शीर्षकहरू

धौलागिरी लघुवित्तको शेयर कारोबार फुकुवा

धौलागिरी लघुवित्तको शेयर कारोबार फुकुवा

काठमाडौं । धौलागिरी लघुवित्तको शेयर कारोबार फुकुवा भएको छ । कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम लाभांश प्रस्ताव सम्बन्धी सूचना नेप्सेलाई उपलब्ध नगराएको भन्दै कात्तिक २४ गते कारोबार स्थगन गर्ने निर्णय गरेको थियो । नेप्सेले तीन दिनभित्र के कति कारणले समयमानै लाभांश सम्बन्धी जानकारी दिन नसकिएको हो सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएको थियो ।

नेप्सेका अनुसार कम्पनीले कात्तिक २२ गते अपरान्ह ४ बजे सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अर्को दिन कात्तिक २३ गते बेलुका ६ः१५ बजे मात्र नेप्सेलाई जानकारी दिएको थियो । धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना निर्णय भएकै दिन वा भोलिपल्ट कारोबार खुल्नु अगाबै नेप्सेमार्फत सार्वजनिक गर्नुपर्ने हुन्छ ।

कम्पनीले नेप्सेलाई मङ्सिर ४ गते पठाएको स्पष्टिकरणमा सर्भर मेलमा समस्या आएका कारण समयमा जानकारी गराउन नसकिएकाले आगामी दिनमा सजग भई यस्तो गल्ती नदोहोराउने प्रतिबद्धता व्यक्त गरेकाले नेप्सेले सचेत गराउँदै मङ्सिर ५ गते कारोबार खुला गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १३ करोड ३१ लाख १ लाख रूपैयाँ रहेको छ ।