शीर्षकहरू

ऋण तिर्दिन भन्नु समस्याको समाधान होइनः अर्थमन्त्री

ऋण तिर्दिन भन्नु समस्याको समाधान होइनः अर्थमन्त्री

नवलपरासी । अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने स्पष्ट पारेका छन् । मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले यस्तो बताएका हुन् । 

उनले भने, ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन । यो वचतकर्ताको पैसा हो । ऋण मिनाह भनेको बचतकर्ताको बचत सकिनु हो । त्यसको क्षतिपूर्ति कसले तिर्ने ? त्यही पैसा फिर्ता भएर बचतकर्ताले आवश्यक पर्दा लिन सक्छन् । वचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन ।’ 

सहकारी, वित्तीय संस्था र बैंकबाट धेरैले ऋण लिएका छन्, तिर्न कठिनाइ भएको छ । त्यसकारण अर्थतन्त्र खत्तम भयो भनेर प्रचारबाजी भएको उनको दाबी छ । ‘नेपालको अर्थतन्त्र विग्रियो, शिथिल भयोे, बजारमा माग छैन, ऋण लिएको छ, तिर्न सकिएको छैन भन्ने सर्वसाधारणमा चिन्ता छ’, उनले भने । 

उनका अनुसार केही समययता नेपालको अर्थतन्त्रमा विविध कारणले समस्या थियो, तत्कालीन सरकारले सीमित साधन श्रोत ठेक्कामुखी टावरमा लगानी गरे । राष्ट्र बैंकले अथाह पूँजी प्रवाह गर्यो, बैंकले सस्तै दरमा ऋण दिएको छ भन्ने आम मान्छेलाई लागेको बताए ।  

उनले भने, ‘कहाँ लगानी गर्ने ? प्रतिफल आउँछ कि आउँदैन भन्ने सोच विचार नगरी ऋण लिए । घरजग्गामा अत्याधिक लगानी भयो, मागभन्दा बढी प्लटिङ भयो । सेयर बजारमा लगानी भयो । कतिपयले क्रिप्टोमा पनि लगानी गरेका रहेछन् । ती लगानीको प्रतिफल आइरहेको छैन । माग र आपूर्तिको असन्तुलन भएपछि समस्या आउँछ ।’