शीर्षकहरू

निर्जीवन बीमा कम्पनीले संकलन गरे १२ अर्ब शुल्क

निर्जीवन बीमा कम्पनीले संकलन गरे १२ अर्ब शुल्क

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूको चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासमा १२ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । चालू आवको साउनदेखि कात्तिक मसान्तसम्म यस्ता कम्पनीहरूले १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् ।

यो शुल्क ८ लाख ८८ हजार ८७४ बीमालेख बिक्री गरेर संकलन भएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब २८ करोड ४८ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् । यस अवधिमा यी कम्पनीहरूले २ लाख ७ हजार ४१० वटा बीमालेख बिक्री गरेका हुन् । 

कात्तिक महिनामा शिखर इन्स्योरेन्स कम्पनीले २३ करोड २२ लाख रुपैयाँ बराबर बीमा शुल्क आर्जन गरेको छ । यो शुल्क १९ हजार ९५६ बीमालेख बिक्री गरेर आएको हो । 

सोही अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले २८ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ भने आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १७ हजार ३२१ वटा बीमालेख बिक्री गरेर २३ करोड २१ लख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि १६ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । 

प्राधिकरणका अनुसार गत महिना नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले १२ करोड ९ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा दि.ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले ६ करोड ३९ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले ३ करोड ६ लाख रुपैयाँ, नेशनल इन्स्यारेन्स कम्पनीले ५ करोड ९७ लाख रुपैयाँ, प्रभु इन्स्यारेन्स कम्पनीले १४ करोड २ लाख रुपैयाँ र एनएलजी इन्स्यारेन्स कम्पनीले १६ करोड ७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।   

निर्जीवन बीमा व्यवसाय गर्नेहरूमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत कात्तिक महिनामा १८ करोड ५३ लाख बीमा शुल्क संकलन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी लिमिटेडले ११ करोड ७३ लाख र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले २६ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको प्राधिकरणले जानकारी दिएको छ ।