शीर्षकहरू

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पुस १७ गते लाभांश पारित गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पुस १७ गते लाभांश पारित गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले पुस १७ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको हाल कायम चुक्तापूँजी २१ अर्ब ६० करोड रूपैयाँको आधारमा कर समेत ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले गत वर्षको जतिनै लाभांश यस वर्ष वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ४ दशमलव २१ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो । यस अघि दुई आर्थिक वर्ष कम्पनीले लाभांश वितरण गरेको छ । सुरुको वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

उल्लेखित प्रस्तावसँगै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक चयनको लागि निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । २०७८ साल मङ्सिर २९ गते सम्पन्न भएको तेस्रो साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट चार वर्षे कार्यकालका लागि निर्वाचित सञ्चालक सुमन पोखरेलले सञ्चालक पदबाट राजीनामा दिएकाले उक्त रित्त स्थानमा बाँकी कार्यकालका लागि प्रवीण सुवेदीलाई नियुक्त गरेको निर्णयलाई पनि सभाले अनुमोदन गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनलिे पुस ६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ५ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।