शीर्षकहरू

एनएमबि हाइब्रिड फण्ड एल–१ खारेजी प्रकृयामा

एनएमबि हाइब्रिड फण्ड एल–१ खारेजी प्रकृयामा

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल–१ कात्तिक ७ गतेदेखि परिपक्क भैसकेको छ । योजना परिपक्क भएसँगै खारेजी प्रकृया सुरु गरेको हो । 

योजना खारेजीमा लैजाने क्रममा सामूहिक लगानीकोष नियमावली, २०६७ बमोजिम योजनाको नाममा रहेको सम्पत्तिलाई नगदमा परिणत गर्नुपर्ने हुन्छ । सोही नियम बमोजिम योजनाले तीन महिनाभित्र आफनो नाममा रहेको सम्पत्तिलाई नगदमा परिणत गर्नका लागि लिलामी प्रकृयाबाट विक्री गर्न लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार प्रणालीमार्फत योजनाको नाममा रहेको अधिकांश धितोपत्र विक्री गरिसकेको जानकारी योजनाले दिएको छ ।  

योजनाले सूचीकरण हुन बाँकी बोनस शेयर, आईपीओ, सूचीकरण भएका सामूहिक लगानीकोषको इकाई र ऋणपत्रहरू लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । मङ्सिर १७ गतेदेखि २६ गतेसम्मका लागि योजनाले आफ्नो स्वामित्वमा रहेका विक्री हुन बाँकी धितोपत्रहरू विक्री खुला गर्न लागेको हो । योजनाले विक्रीमा ल्याएको धितोपत्र खरीद गर्न इच्छुक खरीदकर्ताहरूले आगामी १० दिनभित्र गोप्यशिलबन्दी बोलप पेश गर्नुपर्नेछ । 

कम्पनीको शेयर खरीदको हकमा न्यूतम १०० कित्ता, ऋणपत्र खरीदको हकमा न्यूनतम १ हजार कित्ता र सामूहिक लगानीकोषको इकाईको हकमा न्यूनतम १० हजार कित्ता माग गर्न सकिने व्यवस्था छ । अधिकतमको हकमा भने सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र मङ्सिर २७ गते योजना व्यवस्थापक एनएमबि क्यापिटलको कार्यालयमा विहान १० बजे खोलिने कार्यक्रम तय भएको छ । गोप्य शिलबन्दी बोलपत्र पनि लगानीकर्ताहरूले योजना व्यवस्थापकको कार्यालयमा पेश गर्नुपर्नेछ ।