शीर्षकहरू

गण्डकीका यातायात कार्यालयबाट ५६ करोड राजस्व संकलन

गण्डकीका यातायात कार्यालयबाट ५६ करोड राजस्व संकलन

म्याग्दी । गण्डकी प्रदेशका यातायात कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को साढे चार महिनाको अवधिमा रु ५६ करोडभन्दा बढी राजस्व सङ्कलन गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर १५ गतेसम्म रु ५६ करोड ८४ करोड ८४ लाख ८६ हजार तीन सय ४९ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । 

बाग्लुङ, डुम्रे र नवलपुरमा एकरएक र कास्कीमा दुईवटा यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङ्जामा यातायात सेवा कार्यालयले सो राजस्व सङ्कलन गरेका हुुन् । मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितका अनुसार सबैभन्दा बढी यातायात व्यवस्था कार्यालय सवारी कास्कीले रु ३१ करोड ७१ लाख ३५ हजार सात सय ८१ राजस्व सङ्कलन गरेको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्कीले रु छ करोड ४७ लाख ३९ हजार नौ सय २६, बाग्लुङले रु चार करोड १० लाख ३२ हजार ६ सय ७०, नवलपुरबाट रु छ करोड ३४ लाख ७९ हजार ६ सय ७४, डुम्रेबाट रु चार करोड १० लाख ९१ हजार एक सय ७५ राजस्व सङ्कलन भएको छ । 

गोरखा, लमजुुङ र स्याङ्जाको यातायात सेवा शाखाबाट एकमुुष्ट रु चार करोड १० लाख सात हजार एक सय २३ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । सवारी चालक अनुमतिपत्र जारी, नवीकरण, सवारीसाधन दर्ता, नवीकरण र जरिवानालगायत शीर्षकमा राजस्व सङ्कलन भएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा रु दुई अर्ब २४ करोड र २०७९/८० मा रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन गरेका यातायात कार्यालयहरुले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यअनुसार नै राजस्व सङ्कलन गरेका मन्त्रालयको यातायात व्यवस्था महाशाखा प्रमुख समेत रहेका प्रवक्ता टीकाराम पौडेलले बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रु एक अर्ब १५ करोड राजस्व सङ्कलन गरेकामा यातायात कार्यालयहरुको योगदान करिब आधा रहेको छ ।