शीर्षकहरू

मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत लाभांश पुस १४ गते पारित गर्दै

मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत लाभांश पुस १४ गते पारित गर्दै

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले पुस १४ गते १८औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सुनसरी उद्योग वाणिज्य संघ, धरान, सुनसरीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । 

यस वर्ष कम्पनीले कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १ करोड ५० लाख १ हजार रूपैयाँ रहेको छ । प्रस्तावित लाभांशलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको लाभांश कम रहेको छ । गत वर्ष कम्पनीले १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो । उल्लेखित प्रस्तावसँगै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मङ्सिर २७ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।