन । यस्ता सामाग्री बनाउन उनले आमाबाट नै सिकेकी हुन् । ‘यो हाम्रो परम्परागत काम नै हो भन्नु पर्छ । आमाहरुले सिकाएको सिप हो, यो । हेम्प र अल्लोको सामान हामीले सानैदेखि बनाउने, आफै लगाउने गर्थ्यौं’, उनले सुनाईन् ।
उनका अनुसार पाल्पालीहरुले पहिले यस्ता सामानहरु घरायसी प्रयोगका लागि आफैं बनाउने गर्थे । तर, विस्तारै त्यो सिप लोप हुँदै गयो । त्यसलाई जोगेर्ना गर्ने काममा उनी लागिन्।
सुरुवातमा यो व्यवसाय गर्दा उनलाई धेरैले यस्तो काम के गरेको भनेर गिज्याउने गर्थे । यस्तो सामान के हो भन्दै उनले बनाएका सामानहरु बिक्री केन्द्रबाट बाहिर फालिदिने समेत गर्थे । तर, उनको हिम्मत भने हारेन । एकदिन अवश्य सफल हुन्छु भनेर लागिरहिन् ।
‘यस्तो काम गर्ने भए रोल्पा नै फर्केर गए भइहाल्यो नि । यो सहर बजारमा यस्तो के काम भनेर धेरैले भन्नु हुन्थ्यो । मैले बनाएका सामानहरु ब्रिकीका लागि राखेकै ठाउँबाट फालिदिने गरेका थिए । कति के के भोगियो भोगियो नि’ उनले भोगाई सुनाईन् ।
फेरियो नियति
ती दिनबाट आजसम्म आइपुग्दा उनको व्यवसायमा कायपलट नै भएको छ । अहिले स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्छ भनेर प्रोत्साहन दिँदै किन्नेहरु बढेको उनी सुनाउँछिन् । उनि स्वदेशी कच्चा पदार्थ नै प्रयोग गरेर विभिन्न सामानहरु बनाउने गर्छिन ।
उनले उत्पादन गरेका सामानहरु बिक्रीका लागि काठमाडौं, नेपालगञ्ज लगायत विभिन्न ठाउँमा राखिएको छ । नेपाली कच्चा पदार्थको प्रयोग गरेर नेपाली उत्पादनलाई प्रर्वद्धन गरेकोमा उनले थुप्रै ठाउँबाट सम्मान पाएकी छिन् ।
२०७२ सालअघि उनले गलैचा, धागोहरु समेत बनाउने गर्थिन । त्यसबेला उनले ७२ जना प्रत्यक्ष र १६ सय भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी समेत दिएकी थिईन् । तर, भुकम्पले धेरै क्षति गरेपछि भने उनले गलैँचा र धागो उत्पादन गर्न छाड्नि । त्यसपछि उनले तयारी पोशाक मात्रै बनाउने थालिन् । अहिले पनि उनले ३५ जनालाइ प्रत्यक्ष र चार सयको हाराहारीमा अप्रत्यक्ष रोजगारी दिएकी छिन् ।
हेम्प र अल्लोबाट हस्तकलाका सामान बनाएर नै उनले वार्षिक ६० लाखको हाराहारीमा व्यापार गर्छिन् । उनले बनाएका सामानहरु देशभर पुगेका छन् । विदेश भने निर्यात गर्ने गरेकी छैनन् । तर, चाडै नै विदेशमा पनि निर्यात गर्ने उनको तयारी छ ।
नेपाल घुम्न आएका विदेशीहरुले समेत उनका उत्पादनहरु किन्ने गरेका छन् । अल्लोबाट भन्दा पनि हेम्पबाट बनेका उत्पादनहरु धेरैले रुचाउने गरेको उनले सुनाईन् । पुन भन्छिन्, ‘विदेशीहरुले अल्लोका सामान भन्दा हेम्पबाट बनेका सामानहरु मन पराउने गरेका छन् । हेम्प के हो भनेर उनीहरुले थाहा पाएका हुन्छन् । यसबाट बनेका सामानहरु बलियो पनि छन् । त्यहि भएर पनि होला धेरैले मन पराएका छन् ।’
झोलेलाई अनुदान, उद्यमी अभावमा
यस्ता सामानहरु बनाउनका लागि उनीसंग ठूला मेसिन छैनन । उनले बनाएका सबै सामानहरु हातले बनाएका हुन् । ‘अल्लो धागो काट्ने मेसिन हामीसंग छैन । यसको लागि करोडौं पैसा आवश्यक छ । यो मेसिन खरिदका लागि सरकारले सहयोग गरिदिने हो भने अहिले बजारमा पाइने कपडाहरु जस्तै हेम्प र अल्लोकै कपडा बन्छ’, उनले भनिन् ।
दुई दशकदेखि उद्यमी बनेर काम गरिरहेकी उनले सरकारबाट खासै सहयोग नपाएको गुनासो गरिन् । ‘सरकारबाट सहि काम गर्नेहरुलाई खासै सहयोग छैन । धेरैजसो उद्योग दर्ता गरेर झोलामा बोकेर हिडेकाहरु जसको पहुँच छ उसले सरकारको सहयोग पाउने गरेका छन् । सहि काम गर्नेहरुलाई भने सरकारले हेर्दैन’, उनको ठम्याई छ।
सरकारले सहयोग गरेका ‘झोले उद्योग’हरु भने सरकारबाट सहयोग अनुदान लिएर, खाएर, हराएर गइसकेको उनले सुनाईन् । नेपाली कच्चा पदार्थलाई प्रयोग गरे नेपाल मै उत्पादन गर्ने उद्यमीहरुलाई सरकारले संरक्षण गर्नु पर्नेमा उनि जोड दिन्छिन् ।
सरकारको सहयोग नपाएपनि अहिले उनको यस उद्योगमा अन्य महिला लगानीकर्ताहरु थपिएका छन् । जसको नाम ‘अल्लो तथा हेम्प महिला उद्यमी समूह’ भनेर दिइएको छ । नयाँ समूहपछि यस उद्योगले नयाँ गति लिने उनको विश्वास छ ।