शीर्षकहरू

अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा व्यवसायीको बिल्लीबाठ, अब आन्तरिक उडान नै रोकेर आन्दोलन गर्ने

अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा व्यवसायीको बिल्लीबाठ, अब आन्तरिक उडान नै रोकेर आन्दोलन गर्ने

भैरहवा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा शिलान्यास भएसँगै देशी विदेशी लगानकर्तालाई समेत आकर्षित गर्न सफल भयो । जब विमानस्थल बन्दै गयो तब निजी क्षेत्रको लगानी थपिँदै गयो ।

 व्यवसायीको लगानी, बालुवामा पानी 

सोही विमानस्थललाई लक्षित गरेर अर्बौँको लगानी नेपाल भित्रियो । तारे होटलहरु भटाभट निर्माण भए । तर, ती लगानीकर्ताको अहिले बिल्लिबाठ भएको छ। कतिपय निर्माण पुरा नहुँदै रोकिएका छन् त कतिपयले सेवा सुरु गरेर पनि नियमित संचालन गर्न सकेका छैनन्।

राज्यले अर्बौँ रुपैयाँ खर्चेर बनाएको गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा निमित्त अन्तर्राष्ट्रिय उडान नभएपछि पर्यटन व्यवसायीहरू यति बेला आफ्नो व्यावसायिक काम छाडेर राज्यको निकायहरूमा धाउन बाध्य छन् ।

विमानस्थलसँग प्रत्यक्ष सरोकार राख्ने ट्राभल्स व्यवसायीहरूको संस्था नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट –नाट्टा) लुम्बिनी प्रदेशको टिम यति बेला यस्तै काममा व्यस्त छ । टिकट बेच्ने, पर्यटकलाई भ्रमण प्याकेज बेच्ने तथा पर्यटन सम्बन्धी व्यवसायीकी कारोबार छाडेर सरोकारवालाको ध्यानाकर्षण गराउन काठमान्डौमा छन्।

नाट्टाको टिमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँगको छलफलमा भैरहवा स्थित गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुने हो भने सरकारले ठूलो आन्दोलनको आधिबेहरीको सामना गर्नुपर्ने चेतावनी समेत दिएको छ । त्यसपछि बल्ल सरकारले विमानस्थल सञ्चालनमा तत्काल पहल गर्ने समेत बताएको छ ।

निजी एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्न केही समय लाग्ने हो भने तत्काल नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल बायु सेवा निगमले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने माग नाट्टाको रहेको छ । नाट्टाले नेपाल वायुसेवा निगमकै कार्यालयमा पुगेर लिखित रुपमा ज्ञापन पत्र समेत बुझाएको नाट्टा लुम्बिनीका अन्तर्राष्ट्रिय हवाई यातायात समन्वय समितिका संयोजक सञ्जीव जोशीले बताए ।

विमानस्थल चलाउन सडक सङ्घर्ष !

नाट्टाको टिमले राज्यको केन्द्रिय निकायमा अन्तर्राष्ट्रिय उडान नियमित गर्न गराउन दबाब दिइरहँदा भैरहवामा पनि विभिन्न सङ्घसंस्थाले विमानस्थल नियमित नगरे सडक सङ्घर्ष गर्ने घोषणा गरेका छन् ।

विमानस्थलमा नियमित उडान हुन नसकेपछि सिद्धार्थ सञ्जाल रुपन्देहीले आन्तरिक उडान समेत बन्द गर्ने गरी कार्यक्रमहरू सार्वजनिक गरेको छ । सञ्जालले मङ्सिर २२ गते शान्तिपूर्ण र्‍याली गर्ने र २४ गते देखि आन्तरिक उडानमा अवरोध गर्ने कालो झन्डा देखाउने लगायतका कार्यक्रम गर्ने जनाएको छ । सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले जनताले तिरेको करबाट बनेको गौतमबद्ध विमानस्थलमा नियमित उडान नहुँदा राज्यको लगानी दुरुपयोग भएको र निजी क्षेत्रले अर्बौँ लगानी गरेको संरचना प्रयोग विहीन भएकोले बाध्य भएर आन्दोलनमा जानु परेको बताए ।

विमानस्थल सञ्चालनको लागि आधारभूत पूर्वाधार नभएको बताउँदै आन्दोलनमा होटल व्यवसायी बाध्य भएर जानु पर्ने सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । उनले पैदल मार्ग भएर आउने पर्यटकका लागि लक्षित गर्दै भारतीय मुख्य पर्यटक भएकोले राज्यले भारतीय पर्यटकलाई सहज रुपमा आउने वातावरण बनाउनु पर्नेमा जोड दिए । काठमाडौँका केही सीमित व्यापारीको हातमा पर्यटन व्यवसाय रहेकोले उनीहरूले कब्जा गर्दा गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसकेको उनले आरोप लगाए । 

गौतमबद्ध विमानस्थलमा तत्काल अन्तर्राष्ट्रिय उडान नहुने हो भने एयरपोर्ट देखेर लगानी गरेका सयौँ व्यवसायीको अर्बौँ लगानी बालुवामा पानी खन्याए झैँ हुने पर्यटन व्यवसायी समेत रहेका होटल एसियनका सञ्चालक कुलचन्द्र पाण्डेले बताए ।

उता उद्योग व्यापार सङ्गठन रुपन्देहीले आयोजना गरेको लुम्बिनी प्रादेशिक महोत्सवमा गौतमबद्ध विमानस्थल चल्न नसकेको विरोध स्वरूप महोत्सवको गेट नै जहाजको डमी बनाएको छ । अर्बौँ लगानी भएको विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नभएकोले विरोधका लागि महोत्सवको प्रवेशद्वार जहाजको डमी बनाएको सङ्गठनका अध्यक्ष दर्पण श्रेष्ठले बताए ।

सिद्धार्थ सञ्जालले गरेको आन्दोलनको कार्यक्रममा उद्योग व्यापार सङ्गठनको ऐक्यबद्धता रहेको र महोत्सव सकिए लगत्तै आन्दोलनमा जाने अध्यक्ष श्रेष्ठले बताए ।

गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख हंसराज पाण्डेले प्राविधिक रुपमा सक्षम भए पनि नियमित व्यावसायिक उडान हुन नसकेको बताए ।

पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक रामु जोशीले लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रहरू पहिचान भएको बताउँदै ब्राण्डीङ गर्ने कार्य सुरु गरेको बताए । उनले लुम्बिनी प्रदेशका २८३ स्थान धार्मिक र सांस्कृतिक पर्यटकीय क्षेत्र रहेको बताउँदै गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान नहुँदा प्रभावित भएको गुनासो गरे ।

विमानस्थल नै व्यक्तिको नाममा

गौतमबद्ध अन्तर्राष्ट्रिय विमान स्थलमा एक पछि अर्को समस्या निम्तिरहेको छ । अहिले विमानस्थलको रनवे व्यक्तिको नाममा छ । गत वैशाख ८ गते अपुताली पाएका रमाकान्त मिश्रका नाति पर्वतराज मिश्र र ग्रिजेशकान्त मिश्रले १९ बिगाहा १३ कठ्ठा १८  धुर का दरले जिल्ला मालपोत कार्यालय रुपन्देहीबाट पुर्जा लिए । रमाकान्त मिश्राले अपुताली आएको ३० बिगाहा १४ कठ्ठा १४ धुर पाएका थिए । बाँकी ११ बिगाहा जग्गा अहिले कसैको नाममा छैन । 

तत्कालीन कित्ता नं. ९ ख २९ हाल ३१८ कित्ता नम्बरको कालीमाइ मन्दिरको नाममा रहेको १५ कठ्ठा ७ धुर जग्गा ११ जनाले मुआब्जा लिई बाँडेको स्रोतले समता टेलिभिजनलाई जानकारी दिएको छ । उक्त जग्गाको मुआब्जा लिनेमा ग्रिजेशकान्त मिश्र, पर्वतराज मिश्र, जनार्दन त्रिपाठी रहेका छन् । मिश्र र त्रिपाठीलाई मुआब्जा दिलाउन भूमिका खेल्नेहरूमा तत्कालीन सिनपा १० का वडाध्यक्ष विजयराज धोबी र स्याङ्जाका  हुमबादुर गुरुङ, राजु कोइराला, रुपन्देहीका विष्णु केसी, कनहियालाल गुप्ता, त्रुफेल, बब्लु पाण्डे, रहेका छन् ।

भूमाफियाहरु सार्वजनिक जग्गा खोज्दै व्यक्तिको नाममा बनाउँदै गरेका घटना रुपन्देहीमा बढ्दै छन् ।

२०७१ सालमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन  सुरु भएर २०७९ जेठ २ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको यो विमानस्थल निर्माणमा राज्यको करिब ४६ अर्ब रुपैयाँ खर्च भएको छ ।

सुरु भएको उडान पनि रोकियो

जहाज पार्किङ निःशुल्क पाउञ्जेल सम्म जजिरा एयरलाइन्सले उडान गर्‍यो । निःशुल्क स्किम सकिएपछि विभिन्न आरोप लगाउँदै जजिराले उडान बन्द गर्‍यो । हिमालय एयरलाइन्सले पनि केही उडान गर्‍यो । उक्त कम्पनीले पनि विभिन्न समस्या देखाउँदै बन्द गर्‍यो । अहिले नेपाल वायुसेवा निगमको जहाजले साप्ताहिक उडान गर्दै आएको छ । त्यो पनि नियमित हुन सकेको छैन ।

पछिल्लो समय सरकार जसरी पनि भैरहवाको विमानस्थल सञ्चालन गर्नुपर्छ भन्ने मनसायमा पुगेको छ । भैरहवा स्थित विमानस्थलबाट अन्तर्राष्ट्रिय  उडान गर्ने जहाज कम्पनीलाई विभागीय मन्त्रालयले प्रति उडान ५ लाख प्रोत्साहन पुरस्कार दिने घोषणा समेत गरेको छ ।

क्यानका डिजी प्रदीप अधिकारीले अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन गर्ने गरी तयारी पनि भइरहेको बताए । भैरहवाबाट नेपाल सेवा निगमको अतिरिक्त हिमालय एअर लायन्स, फलाई दुबई, जजिरा, कतार एयरवेज, एअर अरबीया, थाई एयरवेज, मलेसियन एअर लायन्स, चाइना साउथर्न सञ्चालन गर्न सक्ने सम्भावना छ ।