शीर्षकहरू

संसार कै ठूला बैंकमा गहिरिंदैछ संकट, विश्वव्यापी आर्थिक मन्दीको बढ्यो त्रास

संसार कै ठूला बैंकमा गहिरिंदैछ संकट, विश्वव्यापी आर्थिक मन्दीको बढ्यो त्रास

अमेरिकाको सबैभन्दा ठूलो बैंक जेपी मोर्गनले पछिल्ला दिनहरूमा निकै होसियारीपूर्ण कदमहरू चलिरहेको छ । त्यहाँको वित्तीय क्षेत्रमा देखिएको संकट थप गहिरिँदै जाँदा त्यसको सिधा प्रभाव बैंकिंग क्षेत्रमा देखा परेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार लगभग सबैजसो अमेरिकी वित्तीय संस्थाहरूले अहिले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने, शाखाहरू बन्द गर्ने लगायतका खर्च घटाउने उपायहरू गरिरहेका छन् । तर, उनीहरूका त्यस्ता प्रयत्न नकाम देखिँदा समग्र वित्तीय क्षेत्र नै सङ्कटतर्फ धकेलिँदै गरेको छ ।

यस्तो परिदृश्यलाई नियालिरहेका बजार विश्लेषकहरूले अमेरिकी अर्थतन्त्र अहिले मन्दीको सङ्घारमा पुगेको वा दीर्घकालीन रुग्ण आर्थिक अवस्थातर्फ अग्रसर भइरहेको टिप्पणी गरिरहेका छन् । उनीहरूको यस्तो विश्लेषणले विश्वव्यापी चिन्ता थपेको छ किनकि अमेरिकामा आर्थिक मन्दी सुरु हुनु भनेको अहिलेको भूमण्डलीकृत विश्वमा सम्पूर्ण संसार नै आर्थिक मन्दीको चपेटामा पर्नु हो ।

यो वर्ष अमेरिकाको सबैभन्दा ठूलो वित्तीय संस्थाले ब्यापकरुपमा कर्मचारी कटौती गर्‍यो । यस्तो घटनाप्रति टिप्पणी गर्दै वाल स्ट्रिटले अझै ठूलो संकट आउन नै बाँकी रहेको बताएको छ ।

यसरी कर्मचारी कटौती गर्नेमा जेपी मोर्गन मात्र छैन । अन्य धेरै वित्तीय संस्थाहरूले ठूलो संख्यामा कर्मचारी छाँटकाँट गरेका छन् । सन् २०२३ सुरु भएयता वेल्स फार्गो र गोल्डमेन सच्सले लगभग ५ प्रतिशत कर्मचारीलाई बिदा दिइसकेका छन् ।

यसमध्ये पहिलोले तीन वर्षमा ५० हजारजनक कर्मचारी निकाल्ने र १० अर्ब डलर जोगाउने बताएको छ भने दोस्रोले अबको केही साता भित्रै थप २ प्रतिशत कर्मचारी निकाल्ने जनाएको छ । उता अर्को चर्चित वित्तीय संस्था सिटी ग्रुपले गएको ९ महिनामा ७ हजारजनक कर्मचारीलाई घर पठाइसकेको छ भने अझै थप केही निकाल्ने बताएको छ ।

अर्को बैंक मोर्गन स्टेन्डलीले सन् २०२३ सुरु भइसकेयता २ प्रतिशत कामदार निकालिसकेको छ भने थप ३ हजार जना कामदारलाई अब १ महिना भित्र बिदा गर्ने तयारी गरिरहेको छ ।

तर, यस्तो समस्या अमेरिकामा मात्र छैन । रोयटर्सले गरेको एक रिपोर्ट अनुसार ब्रिटिस बैंक बर्कलेज त्यहाँ कर्मचारी निकाल्ने पछिल्लो बैंक बनेको छ । जसले हालै मात्र २ हजार जनालाई बेरोजगार बनाएको छ । यो बैंकले सवा अर्ब डलर खर्च कटौती गर्ने योजना अन्तर्गत ती कर्मचारीलाई निकालेको हो । यसले कर्मचारीलाई बोनस बाँड्ने काम पनि रोकेको छ भने रिटेल र लगानी सम्बन्धी शाखाहरू बन्द गरेको छ ।

त्यसो त बैंकिंग क्षेत्रमा मात्र होइन मन्दी अन्यत्र पनि सरिसकेको छ । फिनटेक कम्पनीहरू, लगानीकर्ता कम्पनीहरू र साना वित्तीय संस्थाहरूले पनि धमाधम कर्मचारी कटौती गरिरहेका छन् ।

उता शेयर बजारमा समेत बैंकिंग क्षेत्रको यो संकटको छाया देखिएको छ । अधिकांश बैंकहरुको शेयर मूल्य घटेकोले बैंकिंग क्षेत्र नै राताम्य बनेको छ । एक वर्षको अवधिमा सिटीबैंकको मूल्य २ प्रतिशतले घटेको छ भने गोल्डमेन सच्सको ३ प्रतिशतले तल झरेको छ । बर्क्लेको मूल्य ८ प्रतिशतले घटेको छ । उता रोयल बैंक अफ क्यानडाको शेयर मूल्यमा ९ प्रतिशतको गिरावट आएको छ । मोर्गन स्टेन्डलीको मूल्य ११ प्रतिशतले तल झरेको छ । बैंक अफ अमेरिकाका लगानी कर्ताले त झन् १३ प्रतिशत गुमाएका छन् ।

विगत १९ महिना यता अमेरिकामा ब्याजदर बढेर ५.२५ देखी ५.५ प्रतिशतसम्म पुगेको छ । जुन त्यस अघि ०.२५ देखी ०.५ प्रतिशतमा रहेको थियो । नेपालमा झैँ त्यहाँको त्यहाँको नस्तक इन्डेक्स यसबिच ४० प्रतिशतले तल झरेको छ ।