शीर्षकहरू

तस्करीको सुन गाल्ने नयाँ कारखाना न्यूरोडमा फेला

तस्करीको सुन गाल्ने नयाँ कारखाना न्यूरोडमा फेला

काठमाडौं । तस्करी गरी ल्याइएको सुन पगाल्ने कारखाना न्यूरोडमा पनि भेटिएको छ । सुन तस्करीबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीले यसअघि पनि विभिन्न स्थानमा यस्ता कारखाना फेला पारेको थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार राति सो कारखाना फेला पारेको हो । संघीय राजधानीको केन्द्र मानिने न्यूरोडस्थित एक घरमा सुन कारखाना फेला परेको र त्यसका सञ्चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी स्रोतले आर्थिकन्यूजलाई जानकारी दिएको छ ।

प्रहरी स्रोतले सो कारखानाबाट ठूलो परिमाणमा सुन पनि बरामद भएको जानकारी दिएको छ । केही गालेर बिस्कुट बनाइएको र केही किलो विदेशबाट गहनाका रूपमा ल्याइएको सुन फेला पारेको भनिएको छ । न्यूरोडमा त्यसरी गालेको सुन तस्कर समूहले भारत पुर्‍याउने गरेको पाइएको छ ।

सुन गाल्ने कारखानामा छापा हानेसँगै सत्तारुढ माओवादीका नेताहरूले अनुसन्धान प्रकृयामा दख्खल दिन थालेको प्रहरी उच्चस्रोतले जानकारी दिएको छ ।