शीर्षकहरू

उन्नती सहकार्य लघुवित्तको एफपीओ सर्वसाधारणमा बाँडफाँट

उन्नती सहकार्य लघुवित्तको एफपीओ सर्वसाधारणमा बाँडफाँट

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । शुक्रवार विहान विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । 

विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि कुल १० लाख ७२ हजार ७६८ जनाले आवेदन दिएका थिए । कुल आवेदकहरूमध्ये रितपूर्वक नभएको भन्दै ३२५ जनाको आवेदन रद्द गरिएको जानकारी समेत विक्री प्रबन्धकले दिएको छ ।

योग्य १० लाख ७२ हजार ४४३ जनालाई आईपीओ बाँडफाँटमा सहभागी गराईएको थियो । योग्य आवेदकहरूमध्ये १७ हजार ८४५ जनाले शेयर प्राप्त गरेका छन् । यी मध्ये पनि १ जनाले ११ कित्ता र एक जनाले १० १० दशमलव १८ कित्ता र बाँकीले १० कित्ताका दरले शेयर पाएको विक्री प्रबन्धकको भनाई छ । 

कम्पनीले प्रतिशेयर एक सय रूपैयाँ अंकित मूल्यमै कात्तिक २१ गतेदेखि २४ गतेसम्म एफपीओ विक्री गरेको थियो । धितोपत्र दोस्रो बजारमा सूचीकृत रहेको यस कम्पनीले बैंक तथा वित्तीय संस्था ऐन २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने व्यवस्था बमोजिम एफपीओ जारी गरेकोे हो । हाल कम्पनीमा सर्वसाधारणतर्फ २५ दशमलव ५५ प्रतिशत शेयर स्वामित्व रहेको छ । यसर्थ ३० प्रतिशत शेयर स्वामित्व सर्वसाधारण तर्फ कायम गर्न कम्पनीले १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता एफपीओ निष्कासन गरेको हो । 

उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड र सहकार्य लघुवित्त वित्तीयसँस्था एक आपसमा गाभिएपछि उन्नति सहकार्य लघुवित्तको नामबाट २०७७ साल असार २६ गतेदेखि एकिकृत कारोबार गरेका हुन । अधिकृत पूँजी ४० करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी २४ करोड ६८ लाख ६५ हजार रूपैयाँ छ । हाल २२ करोड ९० लाख २० हजार रूपैयाँ चुक्तापूँजी रहेको कम्पनीको एफपीओ निष्कासन तथा बाँडफाँटपछि चुक्तापूँजी २४ करोड ६८ लाख ६५ हजार रूपैयाँ कायम भएको छ ।

कम्पनीको वास्तविक वित्तीय अवस्थालाई हेर्दा आर्थिक वर्ष ०७६/७७ देखि ०७८/७९ सम्म निरन्तर सञ्चित नाफामा रहेको देखिन्छ । आर्थिक वर्ष ०७६/७७ मा ९ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गरेको कम्पनीले आर्थिक वर्ष ०७७/७८ मा २० लाख ९४ हजार रूपैयाँ सञ्चित नाफा गरेको थियो । आर्थिक वर्ष ०७८/७९ मा भने कम्पनीले ३६ लाख ७२ हजार रूपैयाँ सञ्चित नाफा गरेको छ । आर्थिक वर्ष ०७९/८० सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नाफा ९६ लाख १४ हजार रूपैयाँ छ । चालू आर्थिक वर्षको अन्त्यसम्म भने कम्पनीले २ करोड २९ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ५ रूपैयाँ ८ पैसा र प्रतिशेयर नेटवर्थ २०० रूपैयाँ ३६ पैसा रहेको छ ।