शीर्षकहरू

सुन तस्करीमा गृहमन्त्री श्रेष्ठको रेकर्ड, स्रोतको दाबी : विमानस्थलमा माओवादी कर्मचारीको सेट

सुन तस्करीमा गृहमन्त्री श्रेष्ठको रेकर्ड, स्रोतको दाबी : विमानस्थलमा माओवादी कर्मचारीको सेट

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकालमा नेपालमा रेकर्ड तोडिनेगरी सुन तस्करी भइरहेको देखिएको छ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष श्रेष्ठले गत पुस ११ गते गृहमन्त्रीको पदभार ग्रहण गरेका थिए ।

श्रेष्ठले उपप्रधान तथा गृहमन्त्री पद सम्हालेको यो एक वर्ष अवधिमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, त्यस वरपरका क्षेत्र, उत्तरी सीमा क्षेत्र र काठमाडौंकै केन्द्रमा तस्करीको सुन छ्याप्छ्याप्ती भेटिएको छ । भरियाको भारीदेखि सुनचाँदी व्यवसायीको गहना पसलसम्म तस्करीको सुनले भरिएको प्रहरी कारबाहीमा पुष्टि भइसकेको छ । सुन तस्करी प्रकरणमै माओवादी उपाध्यक्ष कृष्णबहादुर महरापुत्र राहुल महरा कारागारमा छन् ।

सेटिङ नमिलेकै कारण किलोका किलो सुन बरामद भइरहँदा यो भन्दा सयौं गुणा धेरै सुन प्रशासनकै संरक्षणमा ओसारपसार भइरहेको सुनचाँदी व्यवसायीहरू बताउँछन् । सुन तस्कर समूहसँग केही सुनचाँदी व्यवसायीहरूले निकट सम्बन्ध राख्ने गर्छन् ।

बिहीबार पक्राउ परेका भरिया गृहमन्त्रीकै गृह जिल्लाका

दुबईबाट बिहीबार राति १४ किलो सुन बोकेर आएका चन्द्र घले पक्राउ परे । प्लेट बनाएर भेस्टमा राखी सुन ल्याएका घले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्र र गृहमन्त्रीको गृहजिल्ला गोरखा–२ का बासिन्दा हुन् ।

घलेले जसरी सुन भित्राउने प्रयास गरे त्यो आफैँमा एक प्रश्न बनेको छ । शरीरमा नै सुन बोकेर सुरक्षा जाँच पार गरिन्छ भन्ने कल्पना त्यसै आएको होइन । पार गराउने आश्वासन बिना त्यत्रो सुन बोकेर कोही पनि विमानस्थलमा अवतरण गर्दैन । त्यसैले घलेलाई सुन ल्याउन भित्रैबाट आड भरोसा थियो भन्ने सहज अनुमान लगाउन सकिन्छ । 

सुन ल्याउन लगाएका भनिएका धुम्बाराहीमा पक्राउ परेका मीन घले पनि गोरखाकै हुन् । यी दुबैको स्थायी ठेगाना गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका भएको प्रहरीले जनाएको छ । चितवनमा निर्वाचन हार्ने स्थिति बनेपछि माओवादी अध्यक्ष दाहाल अचानक माओवादी प्रभुत्व भएको गोरखा–२ मा उक्लिएका थिए । दाहाल सो क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

‘विमानस्थलमा कार्यकर्ता कर्मचारीको सेट’

त्रिभुवन अन्तरराष्ट्रिय भन्सार कार्यालय स्रोतका अनुसार सत्तासीन माओवादी केन्द्रले त्यहाँ निकै अघिदेखि आफूनिकट कर्मचारीको सेट नै परिचालन गरेको छ । पार्टीनिकट यही कर्मचारी सेटको सहयोगमा विमानस्थलमा अवैध धन्दा हुने गरेको स्रोत बताउँछ ।

‘विमानस्थलमा प्रधानमन्त्रीको गृहजिल्ला चितवन र गृहमन्त्रीको गृहजिल्ला गोरखाका कर्मचारी कति छन्, खोजे हुन्छ । ती मध्ये अधिकांश कर्मचारी अवैध धन्दा सञ्चालन गर्नकै लागि विमानस्थलमा पुर्‍याइएको छ । गृहमन्त्रीको जिल्लाबाट त गाउँपालिकाका कर्मचारीलाई सोझै विमानस्थलमा पुर्‍याइएको छ ।’

पूर्वगृहमन्त्री कृष्णबहादुर महरा र जनार्दन शर्माको गृहजिल्ला रुकुम, रोल्पा र दाङका केही कर्मचारी पनि विमानस्थलमा खटाइएको नेपाल नागरिक उड्ययन प्राधिकरणस्रोतले जानकारी दियो । यसअघि गत पुस १० गते दुबईबाट विद्युतीय चुरोट (भेप) मा खापेर ल्याइएको करिब १० किलोग्राम सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष महरा र उनका पुत्रले भन्सार कार्यालयलाई सामान छुटाउन दबाब दिएका थिए । त्यसरी सामान नछुटेपछि सुरक्षा गार्ड र कर्मचारीको प्रयोग गरी ९ किलो सुन विमानस्थलबाट बाहिर पुर्‍याइएको थियो ।

माओवादीको अकन्टक सत्तामा झण्डै टन सुन बरामद

वि.सं. २०७२ असोज २५ यता माओवादी निरन्तर सत्तामा छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा पनि माओवादीले आफ्ना मन्त्री सरकारमै राखेर सडक आन्दोलन गरेको छ । हाल सत्ताको नेतृत्व नै माओवादी केन्द्रले गरिरहेको छ ।

यसरी झण्डै दशकदेखि सत्ता सम्हालिरहँदा माओवादी शासनकालमै करिब एक टन सुन बरामद भइसकेको छ । यसरी सुन पक्राउ पर्दा भरिया थुनिने र तस्कर गिरोहका नाइके पक्राउ नपर्ने प्रवृत्ति बढ्दो छ । भेपमा सुन तस्करी प्रकरणमा पर्याप्त प्रमाण जुट्दाजुट्दै पनि माओवादी नेता कृष्णबहादुर महराले माओवादी सत्तामा रहेकै कारण लगभग उन्मुक्ति पाइसकेका छन् । उनका पुत्र राहुल महरालाई छुटाउन पनि माओवादीले भरमग्दुर प्रयास गरिरहेको गृह प्रशासनका अधिकारीहरू बताउँछन् ।

विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरूण पोखरेलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई महरा बाबुछोराले सुन भरिएको भेप छुटाउन अस्वाभाविक दबाब दिएको बयान दिएका थिए । सोही सुन तस्करी प्रकरणमा महरापुत्र राहुल पुर्पक्षका लागि थुनामा परेका हुन् ।

आयोग गठन

विमानस्थलमा कुनै डर बिनै ल्याइएको १४ किलो सुन बरामद भएपछि भन्सार विभागले ६ सदस्यीय टोली छानबिन समिति गठन गरेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा गठित समितिमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी समेत रहेका छन्‌ ।

त्यसैगरी भन्सार अधिकृतहरू डिल्लुप्रसाद शर्मा, प्रकाश निरौला, मञ्‍जु थापा र लोकराज ढुंगाना समेत सो समितिमा आवद्ध छन्‌ । पत्रकार सम्मेलन आयोजना गर्दै भन्सार कार्यालयले सुन तस्करी छानबिन गर्न समिति बनाइएको जानकारी दिएको हो ।

नारायणकाजी गृहमन्त्री भएयता सुन बरामद भएका केही घटना :

२०७९ पुस १० : १० किलो (विद्युतीय भेपमा खापेर ल्याइएको)
२०७९ माघ १९ : ९.१३ किलो (क्यानेडियन नागरिक मोहम्मद कमल महगोब पक्राउ)
२०८० असार १० : २ किलो (रुपन्देही बयरघाटबाट बरामद)
२०८० असार ३० : ६०.७ किलो (सिनामंगलबाट बरामद, ब्रेक सुमा राखेर ल्याइएको ।)
२०८० भदौ ३ : २ केजी (चेष्ट गार्डमा लुकाएर ल्याउँदा रसुवामा बरामद)
२०८० असोज १३ : २.७ केजी (तरल सुन बरामद)
२०७९ मङ्सिरदेखि २०८० कात्तिक ८ सम्म : ३३ किलो (दोलखाको फलाक नाका हुँदै तस्करी गरिएको, ११ किलो बरामद)
२०८० मंसिर १९ : ७.१८ किलो (सुन गाल्ने मेसिनसहित बरामद)
२०८० मंसिर २१ : १४ किलो (त्रिभुवन विमानस्थलबाट बरामद ।)