शीर्षकहरू

चार महिनामा पाँच खर्बको आयात हुँदा ५० अर्बको निर्यात

चार महिनामा पाँच खर्बको आयात हुँदा ५० अर्बको निर्यात

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को चौथो महिना अर्थात कात्तिक महिनासम्ममा आयात निर्यात दुबै घटेको छ । यस अवधिमा आयात ३.७९ प्रतिशतले घटेको छ भने निर्यात ७.६८ प्रतिशतले घटेको छ । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवको कात्तिक महिनासम्ममा ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो ।      

त्यस्तै, यस अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । गत वर्षको यही अवधिमा ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।      

यस अवधिमा नेपालले ४ खर्ब भन्दा बढी व्यापार घाटा व्यहोरेको छ । यस अवधिमा नेपालले ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख व्यापार घाटा व्यहोरेको हो । यो व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा ३.३४ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा नेपालले ४ खर्ब ७७ अर्ब ९१ करोड ७० लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो ।          

कात्तिक महिनासम्म ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा ५ खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।