शीर्षकहरू

अर्थमन्त्री भन्छन्‌ : ‘एनसेलको शेयर किनबेच हुँदैमा लगानीको वातावरण बिग्रँदैन’

अर्थमन्त्री भन्छन्‌ : ‘एनसेलको शेयर किनबेच हुँदैमा लगानीको वातावरण बिग्रँदैन’

नवलपरासी । अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेलको शेयर किनबेच हुँदैमा नेपालमा लगानीको वातावरण नबिग्रने बताएका छन्‌ । आज नवलपरासीको नवलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले कुनै कम्पनीको शेयर किनबेच हुँदैमा लगानीकर्ता आउन खोजेनन्‌ या अर्थनीति ठीक भएन भनी बुझ्न नहुने बताएका हुन्‌ ।

‘एनसेलको शेयर किनबेच हुँदैमा लगानी कर्ता आउन खोजेनन्, हाम्रो अर्थनीति ठीक भएन भन्ने होइन,’ अर्थमन्त्री महतले भने, ‘कानुनी व्यवस्थाअनुसार किनबेच भयो भएन कि भएन भन्ने हो । कुनै कारणले रकम कम देखाएको त छैन ? त्यसको यथार्थ मूल्यभन्दा के कारणले तल भयो ? त्यसको छानबिन हुनुपर्छ ।’

आजियाटाले गत साता एनसेलमा रहेको आफ्नो शेयर ६ अर्ब ६५ करोड रुपैयाँमा बेचेको जनाएको थियो । एनसेलमा २० प्रतिशत शेयर हिस्सा राखेका गैरआवासीय नेपाली सतीशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले आजियाटाको शेयर किनेको जनाएको हो ।

तर, नियामक दूरसञ्‍चार प्राधिकरणले आजियाटालाई पत्र लेख्दै शेयर किनबेच या नामसारी गर्नुपूर्व स्वीकृत लिनुपर्ने बताइसकेको छ । आजियाटाको शेयर किनबेच हुँदा अर्बौं रुपैयाँ पूँजीगत लाभकर छल्न खोजिएको भन्दै चर्को विरोध भइरहेको छ । यसअघि स्वीडिस कम्पनी टेलियासोनेराले आजियाटालाई ८० प्रतिशत शेयर बेच्दा पनि झण्डै करिब ५५ अर्ब रुपैयाँ लाभकर छली गरेको प्रमाणित भएको थियो ।

पछिल्लो शेयर बिक्री प्रकरणमा पनि कर छली भएको आशंका गर्दै अर्थमन्त्रीले महतले गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने बताएका हुन्‌ ।उनले एनसेल बिक्री प्रकरणकामा सम्बन्धित निकायबाट जानकारी लिने काम भइरहेको र त्यसको आधारमा सरकार निष्कर्षमा पुग्ने जनाए । 

‘किनबेच गर्ने निकायले, नियमन गर्ने निकायसँग त्यसको अनुमति लिएर किनबेच गर्नुपर्ने व्यवस्था छ । त्यसको बाबजुद बाहिरनै किनबेच भयो भन्ने कुरा आएको छ,’ अर्थमन्त्री महतले थपे, ‘हामी गहिराइमा पुग्छौं, हाम्रो कानुनी व्यवस्था जे छ-सोही अनुसार विश्लेषण गरी सरकार निष्कर्षमा पुग्नेछ ।’