शीर्षकहरू

कृषि उद्यममा लगानी बढाउँदै झापाको सहकारी

कृषि उद्यममा लगानी बढाउँदै झापाको सहकारी

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले बचत तथा ऋण कारोबारसँगै रोजगारी सिर्जना हुने कृषि, उद्योग र व्यापारमा उल्लेख्य लगानी गरेको छ । संस्थाले डेरी उद्योग, एग्रो फार्म, सहकारी पसल र चिया उद्योगमा रु ७० करोड ५१ लाख ३७ हजार तीन सय चार लगानी गरेको अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले बताए । 

मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा प्रधान कार्यालय रहेको यस संस्थाको ५८ वटा सेवा केन्द्र झापा, मोरङ र इलाम जिल्लामा सञ्चालनमा छन् । सबैभन्दा बढी लगानी एनएमसी एग्रो फार्ममा रहेको छ । मेचीनगर–१४ दुहागढीमा १६ बिघा क्षेत्रफलमा सञ्चालित उक्त फार्ममा संस्थाले रु २२ करोड ७५ लाख ९६ हजार आठ सय ३४ लगानी गरेको छ ।  अध्यक्ष शिवाकोटीका अनुसार पाँच वर्षअघि स्थापित उक्त फार्ममा हाल ८० वटा उन्नत जातको गाईपालन, ५० वटाभन्दा बढी कृषियन्त्र रहेको ‘कस्टम हाइरिङ’ सेवा, ५० घार मौरीपालन, पाँचवटा पोखरीमा माछापालन र हाँसपालन भइरहेको छ ।

कृषि तथा पशुपालनलाई व्यावसायिकरूपमा अघि बढाउने उद्देश्यका साथ सञ्चालित उक्त फार्ममा वार्षिक १४ लाख केजी साइलेज (पशु आहार) र फलफूल र तरकारीका एक लाख ७५ हजार बिरुवा उत्पादन हुँदै आएको छ । फार्मबाट उत्पादित महलाई संस्थाले आफ्नै ब्राण्डमा बजारमा बेच्न सुरु गरेको छ । सस्थाले ‘एनएमसी’ ब्राण्डको चिया, मह र डेरीका उपभोग्य वस्तु उत्पादन गर्दै आएको छ । दुई वर्षअघि मात्र चिया क्षेत्रमा प्रवेश गरेको सहकारीले झापाको मेचीनगर–३ सुरेन्द्रनगर, इलामको सिद्धपोखरी र साँघुबेँसीमा गरी तीनवटा चिया कारखाना सञ्चालन गरिरहेको छ ।

तीनवटै कारखानाबाट ‘अग्र्यानिक अर्थोडक्स’ चिया उत्पादन हुँदै आएको छ । जसको ८५ प्रतिशत उत्पादन विदेशमा निर्यात हुने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा एनएमसीले रु दुई करोड दुई लाख १३ हजार छ सय छ मूल्यबराबरको ८६ हजार पाँच सय ७८  केजी अग्र्यानिक चिया भारत निकासी गरेको संस्थाका पूर्वअध्यक्ष रामचन्द्र उप्रेती बताउँछन् । 

आफ्नै फार्म र संस्थाका सदस्य किसानले उत्पादन गरेको वस्तु बिक्रीका लागि संस्थाले झापामा १६ र इलाममा एउटा गरी १७ वटा सुपरमार्केट शैलीका सुपथ सहकारी पसल सञ्चालन गरिरहेको छ । चार वर्षअघि सुरु भएको एनएमसी सहकारी पसलमा संस्थाले रु १९ करोड ९२ लाख १७ हजार छ सय १० लगानी गरिसकेको छ । गुणस्तरीय सामग्रीको बिक्री गर्ने पसलका रूपमा यसका बिक्री पसलले आम उपभोक्तामाझ अलग र विश्वसनीय पहिचान बनाएको उप्रेतीको दाबी छ ।

संस्थाले सञ्चालन गरेको अर्को महत्त्वपूर्ण व्यवसाय डेरी उद्योग हो । मेचीनगर–८ मा स्थापना भएको एनएमसी डेरी उद्योगले स्थानीय किसानबाट दैनिक १५ हजार लिटर कच्चा दूध सङ्कलन गरी प्रशोधन गर्दै आएको छ । आठ वर्षअघि स्थापना भएको उक्त उद्योगमा संस्थाले रु १५ करोड लगानी गरेको जनाएको छ । उद्योगमा छ हजार पाँच सय किसान प्रत्यक्षरूपमा जोडिएका छन् भने दैनिक सरदर रु १३ लाखको कारोबार भइरहेको बताइएको छ । उद्योगले कच्चा दूधलाई प्रशोधन गरी प्रशोधित दूध, दही, पनिर, नौनी, घिउ, मिठाइ  उत्पादन गर्दै आएको उद्योगका डेरी व्यवसाय प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

विसं २०५० मा स्थापना भएको नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा हाल एक लाख ५० हजार सदस्य छन् । आव २०७९/८० मा संस्थाको सेयर पुँजी रु एक अर्ब ४० करोड र निक्षेप मौज्दात रु नौ अर्ब ३८ करोड ३० लाख २९ हजार छ सय ८५ रहेको थियो । संस्थाले कृषि तथा उद्योग व्यवसायमा लगानी बढाएसँगै रोजगारीको उल्लेख्य सिर्जना भएको छ । हाल संस्थामा एक हजार एक सय ४४ जना वैतनिक कर्मचारी कार्यरत छन् । बचत तथा ऋण व्यवसायमा नौ सय ७९, सहकारी पसलमा एक सय १०, डेरी व्यवसायमा ७९, एग्रो फार्ममा ५८, चिया व्यवसायमा ५७ र कर्पोरेट कार्यालयमा ४३ जना कर्मचारी कार्यरत छन् ।