शीर्षकहरू

आजियाटाले शेयर बेचेपछि एनसेलको जवाफ : ‘कागजपत्र मिलाउँदैछौं !’

आजियाटाले शेयर बेचेपछि एनसेलको जवाफ : ‘कागजपत्र मिलाउँदैछौं !’

काठमाडौं । दूरसञ्‍चार व्यवसाय गरिरहेको कम्पनी एनसेलले मलेसियाली बहुराष्ट्रिय लगानी कम्पनी आजियाटा बहार्ड ८० प्रतिशत शेयर बेचेर बाहिरिएपछि बल्ल शेयर खरिदबिक्रीबारे सरकारलाई जवाफ पठाएको छ ।

सो कम्पनीले नेपाल दूरसञ्‍चार प्राधिकरणलाई आवश्यक कागजपत्र मिलाउँदै गरेको र शेयर खरिदबिक्रीबारे आवश्यक स्वीकृति निम्ति छिट्टै प्रकृया अघि बढाउने जवाफ दिएको हो ।

एनसेलबाट आजियाटा बाहिरिँदा नेपालको कानून उल्लंघन र अर्बौं रुपैयाँ लाभकर छली भएको आशंका गर्दै प्रतिनिधि सभाको अर्थ समितिले बुधबार बिहान बैठक डाकेको थियो । सो बैठकमा सहभागी प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यसअघि एनसेललाई शेयर किनबेच अघि स्वीकृति लिन मंसिर १५ गते नै निर्देशन दिइएको र एनसेलले त्यसबारे जवाफ पठाएको बताएका हुन्‌ ।

‘हामीले शेयर किनबेच गर्नुअघि स्वीकृति लिन भनेका थियौं, एनसेलले शेयर किनबेचका कागजात संकलन गरिरहेको र चाँडै नै आवश्यक स्वीकृति लिन प्रकृया अघि बढाउने भनेको छ,’ खनालले भने ।

एनसेल नेपालमा कर छली र अनियमितताका कारण बदनाम छ । अजियाटा वि.सं. २०७२ चैत २९ गते रेनोल्ड्स होल्डिङमा रहेको युरोपेली कम्पनी टेलियाको ८० प्रतिशत शेयर १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरी एनसेलमा प्रवेश गरेको थियो ।

त्यतिखेर नेपालको दूरसञ्‍चार प्राधिकरण र कर नियामकलाई जानकारी नै नदिई शेयर किनबेच गरी ५७ अर्ब ९० करोड पूँजीगत लाभकर छली गरेको थाहा भएको थियो ।

नेपालको अदालतले लाभकर बापतको रकम तिर्नुपर्ने फैसला गरेपछि आजियाटा अन्तरराष्ट्रिय मध्यस्थकर्ताकहाँ गएको थियो । मध्यस्थकर्ताले समेत लाभकर तिर्नुपर्ने फैसला गरेपछि आजियाटाले कर तिरेको थियो ।

पछिल्लोपटक आजियाटाले आफूसँग रहेको सबै शेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बेचेको हो । यसरी विदेशी कम्पनीलाई शेयर बेच्दा नेपालको कानूनी प्रकृया पालना गरे/नगरेको र कर छली भए/नभएकोबारे नियमनकारी निकायका अधिकारीहरू मौनप्रायः देखिएका छन्‌ ।

आजियाटाले एनसेलको आफूसँग रहेको ८० प्रतिशत शेयर हिस्सा ५० मिलियन डलर (६ अर्ब ६५ करोड रुपैयाँ)मा बेचेको भन्दै प्रचार गरे पनि वास्तवमा ५०० मिलियन डलर (६६ अर्ब ५० करोड रुपैयाँ) बराबर लेनदेन भएको स्रोतहरूले बताएका छन्‌ ।