शीर्षकहरू

‘दि नेपाल डिस्टीलरिज’ले प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने

‘दि नेपाल डिस्टीलरिज’ले प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने

काठमाडौं । नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टीलरिज’ले प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने भएको छ । आफ्ना उपभोक्ताको माग र आकर्षणलाई ध्यानमा राख्दै  ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने भएको हो । 

४० यूपीको मदिरामा एबीभी(अल्कोहलको मात्रा) ३४.२३ प्रतिशत रहेको हुन्छ । यस्तो उत्पादनको अन्तशुल्क २५ वा ३० यूपीको तुलनामा निकै नै कम भएका कारण पछिल्लो समय यसतर्फ उत्पादकहरुको आकर्षण छ । अन्तशुल्क कम भएकै कारण यो सेगमेन्टको मदिराको मूल्य पनि उपभोक्तामैत्री छ ।  

यो सेगमेन्टमा बलियो उपस्थिति जनाउने प्रतिबद्धतासहित प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको कम्पनीका महाप्रबन्धक शुभाष लामिछानेले जानकारी दिए । ‘नेपाली मदिरा बजारमा ४० यूपी सेगमेन्टमा प्रिमियम मदिराको माग धेरै छ । त्यसैले एकदमै उचित मूल्यमा आफ्ना उपभोक्ताहरुलाई कसरी प्रिमियम मदिरा उपलब्ध गराउन सकिन्छ भनेर हामीले बजारको पर्याप्त अध्ययन गरेका छौं’, लामिछानेले भने । 

दुई वर्षभन्दा बढी समयसम्म गरिएको अध्ययन र उपभोक्ताहरुको प्रतिक्रियालाई आधार मानेर चाँडै ४० यूपी सेगमेन्टको ह्वीस्की फ्लेभर र रम फ्लेभरको प्रिमियम मदिरा बजारमा ल्याउने उनले घोषणा गरे । नेपाल डिस्टीलरिजले मुख्यरुपमा २५ र ३० यूपीको मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको पोर्टफोलियोमा आफ्ना उत्कृष्ट उत्पादनहरु खुकुरी रम र न्यूड सुपेरियर भोड्का समावेश छन् ।