शीर्षकहरू

बाँडफाँट भएको करिब ५ वर्षपछि त्रिशुली जलविद्युतको शेयर कारोबार शुरु

बाँडफाँट भएको करिब ५ वर्षपछि त्रिशुली जलविद्युतको शेयर कारोबार शुरु

काठमाडौं । २०७५ साल साल चैत १४ गते सर्वसाधारणका लागि आईपीओ बाँडफाँट गरेको त्रिशुली जलविद्युत कम्पनीको शेयर कारोबार मङ्सिर २१ गतेदेखि सुरू भएको छ । सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको करिब ५ वर्ष वर्षपछि कम्पनीको शेयर कारोबार सुरु भएको हो ।

कम्पनीले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सर्वसाधारणमा २०७५ साल चैत ७ गतेदेखि ११ गतेसम्म आईपीओ विक्री गरेको थियो । कम्पनीले त्यस समयमा १ लाख ५४ हजार ५५९ जना सर्वसाधारणमा आईपओि बाँडफाँट गरेको हो । 

त्यस समय सर्वसाधारणबाट आईपीओ वापतको १० प्रतिशेयर रकम मात्र असुल गरेको कम्पनीले बाँकी ९० प्रतिशत रकम २०७९ असोज ४ देखिदेखि संकलन गरेको थियो । कम्पनीले बाँकी रकम संकलनका लागि कार्तिक १७ गतेसम्मको मिति तय गरेपनि सो अवधिसम्म माग बमोजिम आवेदन नपरेपछि २०७९ साल मङ्सिर १८ गतेदेखि फागुन १७ गतेसम्मको तीन महिनाको अवधि थप गरेको थियो । 

कम्पनीले १० प्रतिशत रकम संकलन गरी त्यसबाट आर्जित भएको ८ प्रतिशत ब्याज रकम घटाएर प्रतिकित्ता ८७ रूपैयाँका दरले रकम संकलन गरेको थियो । सो समयमा करिब ७ करोड रूपैयाँ मात्र रकम संकलन भएको जानकारी कम्पनीले दिएको छ ।

बाँकी रकम संकलनमा ढिलाई हुँदा कम्पनीको धितोपत्र सूचीकरणमा समेत ढिलाई भएको बताईएको छ । कम्पनीले मङ्सिर १२ गते संस्थापक तर्फको समेत गरी कुल १ करोड ८५ लाख २५ हजार कित्ता शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गरेको थियो । सर्वसाधारणतर्फ कर्मचारी समेतमा वितरण भएको ३७ लाख ५ हजार कित्ता र संस्थापक तर्फ कायम रहेको १ करोड ४८ लाख २० हजार कित्ता समेत शेयर कम्पनीले दोस्रो बजारमा सूचीकृत गराएको हो । 

स्टक संकेतबाट सूचीकृत भएको कम्पनीको आठ दिनपछि कारोबार सुरु भएको हो । पहिलो कारोबार दिनमै कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ । नेप्सेले पहिलो कारोबारका लागि ८९ रूपैयाँदेखि २६८ रूपैयाँ १४ पैसासम्मको मूल्य रेञ्ज तोकेको थियो । कम्पनीको पहिलो शेयर कारोबार अधिकतम मूल्यरेञ्जमै भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जानकारी दिएको हो । 

नेप्सेका अनुसार कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २६८ रूपैयाँमा भएको छ । पहिलो दिनमै लगानीकर्ताको माग बढेसँगै कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर प्रतिकित्ता २९४ रूपैयाँ ८० पैसा कायम भएको छ । पहिलो कारोबार दिन कम्पनीको ५८ लाख ६५ हजार २४१ रूपैयाँ बराबरको १९ हजार ९०४ कित्ता शेयर कारोबार भएको छ । 

कम्पनीले रसुवा र नुवाकोटको सिमानामा ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याज बाहेक ७ अर्ब ४४ करोड ५६ लाख रुपैयाँभन्दा बढी रहेको छ । आगामी एक वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य लिएको यस आयोजनाको हालसम्म ७० प्रतिशत काम सम्पन्न भैसकेको जानकारी कम्पनीले दिएको छ ।