शीर्षकहरू

ज्याक माले थाले नयाँ व्यापार, पाउला त नेपाली कोदोले अन्तर्राष्ट्रिय बजार ?

ज्याक माले थाले नयाँ व्यापार, पाउला त नेपाली कोदोले अन्तर्राष्ट्रिय बजार ?

काठमाडौं । गएको असार १२ गते चिनियाँ खर्बपति ज्याक मा  नेपाल आएर तीन दिन बसे । उनी यहाँ किन आएका थिए भन्ने कसैले औपचारिकरुपमा बताएनन्, र उनको भ्रमणको उद्देश्य रहस्यमै रह्यो । 

तर, उनी फर्किएपछि भने एउटा हल्ला चल्यो–ज्याक मा नेपालमा कोदो खेतीको सम्भाव्यताबारे बुझ्न आएका थिए । त्यो समाचारलाई पुष्टि गर्न केही सञ्चार माध्यमहरूले ज्याक माले सँगै लिएर घुमेका र एक छाक खाना समेत सँगै खाएको नेपाली धनाढ्य चौधरी समूहका सदस्यको हवाला दिए । उनीहरूको अनुसार पनि ज्याक्मा नेपालमा कृषि क्षेत्रमा लगानीको सम्भाव्यताबारे छलफल र अध्ययनका लागि आएका थिए । 

अहिले आएर त्यसबेलाको उडन्ते खबर भने सत्य साबित भएको छ । किनकि अलिबाबा र एन्ट ग्रुप कर्पोरेशनका संस्थापक ज्याक माका ती कम्पनीहरूलाई चिनियाँ सरकारले एक ढङ्गले आफ्नो नियन्त्रणमा लिएपछि उनले हालै नयाँ व्यापार शुरु गरेका छन् । 

हाल स्टार्टअप जस्तो देखिनेगरि जम्मा एक करोड चिनियाँ युआनको लगानीमा ज्याक माले ‘ह्याजाओ माज् किचन फुड’ नामक कम्पनी अघिल्लो हप्ता दर्ता गरेका छन् ।  १४ लाख अमेरिकी डलरको लगानीमा शुरु गरिएको सो कम्पनीले कृषिजन्य उत्पादनहरू प्याकेजिङ गरेर बेच्ने चिनियाँ सञ्चारमाध्यम साउथ चाइना पोस्टले उल्लेख गरेको छ । 

सन् २०२० पछि विभिन्न प्रकारका सरकारी हस्तक्षेप र दबाब झेल्दै आएका ज्याक माले एउटा सानो कम्पनीबाट कृषिजन्य उत्पादनहरू बिक्री शुरु गर्न लागेका भए पनि उनी त्यसलाई निकै ठूलो व्यापारिक संस्थाकारुपमा भविष्यमा विस्तार गर्ने योजनामा रहेको र त्यसकै तयारी स्वरूप नेपालमा भ्रमण गरेको उनका पछिल्लो गतिविधिबाट देखिन्छन् । 

नेपालमा ‘अपहेलित’ अन्नकोरुपमा रहेको कोदोलाई संयुक्त राष्ट्र संघले ‘सुपर फुड’का रूपमा व्याख्या गरेको छ । त्यही कोदोलाई आफ्नो व्यापारको आकर्षण बनाउने तयारीमा ज्याक्मा रहेको बुझिन्छ ।

त्यसो त नेपालमा ‘कु अन्न’ भनिँदै आएको कोदोलाई प्रवर्द्धन गर्न संयुक्त राष्ट्र संघले सन् २०२३ का लागि अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष घोषणा गरेको छ । यो बाली नेपालमा ७० भन्दा बढी जिल्लाहरूमा खेती गर्न सकिने कृषि मन्त्रालयले आफ्नो विवरणमा उल्लेख गरेको छ । 

विगत एक दशकदेखि नेपालमा घट्दै गइरहेको कोदो खेतीको विस्तारमा ज्याक माको नयाँ व्यापारिक योजना र कम्पनीले टेवा पुर्‍याउँछ वा पुर्‍याउँदैन त्यो भने अहिले नै निश्चित छैन । तथापि बङ्गलादेश, नेपाल र पाकिस्तानको भ्रमण गरी यी मुलुकहरूमा उच्च सम्भाव्यता बोकेका कृषिजन्य उत्पादनहरूको अध्ययन गरेका ज्याक माले कृषिजन्य उत्पादनको बिक्री वितरण गर्नेगरि नयाँ व्यापार शुरु गर्नुले आशाको सञ्चार भने गराएको छ । 

हाल नेपालमा २ लाख ६० हजार हेक्टर जमिनमा कोदो खेती हुने गरेको र सरदर वार्षिक तीन लाख २५ हजार मेट्रिक टनको हाराहारीमा उत्पादन हुने गरेको छ ।