शीर्षकहरू

बंगालको खाडीमा बनेको चक्रवातले भारतका यी राज्यमा उच्च सतर्कता अपनाउन चेतावनी

बंगालको खाडीमा बनेको चक्रवातले भारतका यी राज्यमा उच्च सतर्कता अपनाउन चेतावनी

एजेन्सी । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले मध्य प्रदेश, महाराष्ट्र र कर्नाटकमा वर्षाको लागि चेतावनी जारी गरेको छ। बंगालको खाडीमा बनेको चक्रवातका कारण तमिलनाडुमा पनि वर्षाको चेतावनी दिइएको छ ।

भारतको निजी मौसम एजेन्सी स्काइमेटले केरलामा हल्कादेखि मध्यम वर्षाको सम्भावना व्यक्त गरेको छ। जम्मु कश्मीर, हिमाचल प्रदेश र उत्तराखण्डमा वर्षासँगै हिमपातको सम्भावना रहेको जनाएको छ ।

जम्मु कश्मीर र हिमाचल प्रदेशमा भारी हिमपात भइरहेको छ । हिमाचलको लाहौल स्पितीमा हिमपातपछि ३५ सडक र ४५ बिजुली ट्रान्सफर्मर ठप्प छन् । राष्ट्रिय राजमार्ग–३ सोलाङ्गनालादेखि अटल सुरुङसम्म र राष्ट्रिय राजमार्ग ३०५ जालोरी जोत सडक यातायातका लागि बन्द गरिएको छ ।

जम्मू–कश्मीरमा हिमपातपछि कुपवाडादेखि टंगधार केरन सडक बन्द भएको छ । कश्मीरलाई राजौरी र पुन्च जोड्ने मुगल रोड पनि बन्द छ। मंसिर ३० बिहीबार पोसनादेखि पिरकी गलीसम्मको मुगल रोडमा साढे दुई फिटसम्म हिमपात भएको थियो ।

हिमाचलमा वर्षा र हिमपातका कारण शीतलहरको प्रकोप बढेको छ । अधिकतम तापक्रममा चार डिग्री सेल्सियससम्म गिरावट आएको छ । धेरै सहरको न्यूनतम तापक्रम पनि ५ डिग्री सेल्सियस नजिक पुगेको छ । शिमलाको नरकण्डाको हतुमाता मन्दिर र चान्सालमा हिउँको सेतो कम्बल फैलिएको छ । आगामी २४ घण्टामा शिमला, कुल्लु, किन्नौर, मण्डी, चम्बा, लाहौल स्पीति, कांगडा र सिरमौरका उच्च चुचुराहरूमा हिमपात हुने सम्भावना छ।