शीर्षकहरू

मौद्रिक नीति समीक्षा: शेयर लगानीकर्ता उत्साहित, घरजग्गा कारोबारी निराश

मौद्रिक नीति समीक्षा: शेयर लगानीकर्ता उत्साहित, घरजग्गा कारोबारी निराश

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षा माथि निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ । घरजग्गा र शेयर बजार कारोबारलाई चलायमान बनाउन विशेष नीति लिएको भनिएको समीक्षाले घर जग्गा व्यवसायीलाई भने निराश बनाएको छ । 

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले महानगर भित्र ५० लाखको कर्जाले केही नगर्ने भन्दै नीतिको समीक्षाले थप निराश बनाएको प्रतिक्रिया दिएका छन् । आर्थिकन्युजसँग कुरा गर्दै उनले भने, “हामीले बारम्बार घरजग्गा कर्जाको सीमा कुल सम्पत्तिको मूल्याङ्कनको ७० प्रतिशत हुनुपर्ने माग गर्दै आएका थियौँ । तर त्यो सम्बोधन भएन ।” उनले असन्तुष्टि पोख्दै अगाडी थपे, ” ऋणको भारलाई केही घटाउँदैमा रियल स्टेट व्यवसायमा कुनै परिवर्तन आउनेवाला छैन ।” 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले शेयर कर्जाको व्यवस्थालाई खुकुलो बनाएको छ । राष्ट्र बैंकले पछिल्लो आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई थप लचिलो बनाएको जनाएको हो ।   

‘आन्तरिक आर्थिक अवस्थालाई दृष्टिगत गरी चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई लचिलो बनाई कार्यान्वयनमा ल्याइएको छ । त्यसैगरी, पहिलो आवासीय घर कर्जाको सीमा वृद्धि गर्नुको साथै शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थालाई खुकुलो बनाई कार्यान्वयनमा ल्याइएको छ । साथै, शेयर धितो कर्जाका विद्यमान सीमाहरूलाई पनि वृद्धि गरिएको छ । उपर्युक्त नीतिगत व्यवस्थापश्चात् कर्जा प्रवाहमा वृद्धि हुन थालेको देखिएको छ’, मौद्रिक नीति समीक्षामा उल्लेख गरिएको छ ।  

राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिम भार समेत घटाइएको छ । ‘बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाख रुपैयाँ भन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने छ’ मौद्रिक नीति समीक्षामा उल्लेख गरिएको छ । यसअघि यस्तो जोखिम भारको व्यवस्था १५० प्रतिशत कायम गरिएको थियो ।    

मौद्रिक नीतिकाे समीक्षाा पछि शेयर लगानीकर्ता उत्साहित देखिएका छन् । सेयर बजार विश्लेषक अम्बिका प्रसाद पौडेलले यसबारे प्रतिक्रिया दिँदै भने, “बाह्य क्षेत्र मजबुत हुँदै गइरहेको परिप्रेक्ष्यमा आन्तरिक क्षेत्रलाई थप चलायमान बनाउने गरी मौद्रिक नीति आएको छ । अब बिस्तारै मनोबल बढ्दै अर्थतन्त्र तङ्ग्रिँदै जाने देखिन्छ ।” 

अर्का लगानीकर्ता शशिकान्त अग्रवाल पनि राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर बजारबारे गरेको नयाँ व्यवस्थाका कारण अब बजारमा उत्साह थप्ने बताउँछन् । उनी भन्छन्, ‘अहिले शेयर बजार शिथिल छ । यस्तो बजारलाई मौद्रिक नीतिको समीक्षाले जोखिम भार घटाएर उत्साह थपेको छ । अब बजार बढ्छ ।’ शेयर बजारमा लामो समयदेखि निराश बनेका लगानीकर्ताहरूलाई उनले थप उत्साह मौद्रिक नीतिले थपेको दोहोर्‍याए ।  

त्यस्तै, गत लगानीकर्ताले १५ करोड रुपैयाँ र संस्थागत लगानीकर्ताको २० करोड रुपैयाँसम्म मात्र कर्जा लिन सक्ने व्यवस्थाबारे संशोधन गर्नु पर्ने लगानीकर्ताहरूको माग थियो । तर, शेयर धितो कर्जाको सीमाबारे भने मौद्रिक नीतिले सम्बोधन गरेको छैन ।