शीर्षकहरू

एनसेलबाट आजियाटा बाहिरिँदा सरकार र बैंक दुबै डुब्ने खतरा

एनसेलबाट आजियाटा बाहिरिँदा सरकार र बैंक दुबै डुब्ने खतरा

काठमाडौं । नेपालमा लगानीको वातावरण छैन भने भाष्य स्थापित गर्ने आफ्नो प्रयास असफल भएपछि अन्ततः विवादास्पद टेलिकम कम्पनी एनसेलको विदेशी लगानीकर्ताले बाहिरिने निर्णय गरेको छ ।  फेरि पनि उसले नेपालको नाम अन्तर्राष्ट्रिय समुदायमा धुमिल पार्ने उद्देश्य सहित नेपालमा व्यवसाय गर्ने वातावरण नरहेको आरोप लगाएको छ ।

हाल टेलिया भनिने तात्कालिक टेलियासोनेरा कम्पनीको स्वामित्वमा रहेको शेयर आजियाटा इन्भेस्टमन्ट्स यूपे लिमिटेडले विसं २०७२ चैत २९ गते किनेको थियो। मलेसियास्थित आजियाटा समूह र टेलियाबीच यसरी शेयर कारोबार हुँदा नेपाल सरकारलाई सो वापत तिर्नुपर्ने पुँजीगत लाभकर र त्यसमा लाग्ने जरिबानासहित कुल ६६ अर्ब रुपैयाँ रकम एनसेलले तिर्नुपर्ने देखिएको थियो। त्यो रकम नतिर्न कर विवादलाई एनसेलको माउ कम्पनी आजियाटाले चार वर्षअघि अन्तर्राष्ट्रिय मध्यस्थकर्ता समक्ष पुर्‍याएको थियो।

तर, गएको जुन महिनामा मध्यस्थताकर्ता निकाय इन्टरनेशनल सेन्टर फर सेटलमन्ट अफ इन्भेस्टमन्ट डिस्प्यूट (इक्सिड) ले अन्तिम निर्णय दिँदै एनसेल र आजियाटाको दाबीलाई खारेज गरिदिएको थियो । यसरी अन्तर्राष्ट्रिय मध्यस्थकर्ताले समेत अन्तर्राष्ट्रिय लगानीका हिसाबले पनि नेपालमा “कानुनी शासन छ” भन्ने सन्देश प्रवाह गराएपछि एनसेल कर तिर्ने पर्ने दबाबमा परेको थियो । सो, कुराको बदला लिन नै अहिले नेपाललाई फत्तुर लगाउँदै आजियाटा बाहिरिन खोजेको देखिन्छ ।

नेपालमा वैदेशिक लगानी भित्राउन ‘लगानी सम्मेलन’ गर्ने तयारी नेपाल सरकारले गरिरहेको बेला हाल नेपालमा रहेको ठूलोमध्ये एक विदेशी लगानीकर्ताले ‘व्यावसायिक वातावरण नभएको’ भन्दै आफु फिर्ता हुनुको कारण सार्वजनिक गर्दा त्यसबाट नेपालमा लगानी गर्नेबारे सोचिरहेका धेरै सम्भावित लगानीकर्ताहरू पछि हट्न सक्छन् । तर, यसरी राष्ट्रिय छवि नै धुमिल पार्ने संस्थाप्रति नेपाल सरकार जति कडा रुपमा प्रस्तुत हुनुपर्ने हो त्यो भने भएको देखिँदैन ।

लगानी नगर्ने कमाएको लाने ?

एनसेलमा रहेको आफ्नो लगानी फिर्ता लाने आजियाटाको निर्णयपछि एउटा प्रश्न भने फेरि पनि गहन रुपमा उठेको छ– के नेपालमा व्यावसायिक वातावरण नभएकै हो त ? जानकारहरू भने यस्तो आरोप स्विकार्दैनन् ।

नेपाल दुरसंचार प्राधिकरणका पुर्व अध्यक्ष दिगम्बर झा नेपालमा लगानी नै नगरी पैसा मात्र कमाउन खोज्नेले यस्तो आरोप लगाएको बताउँछन् । उनका अनुसार एनसेलले नै पनि नेपालमा लगानी भने गर्दै नगर्ने तर नाफा भने लिएर जाने गरेको बताए ।

तर, अर्का पुर्व अध्यक्ष भेषराज कँडेल भने सरकारले विदेशी लगानी जोगाउन नसकेको तर्क गर्छन् । “यहाँ सबैले दुहुनो गाई बनाएका कारण उनीहरूले बाहिरिने निर्णय गरेका हुन्”, आजियाटाको आरोपलाई सहयोग पुग्ने गरी उनले आफ्नो बिचार राखे ।  

यसै गरी लगानी नगरी नाफा मात्र कमाऊँ खोजेका कारण युटिएल र स्मार्ट टेलिकमले काम गर्न नसक्नेको र स्मार्टको लाइसेन्स नै खारेज भएको उदाहरण झाले पेश गरे । उनले भने, “सरकारले तोकिएको कर तिरेर व्यवसाय गर भन्दै लाइसेन्स दिएकै हो । नयाँ सेवा विस्तार गर्छु भन्दा थ्रीजी, फोरजी आदिको सेवा संचालन इजाजत पनि दिएकै हो । तर, नयाँ प्रविधि नै नभित्र्याउने अनि सरकारलाई दोष दिने मात्र गर्न पाइन्छ ?”

एनसेलले पनि नयाँ प्रविधिमा खर्च नै नगरेकोले नाफा घट्दै गएका कारण आजियाटा बाहिरिने निर्णयमा पुगेको झाले बताए । यहाँ व्यावसायिक वातावरण भएन भनेर भन्नेले यहाँको कानुन अनुसार कर तिर्‍यो वा तिरेन भन्ने पनि हेर्नुपर्ने उनले बताए । उनले भने, “कर नतिर्ने, नयाँ प्रविधिमा खर्च नगर्ने, नाफा मात्र खाने तर सेवा विस्तार नगर्नेले भनेको कुरामा कति सत्यता होला आफैँ बुझ्नुस् ।’’

 बैंक डुबाउने खेलको आशङ्का

समाचार स्रोतहरूका अनुसार एनसेलले नेपालका ६ वटा वाणिज्य बैंकहरूबाट २४ अर्ब रुपैयाँ ऋण लिएको छ । आजियाटा बाहिरिएसँगै एनसेल टाट पल्टियो भन्दै सो ऋण नतिर्ने प्रपञ्च समेत हुन सक्ने सम्भावना बढेको छ ।

यस्तो आशङ्का किन पनि गरिएको हो भने आजियाटाको नाममा रहेको ८० प्रतिशत शेयर नेपाली साझेदारका रुपमा रहेका सतिशलाल र ससिनलाल आचार्यले किन्दै छन् भन्ने चर्चा छ । यहाँ स्मरणीय के छ भने सतिशलाल उनै व्यक्ति हुन् जसले लगानी गरेको अर्को टेलिकम कम्पनी स्मार्ट टेलिकमले सरकारलाई कर नतिरेको कारण लाइसेन्स नै खारेज भएको छ ।

अहिले सरकारलाई घाँडो भएको स्मार्ट टेलिकमबाट झन्डै ३० अर्ब रुपैयाँ उठ्न बाँकी छ । यदि आजियाटालाई नेपालका बैंकमा रहेको ऋण हामी नै तिर्छौँ । सरकारलाई तिर्न बाँकी कर पनि हामी नै मिलाउँला भन्दै आचार्य दाजुभाइले बिदा दिए भने आजियाटा उम्कन्छ र यहाँका बैंकदेखि सरकारको बक्यौता समेत डुब्छ भन्ने चर्चा हिजो बुधबारदेखि नै व्याप्त छ ।

त्यसैले, यदि नेपाल सरकारले बेलैमा यसमा ध्यान दिनु आवश्यक छ कि आजियाटाबाट आचार्यहरूको नाममा शेयर सार्नुअघि नै एनसेलले सरकारलाई बुझाउन बाँकी रकम उठाउनु जरुरी हुन्छ । त्यति मात्र होइन नेपाल सरकारको स्वामित्वमा रहेकादेखि सर्वसाधारणको निक्षेपलाई एनसेलमा लगानी गरेका बैंकहरू पनि जोगाउनेतर्फ सोच्नुपर्छ ।

स्मार्टमा झैँ एनसेलमा पनि यदि लगानीकर्ताले गति छाडे भने कहाँबाट उठाउने त्यत्रो रकम । अझै लगभग ५ वर्ष बाँकी रहेको एनसेलको लाइसेन्स कायम हुन्जेल नाफा कुम्ल्याउने र त्यसपछि कम्पनी नै टाट उल्टियो भन्दै हात उठाउने जुक्ति त कतै अहिले ’८० प्रतिशत एनसेल पनि किनेर एक्लै चलाउने आँट गरेको’ भन्दै वाहवाही कमाइरहेका शतिसहरूको होइन ? प्रश्न विचारणीय छ ।