शीर्षकहरू

पर्यटन सञ्जालले जाजरकोट भूकम्प पीडितका लागि राहत बुझायो

पर्यटन सञ्जालले जाजरकोट भूकम्प पीडितका लागि राहत बुझायो

काठमाडौं । होटल संघ नेपालका अध्यक्ष विनायक शाह नेतृत्वको पर्यटनसँग सम्बन्धित संघ-संस्थाहरूको सञ्जाल पर्यटनका लागि सँगसँगै (टुगेदर फर टूरिजम–टीएफटी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जाजरकोट भूकम्प पीडितका लागि राहत रकम र सामग्री हस्तान्तरण गरेको छ । 

राहत सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै प्रधानमन्त्री दाहालले प्राप्त सहयोगबाट भूकम्प पीडितको जीवनयापनमा सहजता हुने बताए । साथै उनले पर्यटन क्षेत्रका छाता संगठनहरूको सञ्जालबाट यस क्षेत्रको विकास र विस्तारमा योगदान हुने बताउँदै सञ्जालसँग छिट्टै थप विषयमा छलफल गर्ने पनि बताए ।

पहिलो चरणमा होटल संघ नेपालको तर्फबाट १५ लाख ५६ हजार ८७८ रुपैयाँ र सदस्य होटल हिमालयको तर्फबाट थप ५ लाख रुपैयाँ बराबरको एक्रिलिक पन्चु-५०० थान, लाइभ सेभर वाटर फिल्टर-१५ वटा साथै स्कल नेपालकोतर्फबाट ५ लाख रुपैयाँ बराबरको ब्लयांकेट-२४० थान, स्लिपिङ व्याग-१०० थान, ह्विल चियर-५ थान, स्ट्रेचरः ५ थान, प्रोटेक्टिभ सुट-२० थान सामग्रीसहित नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज र टुरिष्ट बस एसोसिएसन अफ नेपालको सहित गरी करिब ३० लाख रुपैयाँ बराबरको नगद जिन्सी रहेको थियो ।

उक्त अवसरमा नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापा, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिजका अध्यक्ष शिव अधिकारी, टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण आचार्य, स्कल नेपालका अध्यक्ष महेन्द्रराज पौडेल र होटल संघ नेपालका निवर्तमान अध्यक्ष सृजना राणा, द्वितीय उपाध्यक्ष दिनेश तुलाधर र कोषाध्यक्ष युवराज श्रेष्ठलगायतले संयुक्त रूपमा नगद र जिन्सी राहत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेका थिए ।

बढ्दो जाडो याममा भूकम्प पीडितहरूलाई न्यानो कपडा, ओढ्ने कम्बल, ओछ्याउने म्याट्रेस, शौचालय प्यान, एकमुखे चुल्हो लगायतका सामग्री संकलित रकमबाट खरिद हुन उपयुक्त देखिएको पनि सो अवसरमा जानकारी गराइएको थियो ।

हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष शाहले भूकम्पबाट प्रभावित व्यक्ति तथा परिवारका लागि पर्यटन सम्बन्धी शीप अभिवृद्धि  तालिम सञ्चालन गरी सिक्दै कमाउँदैको अवधारणा अन्तर्गत कार्यक्रमहरू छिट्टै सञ्चालन गरी भूकम्प पीडितहरूलाई जिविकोपार्जनमा सहयोग पुर्‍याउने पनि जानकारी गराए ।