शीर्षकहरू

एक महिनामै नेपाल भित्रिए एक लाख ८ हजार पर्यटक

एक महिनामै नेपाल भित्रिए एक लाख ८ हजार पर्यटक

काठमाडौं । एक महिनामै एक लाख ८ हजार भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०२३ को नोभेम्बर महिनामा एक लाख ८ हजार ६३० जना विदेशी पाहुना नेपाल भ्रमणमा आएका हुन् ।  

सेप्टेम्बरदेखि नोभेम्बर महिनासम्म पर्यटनको मुख्य सिजन मानिन्छ । यस सिजनमा नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । विशेषगरि यो सिजनमा धेरैजसो पदयात्रा र हिमाल आरोहणका लागि विदेशी पाहुना आइरहेका छन् । 

नोभेम्बर महिना सबैभन्दा बढी भारतबाट पर्यटक आएका छन् । जहाँबाट २४ हजार ४४३ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । त्यस्तै, अमेरिकाबाट ११ हजार ४६१ जना आउँदा बेलायतबाट ६ हजार १३८ आएका छन् ।  

चीनबाट ७ हजार ६०१, अष्ट्रेलियाबाट ५ हजार ६०, थाइल्याण्डबाट ३ हजार ९६२, जर्मनीबाट ३ हजार ५१२, फ्रान्सबाट ३ हजार २०५, बंगलादेशबाट ३ हजार ७६१, श्रीलंकाबाट ३ हजार २२८ जना पर्यटक नेपाल भित्रिएका छन् ।  

सन् २०२३ को सुरुवातिदेखि नै नेपालमा पर्यटक आगमनको संख्या उत्साहजनक नै देखिएको छ । सन् २०२३ को अक्टोबर महिनामा सर्वाधिक पर्यटक भित्रिएका थिए । यस महिना १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएका थिए ।    

पर्यटन बोर्डका अनुसार सन् २०२३ को ११ महिनाको अवधिमा ९ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को जनवरिदेखि नोभेम्बरसम्म अर्थात यो ११ महिनाको अवधिमा ९ लाख १८ हजार ३०८ जना पर्यटक नेपाल भित्रिएको बोर्डले जानकारी दिएको छ ।