शीर्षकहरू

सूर्य नेपाल सेन्ट्रल ओपन सुरु, एमेच्योर टासी छिरिङ शीर्ष स्थानमा

सूर्य नेपाल सेन्ट्रल ओपन सुरु, एमेच्योर टासी छिरिङ शीर्ष स्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन एमेच्योर गल्फर टासी छिरिङ ७-अन्डर ६५ को सानदार नतिजामा शीर्षस्थानमा रहेका छन्‌ । उनले राष्ट्रिय टिमका युवा एमेच्योर गल्फर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारे । 

गोकर्ण गल्फ क्लबमा आज सहभागी ३३ प्रोफेसनल गल्फरलाई दुई एमेच्योर खेलाडीले पछि पारे । टासी शीर्षस्थानमा रहदा सदभाव आचार्य ६-अन्डर ६६ सहित दोस्रो स्थानमा रहेका छन्‌ । धरानका प्रोफेसनल गल्फर नीरज तामाङ ३-अन्डर ६९ सहित तेस्रो स्थानमा रहेका छन्‌ । प्रोफेसनलतर्फ अगाडि रहेका नीरज लिडर एमेच्योर टासी भन्दा ४ स्ट्रोकले पछि रहेकाछन् ।

२-अन्डर ७० सहित जयराम श्रेष्ठ चौंथो स्थानमा रहँदा १-अन्डर ७१ को नतिजामा तोरण विक्रम शाही पाँचौ स्थानमा छन् । इभन(पार ७२ को स्कोरमा दिनेश प्रजापति र प्रदीपकुमार लामाले संयुक्त रूपमा छैटौं स्थान बाँडे । यसैगरी तीन गल्फर पशुपति शर्मा, भुवन नगरकोटी र बलभद्र राई संयुक्त रूपमा आठौं स्थानमा छन्‌ । उनीहरूले १-ओभर ७३ को कार्ड बनाए । 

शीर्षस्थानमा रहने क्रममा टासीले उत्कृष्ट सुरुवात गर्दै फ्रन्ट नाइन ७-अन्डर २९ मा पूरा गरे । यो क्रममा उनले दोस्रो, छैटौं, सातौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे । पाँच पारको तेस्रो होलमा भने इगलको सफलता प्राप्त गरे । यसपछि १३औं, १५औ, र १७औं होलमा एक-एक सट बचाएपनि १२औं, १७औं र १८औं होलमा बोगी खेप्दै ब्याक नाइन इभन-पार ३६ मा सकाए ।

सदभावले फ्रन्ट र ब्याक नाइन दुवै ३-अन्डर ३३ मा पूरा गरे । दोस्रो होलमा बोगी खेपे पनि तेस्रो, चौथो, छैटौं र नवौं होलमा बर्डी प्रहार गरे । ११औ, १२औं, १४औं र १७औं होलमा एक-एक सट बचाए । १६औं होलमा बोगीको सामना गरे ।

तेस्रो स्थानमा रहेका नीरजले फ्रन्ट नाइन १ अन्डर ३५ मा सकाउने क्रममा पहिलो र तेस्रो होलमा बर्डी हाने भने आठौं होलमा एक सट खेर फाले । उनले ब्याक नाइन २-अन्डर ३४ मा सकाए । यो क्रममा १०औं र १४औं होलमा बर्डी प्रहार गरे भने ११औं र १६औं होलमा बोगी खेप्दा १२औं होलमा इगलको सफलता प्राप्त गरे ।

चौथो स्थानमा रहेका जयराम श्रेष्ठले फ्रन्ट नाइन ४-अन्डर ३२ मा पूरा गरे । उनले पाँचौं, सातौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे । यसपछि १७औं होलमा डबल बोगी खेप्दा २-ओभर ३८ मा सकाए ।

७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कूल ३८ खेलाडीको सहभागिता रहेको छ । दोस्रो दिनको समाप्तिमा उत्कृष्ट २१ प्रोफेसनल गल्फर र ५ एमेच्योर खेलाडीले कट बनाउनेछन्‌ ।

कूल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ९४ हजार र ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्‌ । साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।