शीर्षकहरू

अपर तामाकोशीले तीन महिनामा कमायो १ अर्बभन्दा बढी नाफा

अपर तामाकोशीले तीन महिनामा कमायो १ अर्बभन्दा बढी नाफा

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको तीन महिनामा १ अर्ब ७२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस वर्ष कम्पनीले गत वर्षकोभन्दा बढी नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ७९ करोड ७७ लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेको र वित्तीय खर्च घटेकाले खुद नाफामा बृद्धि देखिएको हो । गत वर्ष ३ अर्ब ५६ करोड रूपैयाँभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले यस वर्ष ३ अर्ब ७१ करोड रूपैयाँभन्दा बढीको विद्युत विक्री गरेको हो । वित्तीय खर्च भने गत वर्ष १ अर्ब ६१ करोड रूपैयाँभन्दा बढी भएकोमा यस वर्ष १ अर्ब ५९ करोड रूपैयाभन्दा बढी भएको छ । कम्पनीको दिर्घकालिन कर्जा रकम गत वर्षभन्दा शून्य दशमलव ८४ प्रतिशत कम ७३ अर्ब १ करोड रूपैयाँभन्दा बढी र अल्पकालिन कर्जा रकम ४७ दशमलव ४३ प्रतिशत कम ३ अर्ब ३ करोड रूपैयाँभन्दा बढी कायम भएको छ । 

कम्पनीको चुक्तापूँजी हाल १५ अर्ब ९९ करोड ९ लाख रूपैयाँ छ । रिटेन्ड अर्निङ भने ६ अर्ब २४ करोड रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । प्रतिशेयर आम्दानी ६ रूपैयाा ३० पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ६० रूपैयाँ ९७ पैसा छ । यस कम्पनी अन्तर्गत निर्माण गरिएको ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट २०७८ साल भदौ २५ गतेदेखि व्यापारिक उत्पादन भैरहेको छ ।