शीर्षकहरू

मधेसका व्यापारीको ठहर– ‘काठमाडौंमा बस्नेले मधेस बुझेनन्, बुझ्दैनन्’

मधेसका व्यापारीको ठहर– ‘काठमाडौंमा बस्नेले मधेस बुझेनन्, बुझ्दैनन्’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, मधेस प्रदेशका अध्यक्ष अशोक टेमातीले काठमाडौंमा बस्नेले मधेसका व्यापारीहरूको समस्या नबुझेको गुनासो गरेका छन् । नेपाल आर्थिक पत्रकार संघले शुक्रबार गरेको मधेसका व्यावसायिक समस्या विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  

काठमाडौंमा बस्नेले मधेस नबुझेको बताउँदै कार्यक्रममा उनले भने, ‘हामी व्यापारी पारदर्शी हौँ भन्छौँ । तर, त्यो होस् भन्ने सरकार चाहँदैन । भन्सारमा ट्रक नै एक्स– रे गर्ने मेसिन किन सरकारले राख्न चाहेको छैन । हामी बैंक, सरकार र सबै क्षेत्रबाट निचोरिएका र बाँधिएका छौँ । यस्तोमा कसरी व्यापार गर्ने ?’ 

केमा भ्याट लाग्ने र केमा नलाग्ने भन्ने सूची नबनाएको गुनासो गर्दै उनले अगाडी प्रश्न गर्दै भने, ‘बैंक, बीमा लगायत सबैलाई सरकारले हेर्दै छ भने हामी व्यापारीको समस्या किन नहेर्ने ? हामी पारदर्शी बनाउने भन्छौँ तर सरकार पारदर्शिताको पक्षमा छैन ? चाहँदैन किन ? सरकारले मधेस प्रदेशबाट सबैभन्दा बढी राजश्व संकलन गर्छ तर त्यहाँको विकासमा लगानी गर्दैन त्यो किन ? हाम्रो माग कृषिमा सहयोग गर हामी नेपालको खाद्यान्न आवश्यकता पूरा गर्छौ भन्न काठमाडौं आएका हौँ ।’  

‘नेपालको आर्थिक क्षेत्रलाई हाम्रो सीमा क्षेत्रले नियन्त्रण गरेको छ तर व्यापारीका नेता देखी राजनीतिक नेतृत्वले त्यो बुझेको नै छैन कि खासमा समस्या के छ । त्यसैले यो टोली यथार्थ अवस्था बताउन आएका हो’, उनले अगाडी भने, ‘हामी नेपालीलाई रोजगार कसरी दिने र अर्थतन्त्र कसरी चलायमान बनाउने भन्ने बुझाउन आएका हौँ ।’

अहिले बोर्डर क्षेत्रका चोरी पैठारी ठूलो समस्या बनेको बताउँदै उनले भने, ‘सीमा क्षेत्रमा वारी र पारी मूल्यमा ठूलो अन्तर छ । यदि हाम्रो भ्याटलाई उताको जिएसटीसँग म्याच गराउने हो भने राजश्व बढ्छ र चोरी पैठारी घट्छ । भन्सारका कर्मचारीको मनोमानी र विभिन्न बहानामा बढी कर असुली गर्दा उपभोक्ता मूल्य बढेको छ । त्यसैले यो समस्यालाई सम्बोधन गर्नु जरुरी छ ।’

राज्यको साना उद्योगलाई सहयोग गर्ने नीति नहुनु अर्को समस्या रहेको समेत उनले गुनासो गरे । कच्चा पदार्थ थोरै मात्रामा ल्याउँदा १५ प्रतिशत र धेरै मात्रामा आयात गर्दा १० प्रतिशत पार्ने साना मारा नीति रहेको उनले उल्लेख गरे । ‘पेन्ट्सको इमालसन् मा  १० प्रतिशत बाट ४० प्रतिशत भन्सार बनाइएको छ । त्यो किन ? जबकि तयारी पेन्ट्सलाई ३० प्रतिशत भन्सार लाग्छ’, उनले भने । 

उनले अन्य गम्भीर प्रश्न गरे, ‘भारतबाट यहाँ आउने भारतीय नागरिकको गोजीमा एउटा ५ सयको नोट भेटिए पक्रेर जेल हाल्ने अनि भारतीय पर्यटक ल्याउँछु भन्दा हुन्छ ? अनि त्यो बोर्डरमा क्यासिनो खोलेको किन ? के त्यहाँ नेपालीले खेल्ने?  भारतीयलाई त पैसा बोकेर आउन नै दिइएको छैन । के पचास र सय रुपैयाँको नोट बोरामा बोकेर घुम्न आउने? यो कस्तो नियम हो ? किन यस्ता कुरामा सरकारको ध्यान दिँदैन ?’  कार्यक्रममा मधेस प्रदेशका सबै जसो जिल्लाका अध्यक्षहरुको समेत उपस्थित रहेको थियो ।