शीर्षकहरू

विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड

विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड
फाइल फोटो

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास निर्माणका परियोजनाहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । भारतीय राजदूतावास र अर्थ मन्त्रालयले संयुक्तरूपमा अर्थ मन्त्रालयमा आयोजना गरेको ‘परियोजना कार्यान्वयन समीक्षा बैठक’मा मन्त्री डा. महतले नेपालको आर्थिक उन्नयनका परियोजनामा नेपाललाई निरन्तर सघाएकामा भारत सरकारप्रति आभार व्यक्त गरेका हुन् । 

उनले सहुलियतपूर्ण ऋणका साथै अनुदान सहयोगका आयोजनाहरुको शीघ्र कार्यान्वयनका निम्ति नेपाल सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । बैठकमा भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले गरेका थिए । त्यस अवसरमा दुवै पक्षले आपसी सहयोग र सहकार्यका बारेमा पनि छलफल गरेका थिए । 

अर्थमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डलमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय,  विभाग एवं निकायका साथै भारतीय दूतावासका सम्बन्धित अधिकारीको सहभागिता थियो ।