शीर्षकहरू

व्यवसायी सुवोधकुमार अग्रवाल भ्रष्टाचारी ठहर, सजायमा सवा अर्ब रुपैयाँ र जेल

व्यवसायी सुवोधकुमार अग्रवाल भ्रष्टाचारी ठहर, सजायमा सवा अर्ब रुपैयाँ र जेल

काठमाडौं । स्वीकृत सीमाभन्दा बढी कर्जा लिएर ऋण दुरुपयोगको आरोप खेपिरहेका विराटनगरका व्यवसायी सुबोधकुमार अग्रवालसहित ९ जना भ्रष्टाचारी ठहर भएका छन्‌ ।

सर्वोच्च अदालतले झण्डै १८ वर्ष लामो ऋण दुरुपयोग मुद्दामा सुनुवाई गर्दै दोषीहरूबाट १ अर्ब ३७ करोड ७१ लाख रुपैयाँभन्दा बढी रकम भराउन र एक/एक वर्ष जेल सजाय हुने फैसला सुनाएको हो । सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार चुँडालको संयुक्त इजलासले विशेषको फैसला सदर गर्दै कैद र विगो भराउने निर्णय गरेको हो ।

अग्रवाल विराटनगरका प्रतिष्ठित व्यवसायी हुन् । उनले अन्नपूर्ण सोप एण्ड केमिकल इन्डस्ट्रिज, नारायण भेजिटेवल इन्डस्ट्रिज, गणेश प्लाष्टिक इन्डस्ट्रिज, जयकाली बिस्कुट एण्ड कन्फेक्सनरी इन्डस्ट्रिज, दन्तकाली पैकेजिङ इन्डस्ट्रिज, लक्ष्मी फुटवेयर इन्डस्ट्रिज, अन्नपूर्ण आइरन इन्डस्ट्रिज, घटस्थापना इन्टर प्राइजेज र फुलपाती इन्टरप्राइजेज लगायत ९ उद्योग र फर्मका नाममा राष्ट्रिय वाणिज्य बैंक रानीशाखा विराटनगर मोरङबाट पटक पटक कर्जा लिएका थिए ।

कर्जा दुरुपयोग भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले वि.सं. २०६२ मै उनीहरूलाई भ्रष्टाचारी ठहर गरेको थियो । तर, वि.सं. २०६८ सालमा अग्रवाल लगायत दोषी ठहर भएकाहरू फैसला पुनरावेदनका लागि सर्वोच्च अदालत पुगेका थिए । पुनरावेदन दायर भएको १२ वर्षपछि सर्वोच्चले विशेष अदालतकै फैसलालाई सदर गरिदिएको हो ।

सर्वोच्चले सुवोधकुमार अग्रवालसहित सुरेशकुमार अग्रवाल, कृष्णकुमार अग्रवाल, नारायण अग्रवाल, दामोदर अग्रवाल र मंगतुराम अग्रवाललाई पनि ऋण दुरुपयोग अभियोगमा दोषी ठहर गरेको छ । ऋण दुरुपयोग गराउन संलग्न रहेका भनिएका राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन प्रबन्धक राधाप्रसाद साह, शिवचरण मण्डल, चन्द्रलाल अमात्य, भैरवप्रसाद पोखरेल, सहायक वीरेन्द्रलाल छोटे र सहायक श्यामकुमार श्रेष्ठ पनि दोषी ठहर भएका छन्‌ ।

ऋणी र बैंक कर्मचारीको मिलेमतोमा कमसल धितो राखी अत्यधिक कर्जा लिएको र भाखा नाघेका कर्जालाई पुनः ऋण कर्जा स्वीकृत गरी कर्जा लेनदेन गरेको गरेको अदालतले ठहर गरेको हो । वाणिज्य बैंकको केन्द्रीय कार्यालयले वि.सं. २०५३ बैशाख १२ गते आर्थिक वर्ष ०५२/५३ को लागि फण्डिङमा ३५ प्रतिशत अर्थात २६ करोड २६ लाख रुपैयाँ र नन-फण्डिङमा ५० प्रतिशत २४ करोड ८७ लाख गरी ५१ करोड १३ लाख रुपैयाँ कर्जा सीमा स्वीकृत गरेको थियो । तर, धितो भने १४ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको मात्रै लिएको थियो ।

उल्लेखित अभियोगमा बैंकका कर्मचारीमध्ये राधाप्रसाद साह, चन्द्रलाल अमात्य, शिवचरण मण्डल र भैरव प्रसाद पोख्रेल समेत भ्रष्टाचारी ठहर भएका छन्‌ । निजहरुलाई जनही ६-६ महिना कैद सजाय तोकिएको छ ।