शीर्षकहरू

तेस्रो लगानी सम्मेलन आगामी बैशाख ९ र १० गते, दुई समिति गठन

तेस्रो लगानी सम्मेलन आगामी बैशाख ९ र १० गते, दुई समिति गठन

काठमाडौं । सरकारले तुलनात्मक लाभका क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न भन्दै आगामी वैशाखमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ । वैशाख ९ र १० गते सम्मेलन आयोजना गर्नेगरी विभागीय मन्त्रीको संयोजकत्वमा निर्देशक समिति र मुख्य सचिवको संयोजकत्वमा समन्वय समिति नै गठन गरेको हो ।

चालू आर्थिक वर्षको बजेटको बूँदा नं. ७८ मा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘तुलनात्मक लाभका क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न सम्वत्‌ २०८० मा लगानी सम्मेलन आयोजना गरिने’ लेखेका थिए । बजेटमा घोषणा गरिएअनुसार वैदेशिक लगानी आकर्षित गर्न सरकारले लगानी सम्मेलन आयोजना गर्न लागेको हो ।

सरकारले कृषि, ऊर्जा, पर्यटन र निर्यात प्रबर्द्धन लगायत क्षेत्रलाई तुलनात्मक लाभका क्षेत्र घोषित गरेको छ । यीनै क्षेत्रमाा लगानी आह्वान गर्दै सम्मेलनमार्फत नेपाललाई लगानी गन्तव्यका रूपमा चिनाउने सरकारको लक्ष्य छ । सम्मेलन तयारीको काम लगानी बोर्ड नेपालले गर्नेछ । अर्थमन्त्री संयोजकत्वको निर्देशक समितिका सदस्य-सचिवमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई नै राखिएको छ ।

झण्डै ६ वर्षपछि सरकारले विकास साझेदार र लगानीकर्ता एवम्‌ मित्रराष्ट्रहरूलाई निम्त्याउनेगरी लगानी सम्मेलन आयोजना गर्न लागेको हो । यसअघि वि.सं. २०७३ र २०७५ मा गरी दुईपटक नेपालमा लगानी सम्मेलन आयोजना गरिएको थियो । कोरोना महामारी फैलिएपछि सरकारले त्यसपछि भने लगानी सम्मेलन गर्न सकेको थिएन ।