शीर्षकहरू

आर्थिक विकासमा सहकार्य गर्न म रूसी राष्ट्रपति पुटिनलाई भेट्न आतुर छु : प्रधानमन्त्री प्रचण्ड

आर्थिक विकासमा सहकार्य गर्न म रूसी राष्ट्रपति पुटिनलाई भेट्न आतुर छु : प्रधानमन्त्री प्रचण्ड
फायल फोटो

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल दक्षिण एसियाका सबैभन्दा विवादित राजनीतिज्ञ हुन्, जसको जीवनी कुनै रोमाञ्चक उपन्यासको कहानी नै बन्न सक्छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का तत्कालिन महासचिव रहेका उनी गृहयुद्धको समय (सन् १९९६ -२००६)सम्म  एउटा क्रान्तिकारी समूहका कमान्डर रहेका थिए । त्यतिखेर उनले भूमिगत युद्ध लडेका थिए र राजनीतिक छद्मनाम "कमरेड प्रचण्ड" को रूपमा प्रसिद्धि पाएका थिए । राजतन्त्रको पतन पछि उनी धेरै पटक (अगस्ट २००८ देखि मे २००९ सम्म, अगस्त २०१६ देखि मे २०१७ सम्म र डिसेम्बर २६, २०२२ देखि वर्तमान समयसम्म) सरकार प्रमुखको रूपमा रहेका छन् । 

पूर्व विद्रोही र आज एक प्रसिद्ध राजनीतिज्ञ, उनै प्रचण्डले पहिलो पटक रूसी प्रेसका प्रतिनिधिसँग भेट्न सहमत भएका छन् । रूसी समाचार एजेन्सी ताससँगको एक विशेष अन्तर्वार्तामा प्रचण्डले २१ औँ शताब्दीमा समाजवादी विचार कसरी विकसित हुनुपर्दछ । नेपाल र रूसबिचको सिधा उडान पुनः सुरु गर्ने प्रयास किन गरिनुपर्छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग व्यक्तिगत रूपमा आफू किन भेट्न चाहन्छन् भन्ने बारेमा कुरा गरेका छन् ।

तपाईं धेरै वर्ष माओवादी विद्रोहीको नेता हुनुहुन्थ्यो र प्रचण्ड (भयानक) पनि भनिन्थ्यो । र, आज नेपाल सरकारको नेतृत्व गर्दै हुनुहुन्छ । यो कसरी भयो ? नेपाली जनताले तपाइको आन्दोलनलाई किन समर्थन गरे र तपाईँको पार्टीलाई आजसम्म विश्वास गरिरहेका छन् ?

सबैभन्दा पहिले, म यो भन्न चाहन्छु कि रूसी समाचार एजेन्सी "तास" लाई अन्तर्वार्ता दिन पाउनु मेरो लागि धेरै रोचक र महत्त्वपूर्ण छ । मलाई थाहा छ "तास" एउटा निकै सम्मानित र प्रसिद्ध एजेन्सी हो ।

तपाईँको प्रश्नको जवाफमा मैले भन्नै पर्छ कि नेपालले आफ्नो राजनीतिक परिप्रेक्ष्य धेरै नै उतारचढाव देखेको छ तर, अन्तमा हामी विभिन्न राजनीतिक दलहरू सहमतिमा पुग्न सफल भयौँ । म क्रान्तिको नेतृत्वमा हुँदा हामी तत्कालीन सामन्ती र निरङ्कुश राजतन्त्रको सरकारबाट उत्पीडित आर्थिक र सामाजिक रूपमा पिछडिएका, जनताको आवाज बनेका थियौं । त्यसैले जनताले हाम्रो आन्दोलनलाई सहर्ष समर्थन पनि गरे, किनकी हामीले त्यस्ता समस्याहरूलाई उठाएका थियौँ, जुन उनीहरूले धेरै वर्षदेखि भोगेर आएका थिए, निरङ्कुश राजतन्त्रको शासनकालमा भोग्न बाध्य बनाइएका थिए । तसर्थ, हामीले मुख्यतया ग्रामीण क्षेत्रहरूमा विशाल समर्थन पाएका थियौं ।

त्यही बेला हामीले राजनीतिक आन्दोलनको नेतृत्व गर्‍यौँ । हामीले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग वार्ता गरेका थियौं । त्यस बेला निरङ्कुश राजतन्त्र विरुद्ध सात दलहरू एकजुट भए । यसपछि हामी "१२ बुँदे सम्झौता" भनिने ऐतिहासिक सम्झौतामा पुग्यौँ, जसले सहमतिको वातावरण सिर्जना गर्‍यो र बृहत् शान्ति सम्झौताका लागि सर्तहरू प्रदान गर्‍यो । र, यही सहमतिको ढाँचाभित्रै हामीले संविधानसभाको निर्वाचनमा भाग लियौँ ।

यही चुनाव गराउने सहमतिको बदलामा शान्ति स्थापना सम्भव भएको थियो, जसलाई सबै राजनीतिक दलहरूले स्वीकार गरेका थिए । हामीले संविधानसभामा बहुमत प्राप्त गरी अत्यधिक सिट जित्न सफल भयौँ । यस प्रकार सन् २००८ को अगस्टमा सङ्घीय लोकतान्त्रिक नेपालको पहिलो सरकारको नेतृत्व गर्ने अवसर पाएको थिएँ जुन निकै छोटो अवधिमा क्रान्तिको माहौलबाट शान्ति सम्झौतामा र त्यसपछि निर्वाचनमा परिणत भएपश्चात् सम्भव भएको थियो ।

राजतन्त्रबाट एकाएक प्रजातन्त्रमा यस्तो हिसाबले छलांग लगाइनु कुनै चमत्कारै थियो र जनताले पनि हामीलाई पूर्णरुपले साथ दिएका थिए । म ध्यानाकर्षण गराउन चाहन्छु कि देशमा अझै पनि गठबन्धन सरकार नै सत्तामा छ; म मन्त्रिपरिषद्को नेतृत्व गर्छु जसमा धेरै दलहरू सहभागी छन् । स्मरण रहोस्, यो एक अद्वितीय शान्ति प्रक्रिया हो जुन आन्तरिक शक्तिहरूको प्रयासले सफल भएको थियो, जसले यस देशमा वर्तमानमा जारी रहेको विशाल राजनीतिक परिवर्तनलाई सुनिश्चित गरेको छ । 

के सामान्य राजनीतिक जीवनमा प्रवेश गरे पश्चात् तपाईंको विश्व दृष्टिकोणमा कुनै असर परेको छ? वा यस्तो भन्न सकिन्छ कि तपाईं नेपाल सरकारको प्रमुखको हैसियतले नयाँ ठाउँमा रहेर संघर्ष जारी राख्दै हुनुहुन्छ ? नेपालको राजनीतिक प्रणालीको भविष्य कस्तो देख्नुहुन्छ ?

मार्क्सवादी भएका नाताले हामी द्वन्द्वात्मक भौतिकवादको दर्शनमा विश्वास गर्छौं । हाम्रो दर्शनको मुताविक, विशिष्ट परिस्थितिहरूलाई विशिष्ट विश्लेषण चाहिन्छ, जुन भौतिकवादको आधार हो । भ्लादिमिर इलिच लेनिनले कट्टरता र कट्टरताको अस्वीकार्यतालाई मान्यता दिनुभयो, किनकी हामीले सम्पूर्ण विश्व, क्षेत्र र देशमा राजनीतिक परिवर्तनको गतिशीलता बुझ्नुपर्छ । र उनीहरूको प्रतिक्रियाका आधारमा हाम्रो नीति निर्माण गर्नुपर्छ ।

वास्तवमा लेनिनबाट म धेरै प्रभावित छु! विश्व र क्षेत्रीय विकासको राजनीतिक प्रकृतिको विश्लेषण गर्दा हामी आफैँ पनि परिवर्तनशील हुनुपर्छ भन्ने महसुस गरेका छौं । त्यसैले हामी सशस्त्र सङ्घर्षबाट शान्ति प्रक्रिया, प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीतर्फ लाग्यौँ । हामीले सामन्ती राजतन्त्रलाई भत्कायौँ र पहिले उत्पीडनमा परेकाहरूलाई सामाजिक प्रक्रियामा समावेश गर्‍यौँ, यो हाम्रो संविधानको मुख्य विशेषता बन्यो । अब हामीले हाम्रो आर्थिक विकासमा विशेष ध्यान दिनुपर्छ । तब मात्रै देशमा परिवर्तनलाई दिगो रूपमा स्थापित गर्न सकिन्छ । मलाई लाग्छ कि देशको एक मात्र सुनिश्चित भविष्य त्यतिखेर सम्भव हुन्छ जब त्यहाँ शान्ति, स्थिरता र समृद्धि हुन्छ । र, हामी उक्त सुनिश्चित भविष्य निर्माणका लागि हर सम्भव प्रयास गर्दैछौं ।

संसार परिवर्तन भएको छ के आज समाजवाद र साम्यवादका सन्दर्भमा केही भन्ने ठाउँ छ?  भविष्यमा हाम्रो संसार कस्तो होला, तपाईं यसलाई कसरी हेर्नुहुन्छ?

संसार साँच्चै स्थिर छैन । विज्ञान र प्रविधिको विकासले सूचना प्रविधिमा क्रान्ति ल्याएको छ, ती सबैले संसारभरको अवस्थालाई पूर्ण रूपमा परिवर्तन गरेको छ । यसका साथै अहिले, नयाँ विश्वव्यापी भूराजनीतिक ध्रुवीकरण भएको छ । वर्तमानमा हामी रूस - युक्रेन, प्यालेस्टाइन - इजरायल बिचको द्वन्द्व देखिरहेका छौं ।

साथै, तपाईलाई थाहा छ, नेपाल दुई एसियाली ठूला देशहरू - भारत र चीनको बीचमा अवस्थित छ र हाम्रो लागि यो अत्यन्तै संवेदनशील भूराजनीतिक अवस्था हो । चीन र अमेरिका, चीन र भारतबिच निश्चित विरोधाभासहरू छन् । भारत र अमेरिका समेतले दक्षिण एसियाको क्षेत्रीय अवस्थालाई फरक फरक ढङ्गले हेर्न सक्छन् । किनकी यसक्षेत्रमा धेरै जटिल प्रकृतिका क्रियाकलापहरू हुने गर्दछन् ।

हाम्रो तर्फबाट भन्ने हो भने हामी प्रगतिशील राष्ट्रवादमा अडिग छौँ, हामी समाजवादी विचारधारालाई अंगालेर अघि बढी रहेका छौं । एक्काइसौं शताब्दीमा विकसित भएको अवस्थाका लागि हामीले १९औँ शताब्दीमा परिभाषित गरिएको कट्टरपन्थी मार्गलाई हुबहु यत्तिखेर अनुसरण गर्न सक्दैनौँ । संसारको परिवर्तन सँगसँगै हामीले पनि आफ्नो विचारधारा परिवर्तन गर्नुपर्छ । हामीले परिस्थितिलाई विश्लेषण गरेर त्यसबाट पाठ सिक्नुपर्छ । अब नयाँ रणनीति, र नयाँ दृष्टिकोणको आवश्यकता छ ।

 मैले सोभियत सङ्घको इतिहास राम्ररी अध्ययन गरेको छु र भ्लादिमिर इलिच लेनिनको नेतृत्वमा भएको रूसी क्रान्तिको गतिशीलता बुझ्ने प्रयास गरेको छु, उनका धेरै लेख र कार्यहरूको अध्ययन गरेको छु । मैले रूसमा सन् १९८०-१९९० को दशकमा भएका घटनाहरूलाई पनि केलाएको छु । चीनमा भएका परिवर्तनहरू र त्यहाँको सरकारमा आएको परिवर्तनले पनि मेरो ध्यान खिचेको छ । हामीले यी सबै कुराहरूलाई विश्लेषण गरेर अगाडि बढ्ने प्रयास गरेका छौं ।

नेपाल दुई ठूला राष्ट्र भारत र चीनबीच कुनै स्यान्डविच झैँ अवस्थित भएको कुरामा तपाईँले जोड दिनुभयो । एक अर्कासँगको सम्बन्धको जटिल प्रकृतिलाई ध्यानमा राख्दै यी राज्यहरूसँग कसरी सम्बन्ध विस्तार गर्दै लग्नुहुन्छ ?

ऐतिहासिक रूपमा नेपालको परराष्ट्र नीतिको आधार नै "असंलग्नता" रहेको छ । हामी हाम्रो स्वतन्त्रताको हितमा आधारित हाम्रा जनताका आधारभूत आवश्यकताहरू सुनिश्चित गर्दै भारत र चीनप्रतिको विदेश नीतिमा सन्तुलन कायम राख्ने प्रयास गर्छौं । र अहिले हामीले स्वतन्त्रता र असंलग्नताको नीतिलाई नै निरन्तरता दिइरहेका छौं ।

दुई महिनाअघि मैले भारत भ्रमण गरेको थिएँ र त्यहाँको नेतृत्वको हामीप्रति राम्रो समझदारी रहेको पाएको थिएँ । म चीनको बेइजिङमा पनि भ्रमणमा रहेको थिएँ, जहाँ मैले चिनियाँ नेतृत्वबाट पनि उही समझदारीलाई बुझेको थिएँ । त्यसपछि म संयुक्त राज्य अमेरिकामा संयुक्त राष्ट्र सङ्घको महासभामा गएको थिएँ, र त्यहाँ हामीले नेपालको विकाससँग सम्बन्धित मुद्दाहरूबारे राम्रोसँग छलफल गरेका थियौं । यसर्थ, हामी विदेश नीतिमा तटस्थ नीति र सन्तुलनको लागि प्रयास गरिरहेछौं ।

यसका साथै, हामी विश्व मंचमा विद्यमान उत्पीडितहरूलाई समर्थन गर्छौं, जो स्वतन्त्रताको हकदार छन् । हामी प्यालेस्टाइनलाई समर्थन गर्छौं, हामीले सधैँ प्यालेस्टिनीहरूलाई समर्थन गरेका छौँ, र संयुक्त राष्ट्रसङ्घको महासभामा इजरायल र प्यालेस्टाइन दुवै राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिनुपर्छ भनेर मैले विश्व समुदायलाई विश्वास दिलाउन खोजेको थिएँ । यसको अलावा मार्क्सवादी र कम्युनिस्टका रूपमा समाजवादतर्फ उन्मुख देशहरूसँग पनि हामीले निश्चित समझदारी हासिल गरेका छौं । 

अहिले नेपालको अवस्था कत्तिको स्थिर छ ? देशको राजनीतिक व्यवस्थाको गठन पूरा भयो भन्न सकिन्छ कि? मलाई थाहा छ, भर्खरै काठमाडौँमा राजतन्त्रका समर्थकहरूले ठूलो विरोध प्रदर्शन गरेका थिए ।

हरेक क्रान्तिले प्रतिक्रान्ति निम्त्याउँछ । लोकप्रिय क्रान्तिकारी आन्दोलनबाट परास्त भएका वर्गहरू पुनः सत्तामा फर्किन खोजिरहेका छन् । यही हो इतिहासको नियम !

हामीले अधिनायकवादी सामन्ती राजतन्त्रलाई ध्वस्त पारेका छौँ, र म विश्वस्त छु कि यसको समय बितिसकेको छ र अब विगतमा फर्कन सम्भव छैन । तैपनि एउटा निश्चित मानिसहरूको समूहद्वारा विगतमा फर्कनका लागि यस्ता प्रयास भने बेला बेलामा नभएका हैनन् । नेपालको राजनीतिक व्यवस्था स्थायी रहनेछ, अनि सङ्घीयता र लोकतान्त्रिक गणतन्त्र हाम्रो देशमा दीर्घकालसम्म रहने मैले विश्वास लिएको छु । 

वर्तमान समयमा, जब कि एउटा राजनीतिक स्थायित्व कायम भैसकेको अवस्था छ, अब आर्थिक विकासमा लाग्नुपर्छ । स्थायित्व र आर्थिक समृद्धिको बीचमा पारस्परिक सम्बन्ध रहेको हुन्छ ।

तपाईँले स्थायित्व कायम गर्न आर्थिक विकासको महत्त्वबारे कुरा गर्नुभयो । नेपालको अर्थतन्त्रको विकासका लागि के गर्नुपर्छ? कुन उद्योगहरू सबैभन्दा आशाजनक छन् ?

प्रत्यक्ष वैदेशिक लगानी हाम्रा लागि अहिले महत्त्वपूर्ण छ, त्यसैले हामी त्यसका लागि अनुकूल वातावरण बनाउन र लगानीकर्ताहरूका र आर्थिक विकासका बाधाहरू हटाउन प्रयासरत छौं । हाम्रो देश कृषि प्रधान भएकाले मुख्यतया हामी कृषि र कृषि उद्योगमा विशेष ध्यान दिन्छौं ।

द्रुत हिमाली नदीहरूको प्रचुरताले गर्दा नेपालमा जलविद्युतमा पनि ठूलो सम्भावना छ । मेरो पछिल्लो भारत भ्रमणमा नेपालले भारतलाई १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उपलब्ध गराउने सहमति भएको थियो । बङ्गलादेशमा हाम्रो बिजुली आपूर्ति गर्ने सम्झौता पनि भएको छ । यी सबैले जलविद्युतको विकासको लागि अनुकूल वातावरण सिर्जना गर्दछ ।

प्रचुर सम्भावना बोकेको पर्यटन उद्योग हाम्रा लागि महत्त्वपूर्ण क्षेत्रको रूपमा रहेको छ । हाम्रो देशमा लुम्बिनीमा बौद्ध तीर्थहरू छन् र विश्वको सर्वोच्च शिखर पनि नेपालमै अवस्थित छ, जसलाई हामी सगरमाथा भन्छौं । ऐतिहासिक स्मारकहरू र सुन्दर प्रकृतिको पनि धनी देश हो नेपाल । नेपालप्रति परम्परागत रूपमा विभिन्न देशका पर्यटकहरू आकर्षित हुन्छन् ।

रूससँग नेपालको सम्बन्धलाई कसरी चित्रण गर्नुहुन्छ ? नेपाल–रूस सम्बन्धको अवस्थाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

नेपाल र रूसबिचको सम्बन्धको इतिहास विभिन्न तहमा आपसी समझदारी र राम्रो साझेदारीको यथार्थ रूप हो । तपाईँको देशमा उल्लेखनीय संख्यामा नेपाली विद्यार्थीहरूले उच्च शिक्षा प्राप्त गरेका छन् र हाम्रो देशको विकासमा ठूलो योगदान गरेका छन् । तपाईँहरूले पूर्वाधार निर्माण गर्न, कृषिलाई आधुनिकीकरण गर्न र अन्य क्षेत्रमा पनि सोभियत काल र त्यसपछि पनि ठूलो सहयोग गर्नुभएको छ । यसर्थ, हाम्रा दुई देशबिच कुनै समस्या छैन । 

हाम्रा दुई देश बीच आर्थिक साझेदारी र यातायात कनेक्टिभिटीको ठूलो सम्भावना रहेको भए पनि अझै पूर्ण रूपमा त्यसलाई कार्यरूपमा परिणत गर्न नसकिएकोमा साँच्चै नै हामीलाई यसप्रति चिन्ता छ । मैले नेपालका लागि रूसी राजदूत महामहिम अलेक्सेई नोभिकोभसँग यस विषयमा छलफल गरेको थिएँ र हामीले आर्थिक सहयोगको वातावरण कसरी बनाउने, कनेक्टिभिटी कसरी सुनिश्चित गर्ने, र विशेषतः हवाई यातायातका विषयमा कुरा गर्दै, रूसबाट नेपाल सीधा उडान पुनः स्थापना गर्नुपर्ने विषयमा कुरा गरेका थियौं । साथै हामीले आर्थिक सहयोग, शिक्षामा अन्तरक्रिया, कृषि, पूर्वाधार परियोजनाहरूका अन्य क्षेत्रहरूमा पनि छलफल गरेका छौं । 

हामीले विशेष गरी ठूला जलविद्युत आयोजनाहरूमा ​​चासो राखेका छौं । यहाँहरूलाई अवगतै होला, १० दशमलव ८ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने क्षमता रहेको कर्णाली नदीको तल्लो भागमा "कर्णाली चिसापानी आयोजना" जलविद्युत केन्द्र निर्माणको सम्भावनाबारे प्रतिवेदन तयार गर्दै छौं । यस प्रकारको निर्माणको लागि, हामीलाई विशेष गरी ठूलो पुँजी र अन्य सहयोगको आवश्यकता पर्छ । हामी सडक र सुरुङ निर्माणमा पनि सहकार्यको अपेक्षा गर्छौं । यसका लागि अनुभव र प्रविधि चाहिन्छ, जुन हामीलाई थाहा छ, रूससँग छ । 

यस्तै गरी हामी रसियामा धेरै भन्दा धेरै नेपाली विद्यार्थीहरूले शिक्षा प्राप्त गर्न सकुन् भन्ने चाहन्छौं । यी सबै हाम्रो प्रारम्भिक प्राथमिकतामा पर्दछन्, विशेष गरी सहकार्यका लागि अनुकूल वातावरण सिर्जना गर्नु । 

मस्को–काठमाडौँ सीधा उडान सुचारु गर्ने बारे सम्भावना रहेको बताउनुभएको हो?

हामीले सीधा उडानहरू पुनर्स्थापित गर्ने प्रक्रिया सुरु गर्नुपर्छ । हाम्रो तर्फबाट कुनै समस्या छैन! हामीलाई थाहा छ रूस-युक्रेन द्वन्द्व सुरु भएपछि केही देशहरूले रूससँगको सम्बन्धमा कठिनाइहरू देखेका छन्, तर हाम्रो सन्दर्भमा कुनै समस्या छैन ।

र म यो पनि भन्न चाहन्छु कि हाम्रो दुई देशको सन्दर्भमा भन्ने हो भने हामीबिच उच्चस्तरीय भ्रमणको आवश्यकता रहेको मलाई महसुस भएको छ । नेपाली संसद्को राष्ट्रिय सभाका प्रमुखले रूस भ्रमण गरेपछि हामी रूसी संसद्को सभामुखको नेपाल भ्रमणको लागि पर्खिरहेका छौं । यस्तो भ्रमणले आर्थिक सहकार्यलाई प्रोत्साहन गर्नेछ । यस्तो भ्रमणका क्रममा लामो समयदेखि सिधा उडान सुचारु गर्ने विषयमा पनि छलफल हुन सक्छ । तर, दुर्भाग्यवश, यो भ्रमण स्थगित भयो । हामी उच्चस्तरीय भ्रमणको आशा गर्दछौँ, जुन तत्काल आवश्यक छ । साथै, अझै उच्च स्तरीय भ्रमणको सम्भावना पनि छंदैछ ।

त्यसो भए, के हाम्रो एजेन्सी मार्फत रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिनुहुन्छ त? 

भ्लादिमिर पुटिनलाई नेपालमा देख्न पाए मलाई निकै खुसी लाग्नेछ । साथै, म आफै पनि रूस जान तयार छु!

ब्रिक्स र बिमस्टेक शिखर सम्मेलनहरू एकैसाथ भारतको "गोवा" सहरमा भएको बेला (सन् २०१६ मा शिखर सम्मेलन ) जहाँ म मेरो दोस्रो कार्यकालमा प्रधानमन्त्रीको रूपमा उपस्थित थिएँ, त्यस बखत राष्ट्रपति पुटिनसँग मेरो भेट भएको हो । तर, दुर्भाग्यवश, यो द्विपक्षीय वार्ता भने थिएन, केवल सामूहिक छलफलको रूपरेखा भित्रको वार्ता थियो ।

हाम्रा देशहरू बिचको उच्चस्तरीय भ्रमणले सबै क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न मद्दत गर्नेछ भन्नेमा म विश्वस्त छु । 

विश्वको वर्तमान अवस्था बारे तपाईको के धारणा छ ? कोभिड महामारीका कारण उत्पन्न आर्थिक समस्या र अहिले सक्रिय चरणमा रहेका द्वन्द्वका बारेमा के भन्नुहुन्छ? के नेपाल यी समस्याहरूबाट टाढा छ, वा यसले नेपाललाई पनि असर गरेको छ?

कोरोना भाइरसको महामारी, जसमाथि हामीले पहिले नै विजय प्राप्त गरिसकेका भए पनि त्यसले हामीमा निकै नकारात्मक प्रभाव पारेको छ । जब चुनौतीहरूको कुरा आउँछ, हामी जलवायु परिवर्तनलाई हाम्रो लागि एउटा ठूलो खतरा मान्दछौं । हिमालयका हिमशृङ्खलाहरू पग्लन थालेकाले स्थानीय जनताको जनजीवनमा गम्भीर असर परेको छ । त्यसैले हामी अन्तर्राष्ट्रिय समुदायलाई पनि यससम्बन्धी सहयोग गर्न आग्रह गर्छौं । 

"जलवायु" नेपालका लागि मात्र नभई सम्पूर्ण क्षेत्र र विश्वका लागि नै एउटा महत्त्वपूर्ण र विशेष रूपमा ध्यान केन्द्रित गर्नुपर्ने विषय हो । हामी उल्लेखनीय तवरले यस्ता वातावरणीय परिवर्तनहरू महसुस गरिरहेका छौं किनकी हिमालयका हिम शृङ्खलाहरू दिन प्रतिदिन पग्लिँदै छन् ।

रूसलगायत धेरै देशहरू विरुद्ध लगाइएको पश्चिमी प्रतिबन्धहरूप्रति तपाईँको दृष्टिकोण कस्तो छ? के पश्चिमी राज्यहरूको स्थितिले हाम्रो द्विपक्षीय सम्बन्धलाई असर गर्न सक्छ? 

यो हाम्रा लागि निकै संवेदनशील विषय हो । हामी असंलग्नताको नीतिप्रति वफादार छौँ, हामी सबै समस्याहरू शान्तिपूर्ण रूपमा वार्ताबाट समाधान गर्ने वकालत गर्छौं । हामी पश्चिमको स्थिति, रूसको तथा चीनको पनि दृष्टिकोण बुझ्छौं । तर हाम्रो भूराजनीतिक स्थिति र सामान्य सामाजिक-आर्थिक अवस्थाका कारण कुनै एक पक्षलाई समर्थन गर्दै अर्को पक्षको विरुद्धको नीति लिनु नेपाल जस्तो देशको लागि कठिन विषय हो ।

एउटा लामो अवधिको अन्तरालमा नेपाली नेताको रूसी सञ्चारमाध्यमसँग सम्पन्न गरिएको यो पहिलो अन्तर्वार्ता हो । रूसीहरूलाई के भन्न चाहनुहुन्छ?

रूसको धेरै गौरवशाली इतिहास छ, यसका प्रतिनिधिहरूले मानवताको विकासको लागि धेरै दिएका छन् । हामीले रूसी इतिहासका उदाहरणहरूबाट आफूले पनि सिक्ने प्रयास गरेका छौं र अहिले पनि यो सम्मानजनक मनोवृत्ति उस्तै छ । हामी रूसी जनतालाई सम्मान गर्छौं । म रूस र यसका नागरिकहरूको कल्याण र समृद्धिको कामना गर्न चाहन्छु ।

(रूसी समाचार एजेन्सी तासका येभगेनी पाखोमोभले लिएको यो अन्तर्वार्ता इमेल मार्फत प्राप्त भएको हो, जसको शीर्षक लगायत केही अंश सम्पादन गरिएको छ ।)