शीर्षकहरू

भूकम्पपीडितले अस्थायी आवास अनुदान दुई किस्तामै पाउने

भूकम्पपीडितले अस्थायी आवास अनुदान दुई किस्तामै पाउने

काठमाडौं । सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पीडितलाई अस्थायी आवास बनाउने रकम दुई किस्तामा दिने निर्णय गरेको छ । २५/२५ हजार गरी दुई किस्तामा ५० हजार रुपैयाँ दिने सरकारले निर्णय गरेको हो ।

बुधबार बसेको मन्त्रीपरिषद्‌ बैठकको निर्णयबारे जानकारी गराउँदै सरकारकी प्रवक्ता रेखा शर्माले अस्थायी आवास निर्माण अनुदान दुई किस्तामै उपलब्ध गराउने निर्णय भएको बताएकी हुन्‌ ।

‘दुबै किस्ताको रकम सरकारबाट गइसकेको छ, तर अस्थायी आवास बनाउने अनुदान दुई किस्ता गरी दिने निर्णय भएको छ,’ सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेकी शर्माले भनिन्‌, ‘पालिकाहरुले पीडितहरुको वर्गीकरणमा ढिलाई गर्दा अनुदान वितरण गर्न समस्या भएको रिपोर्ट आएको छ ।’

यस्तो अवस्थामा एकै किस्तामा रकम दिँदा अनुदान दुरुपयोग हुनसक्ने जोखिम र वास्तविक पीडित मर्कामा पर्ने हुनाले दुई किस्तामा रकम दिने सरकारले निर्णय गरेको हो । तर, सत्ता गठबन्धन दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले बुधबार भूकम्पपीडितलाई अस्थायी आवास बनाउने रकम एकैपटक दिन सरकारसँग अनुरोध गरेको थियो ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर कात्तिक १७ गते गएको ६.४ म्याग्निच्युटको भूकम्पमा परी १५३ जनाको मृत्यु भएको थियो । भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको थियोपुगेको छ ।